शनिबार, आश्विन १७ गते २०८३

विद्युतमा लगाइएको भ्याट फिर्ता लिन महासंघको माग


आश्विन १२, २०८३ सोमबार
विद्युतमा लगाइएको भ्याट फिर्ता लिन महासंघको माग

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले थप करले उत्पादन तथा सञ्चालन लागत बढाएको महासंघको भनाइ छ।

महासंघका अनुसार भ्याटका कारण विशेषगरी उच्च ऊर्जा खपत गर्ने, भ्याट छुट कारोबार गर्ने तथा साना तथा मझौला उद्योग, होटल र पर्यटन व्यवसायको लागत बढेको छ। कानुनमा इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कारोबारको प्रकृति र कर समायोजन तथा फिर्ता प्रक्रियाका कारण व्यवसायीले विद्युत्मा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न नसक्ने अवस्था रहेको महासंघले जनाएको छ। यसबाट व्यवसायको सञ्चालन पुँजीमा दबाब पर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा समेत असर पर्ने महासंघको दाबी छ। थप लागतको भार उपभोक्तासम्म पुग्दा मूल्यवृद्धिमा समेत चाप पर्न सक्ने उसको भनाइ छ।

महासंघले विद्युत्मा भ्याटसम्बन्धी व्यवस्था पुनरावलोकन गरी निजी क्षेत्रसँग परामर्श गर्न तथा कर समायोजन र फिर्ता प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन आग्रह गरेको छ। साथै उद्योगलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न र भोल्टेज उतारचढाव तथा अचानक हुने अवरोधबाट उत्पादन र मेसिनरीमा हुने क्षति न्यूनीकरण गर्न पनि सरकारसँग माग गरेको छ।