शुक्रबार, कार्तिक ७ गते २०८३

राष्ट्रिय आर्थिक गणना सफल बनाउन सरकारी–निजी सहकार्यमा जोड


माघ २०, २०८२ मंगलबार
राष्ट्रिय आर्थिक गणना सफल बनाउन सरकारी–निजी सहकार्यमा जोड

 

काठमाण्डाै । राष्ट्रिय आर्थिक गणना २०८२ सफल र प्रभावकारी बनाउन सरकारी निकाय र निजी क्षेत्रबीच सशक्त सहकार्य अपरिहार्य रहेकोमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा सोमबार महासंघको सचिवालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले निजी क्षेत्रको सक्रिय सहभागिताबिना गणनाले अपेक्षित परिणाम दिन नसक्ने बताएका हुन्।

अन्तरक्रियामा महासंघका उपाध्यक्ष हेमराज ढकालले राष्ट्रिय आर्थिक गणनाले देशको वास्तविक आर्थिक अवस्था, उद्योग–व्यवसायको स्थिति, लगानी प्रवृत्ति र रोजगारीको यथार्थ चित्र प्रस्तुत गर्ने बताए । सरकारले तय गर्ने नीति निर्माण, योजना तर्जुमा तथा आर्थिक लक्ष्यहरूको मूल्याङ्कनका लागि गणना महत्वपूर्ण आधार हुने उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य सुनिश्चित गर्न महासंघ पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव ढुण्डिराज लामिछानेले औद्योगिक, व्यापारिक तथा सेवा क्षेत्रका विस्तृत तथ्याङ्क संकलन गरी प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने बताए ।  गणनाका क्रममा संकलित सबै विवरण कानुनी रूपमा गोप्य राखिने स्पष्ट पार्दै उद्योगी व्यवसायीलाई ढुक्क भएर आवश्यक जानकारी उपलब्ध गराउन उनले आग्रह गरे।

राष्ट्रिय तथ्याङ्क कार्यालयले जानकारी दिएअनुसार दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ वैशाख २ देखि असार ७ गतेसम्म देशभर सञ्चालन गरिनेछ। यस गणनाबाट कूल गार्हस्थ उत्पादन, राष्ट्रिय लेखा सुदृढीकरण, आधार वर्ष परिमार्जन तथा अनौपचारिक अर्थतन्त्रसम्बन्धी सूचक तयार गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले गणनाको प्रभावकारिता बढाउन सूचना प्रवाह, निजी क्षेत्रको विश्वास र सहज गणना प्रक्रिया आवश्यक रहेको धारणा राखेका थिए।