बुधबार, भाद्र ३ गते २०८३

इतिहासप्रति कमरेड पुष्पलालकाे दृष्टिकाेण


माघ १८, २०८२ आइतबार
इतिहासप्रति कमरेड पुष्पलालकाे दृष्टिकाेण

acharyamukunda.jpg

     

        कमरेड पुष्पलालले नेपाली भाषामा पहिलो माक्र्सवादी साहित्य नेपालमा “कम्युनिष्ट घोषणा–पत्र” को अनुवाद गरी नेपाली श्रमजीवीको सामु प्रस्तुत गर्नु भयो । २००६ साल वैशाख १० गते नेपाली श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीको आवश्यकता छ, जसले नेपाली शोषित–उत्पीडित, श्रमजीवी वर्गको मुक्तिको नेतृत्व गर्न सकोस् भनेर नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ सङ्गठन समिति बनाउनु भयो र २००६ साल भदौ ३० गते विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्रका साथ स्थापना गर्नुभयो । वहाँ नै त्यो पहिलो व्यक्ति हुनुहुन्थ्यो जसले नेपाली समाजमा रहेका वर्गहरूको विश्लेषण गर्नुभयो । नेपाली समाजको संस्कृति, नेपालमा भएका जन–आन्दोलनहरूको समिक्षा, युवा विद्यार्थी आन्दोलन, नेपालमा किसान आन्दोलन र सशस्त्र किसान आन्दोलनद्वारा किसानलाई जमीनको मालिक बनाउने कार्यक्रमका साथै नेपालमा पूर्ण प्रजातन्त्र स्थापना गर्नका लागि नयाँ जनवादी कार्यक्रम जस्ता महत्वपूर्ण कृतिहरू रचना गरेर नेपाली शोषित–पीडित नागरिकमा प्रस्तुत गर्नुभयो । त्यस्तै शिक्षा हासिल गर्ने तौरतरिकाबारे दस्तावेजहरूको अध्ययन कसरी गर्ने, इतिहासको क्षेत्रमा नेपालमा मातृ सत्तात्मक समाज, नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र यसको भविष्य
(अन्त्य) र नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता आदि महत्वपूर्ण योगदानहरू दिनुभएको छ । यस्ता बहु प्रतिभावान व्यक्तित्व कमरेड पुष्पलालको इतिहासप्रतिको दृष्टिकोण मात्र प्रकाश पार्ने यस लेखको उद्देश्य रहेको छ ।  

      नेपालको इतिहास जो आजसम्म लेखिएर प्रकाशित भएका छन् तिनमा नेपालको इतिहास राजवंशहरूबाट शुरू गरिएको पाइन्छ । यस सम्बन्धमा क. पुष्पलाल भन्नुहुन्छ– “इतिहास पनि आज विज्ञानशास्त्रको कोटिमा सर्वमान्यरूपले दर्ता भइसकेको हुनाले पारलौकिक शक्ति, धार्मिक दृष्टिकोण तथा कुनै एक विशिष्ट व्यक्तिलाई केन्द्रविन्दू गरी इतिहासलाई हेर्नु गलत हुनेछ ।” (नेपालमा मातृसत्तात्मक समाज, पुष्पलाल छनिएका रचना भाग १ पृष्ठ ३११, प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान) हुन पनि नेपालको इतिहास लेखनमा केहीले मञ्जुश्री र केहीले नेमुनि, गोपाल वंशबाट नेपालको इतिहास शुरू गरेका छन् । क. पुष्पलालको विचारमा इतिहास सम्बन्धी यो गलत परिपाटी हो भन्ने मान्यता देखिन आउँछ ।

