बुधबार, भाद्र ३ गते २०८३

रेमिट्यान्स आप्रवाहमा वृद्धि, छ महिनामा साढे १० खर्ब भित्रियो


माघ १९, २०८२ सोमबार
रेमिट्यान्स आप्रवाहमा वृद्धि, छ महिनामा साढे १० खर्ब भित्रियो

 यस आर्थिक वर्षको छ महिनामा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले  आज सार्वजनिक गरेको  चालु आ.व.को पुस मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार सो मात्रामा रेमिट्यान्स भित्रिएको हो । राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । 

चालु आवको पुस महिनामा मात्रै एक खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । पुस मसान्तसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर० ११ खर्ब ६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय आठ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ६ हजार ८०७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ९४ हजार ७३३ रहेको छ ।