काठमाण्डाै । मुलुकको कुल जनसंख्याको एक तिहाइ मानिस सहकारीमा आवद्ध भएका छन् । अर्थ मन्त्रालय हालै प्रकाशित गरेको वित्तीय क्षेत्र विकास रणनीति अनुसार कुल जनसंख्याको ३७.४० प्रतिशत मानिसहरु सहकारीमा आवद्ध रहेका छन् ।
मन्त्रालय प्रकाशित गरेको रणनीति अनुसार गत असार मसान्तसम्म १ करोड ९ लाख ५ हजार सदस्य सहकारी आवद्ध रहेका छन् । मुलुकभर रहेका ३२ हजार ९६५ सहकारी संस्थामा एक करोड माथि सदस्य आवद्ध रहेका हुन् । सहकारी आवद्ध हुनेमा पुरुष भन्दा महिला बढी रहेका छन् । कुल सदस्य मध्ये ५४.५६ प्रतिशत अर्थात् ५९ लाख ५० हजार ४९२ महिला र ४२.४७ प्रतिशत अर्थात् ४६ लाख ६१ हजार ४५५ पुरुष सहकारीमा सदस्य बनेको तथ्याङ्क छ ।
सहकारी मार्फत् महिलाहरुको नेतृत्व विकास, पुँजीमा पहुँच, उद्यमशीलता विकासका साथै आर्थिक उपार्जनमा समेत ठुलो टेवा पुगेको पाइन्छ । घरायसी कामकाजमा मात्र अल्झने महिलाहरु सहकारीमा सदस्य बनेपछि उनीहरुको जीवनशैलीमा नै परिवर्तन आएको छ । यसले समाजलाई सकरात्मक प्रभाव पारेको सहकारीकर्मीहरुको भनाई छ । विशेषत पिछडिएको समाजका महिलाहरुलाई सहकारीमार्फत् एकीकृत गरी उनीहरुरुमा स–सानो रकम बचत गर्ने बानीको विकास गर्नुका साथै व्यवसाय गर्नका लागि सहज रुपमा ऋण सुविधा समेत उपलब्ध गराएका कारण त्यसको प्रभाव परिवारदेखि समाजमा नै परेको सहकारीकर्मीको भनाई छ । नेपालमा ४ हजारको हाराहारीमा महिलाहरुलाई मात्र लक्षित गरी सहकारी संस्था खुलेको तथ्याङ्कले देखाएको छ ।
मुलुकभर खुलेका सहकारी संस्थामा १ खर्ब ४३ अर्ब ३९ करोड शेयर पुँजीको रुपमा जम्मा भएको छ भने ११ खर्ब २५ अर्ब २८ करोड बचत संकलन गरी ९ खर्ब २३ अर्ब ७४ करोड ऋण लगानी भएको छ । सहकारीमार्फत् ९० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने लाखौंले अप्रत्यक्ष रोजगारी पाएको देखिन्छ । वित्तीय पहुँच र रोजगारी सृजनामा महत्वपूर्ण योगदान गर्दै आएको सहकारी क्षेत्रमा पछिल्लो समय विभिन्न समस्याहरु आएका छन् । विशेषत केही सहकारी संस्थाका सञ्चालकले सदस्यको बचत दुरुपयोग गर्दा यो क्षेत्रप्रति विश्वास घटेको गएको छ ।
वित्तीय क्षेत्र रणनीतिले पनि सहकारी क्षेत्रका समस्या र चुनौतीका बारेमा उल्लेख गरेको पाइन्छ । सहकारीका सिद्धान्त परिपालना नहुनु र व्यवस्थापनमा सीमित स्वार्थ समुहको प्रभावले गर्दा सुशासनमा गम्भीर समस्या रहेको रणनीतिले औंल्याएको छ । त्यसैगरी बचत ऋण सहकारी संस्थाले खराब कर्जाको यथार्थ विवरण नदेखाउने र कर्जा नोक्सानीको लागि पर्याप्त कोष व्यवस्थापन नगर्दा वित्तीय जोखिम बढेर गएको देखिएको छ । कोभिड १९ पछि बैकिङ प्रणालीमा तरलता अभाव र आर्थिक मन्दीका कारण ऋण असुली प्रभावित हुँदा कतिपय सहकारीले समयमा बचतकर्ताको रकम फिर्ता गर्न कठिन भएको रणनीतिमा उल्लेख छ ।
नेपालपत्र संवाददाता