काठमाडौँ महानगरपालिकाले आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गर्ने भएको छ । महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ का लागि सहकारी ऐन २०७४ बमोजिम सुपरीवेक्षण, निरीक्षण, अनुगमन तथा नियमन कार्य अघि बढाइएको जनाएको हो । सो क्रममा अनुगमन टोली सहकारी संस्थामा स्थलगत रूपमा उपस्थित हुने भएकाले आवश्यक कागजात र विवरण तयार अवस्थामा राख्न निर्देशन दिइएको छ ।
महानगरपालिकाका अनुसार अनुगमनका क्रममा सहकारी दर्ता प्रमाणपत्र, विनियम, साधारण सभा निर्णय, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको विवरण, सदस्य विवरण, सेयर पूँजी, बचत तथा ऋण कारोबारका अभिलेख, ऋण फाइल, लेखापरीक्षण प्रतिवेदन, बैंक खाता विवरण, कर्मचारी विवरण, आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी कागजात लगायतका विवरण माग गरिनेछ । साथै, विभाग वा महानगरपालिकाबाट जारी निर्देशन, परिपत्र तथा कार्यान्वयन अवस्थासमेत प्रस्तुत गर्नुपर्नेछ ।
महानगरपालिकाले अनुगमन टोलीलाई सहजीकरण गर्न, माग गरिएका कागजात तथा सूचना समयमै उपलब्ध गराउन सबै सहकारी संस्थालाई आग्रह गरेको छ । सूचनामा उल्लेख भएअनुसार कानुन बमोजिम आवश्यक कागजात उपलब्ध नगराएमा वा अनुगमनमा असहयोग गरेमा प्रचलित कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिइएको छ । यस कदमले सहकारी क्षेत्रमा पारदर्शिता, अनुशासन र सुशासन प्रवर्द्धन हुने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ ।

नेपालपत्र संवाददाता