माथिको उहाँको उदृत भनाइले स्पष्ट छ । वहाँ लेख्नुहुन्छ– “आजसम्मका इतिहासकारहरूलाई भूmटा सावित गर्ने हेतुले साक्षी बक्नको निम्ति नै होला कि अद्यपि नेपालमा यस्ता धेरै रीतिरिवाजहरू धार्मिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा उखानटुक्काका रूपमा जीवित छन्, जुनलाई बाखोफेन, मोर्गन तथा एङ्गेल्सहरूको कृतिलाई ध्यानमा राखी विचार गरेमा नेपालमा मातृसत्तात्मक समाज आदिकालमा भएको प्रमाणित हुन्छ ।” यस सम्बन्धमा क. पुष्पलालले जङ्गली अवस्थामा स–साना समूहको बसोबास, यौन स्वच्छन्दता, बस्ती विकास, जनसंख्याको वृद्धिले यौन स्वछन्दता स्त्रीहरूको निम्ति बोझ, त्यसपछि यौन स्वछन्दतामा रोक जस्ता कुराहरूबारे व्याख्या गर्नु भएको छ । रैथाने बस्तीको विकास हुनुले पशुपालन, खेतीको आविष्कार आदि हुँदै जाँदा स्वामित्वबारे पनि उहाँले व्याख्या गर्नु भएको छ । समाज विकासकै क्रममा एकातर्फ एकनिष्ठ विवाहको चलन, सामाजिक उत्पादनमा महिलाहरूलाई अलग बनाइनु र आर्थिक रूपमा विषमताका कारण मातृसत्तात्मक समाजको स्थानमा पितृसत्तात्मक समाजको स्थापनाका आधारबारे स्पष्ट पार्नु भएको छ ।

      विश्वको इतिहास अध्ययन गर्दा बाखोफेन (स्विट्जरल्याण्ड) र मोर्गन (अमेरिका) ले पितृृसत्तात्मक समाजभन्दा पहिले “मातृसत्तात्मक समाज” थियो भनेर प्रकाशमा ल्याएपछि कार्ल माक्र्स र फेडरिक ऐङ्गेल्सले विश्वको सबै जातिहरू मातृसत्तात्मक समाजबाट गुज्रेर आएका हुन् भने । कार्ल माक्र्स र फेडरिक ऐङ्गेल्सले नै मातृसत्तात्मक समाजको अवस्था आदिम हुन्छ भनी प्रमाणित गरे । नेपालमा बसोबास गर्ने हरेकले देवीहरूलाई कुलदेवी मानेर पूजा गर्ने चलन छ, बज्रयोगिनी, देवी, कुमारी, तलेजु भवानी, अजिमा, बुढीबज्यै, विन्दावासिनी तथा अन्य देवीहरूलाई कुलदेवी भनेर पुज्ने गरिन्छ । कुलपूजा गर्दा पहिले कुलदेवीको पूजा गर्ने चलन अद्यावधि छ । काठमाडौंमा शासन गर्ने राजाहरूले जीवित कुमारीबाट शासन गर्ने अधिकार लिने चलनले सिद्ध गर्दछ, पितृसत्ताभन्दा पहिलो मातृसत्ताको अस्तित्व थियो । यसबाट यो बुझिन्छ कि नेपालको इतिहास पितृसत्तात्मक राजवंशबाट शुरू भएको होइन, त्योभन्दा पहिले मातृसत्तात्मक आदिम समाजबाट शुरू भएको हो । इतिहास पितृसतात्मक राजवंशबाट शुरू भएको मान्नु गलत धारणा हो भन्ने स्वतः स्पष्ट छ ।

      समाज विकासको क्रमसँगै मातृसत्तात्मक समाजको अवसानपछि उदाएको पितृसत्तात्मक समाजकालमा उत्पादनका साधनमा पुरूषहरूको आधिपत्य र वितरणमा पनि उनीहरूको तजविज स्थापना हुन पुग्यो । यसको विरूद्ध संघर्ष हुनु स्वाभाविक नै हुन पुग्यो । संघर्षलाई दबाउने क्रमसँगै राजतन्त्रको उत्पत्ति भएको हुनसक्छ । कतै वर्ग संघर्ष दबाउनु पर्ने अवस्थामा त कतै मातृसत्तात्मक व्यवस्था विरूद्ध पितृसत्तात्मक व्यवस्थामा परिवर्तन हुँदा भएको संघर्षका बखत मातृसत्तात्मक समाजको अन्त्य भई पितृसत्तात्मक समाज शुरू हुने क्रममा दासप्रथा शुरू भयो । यसरी सामाजिक विकासक्रममा दासहरू र दास मालिकबीच वर्गसङ्घर्ष शुरू हुन्छ । यो वर्गसङ्घर्षका कारण राज्यसत्ताको उत्पत्ति हुनु र सामाजिक सम्झौता र कालान्तरमा दैवि अधिकारवादी सिद्धान्तका आधारमा राजतन्त्र स्थापित भएको हुनुपर्दछ । अर्को कुरा नेपालका केही जातिहरूमा आफ्नो जातिको प्रमुख छान्ने चलन छ । यसरी प्रमुख छानिने हुँदा सत्ता सञ्चालन गर्नेका सन्तानले उक्त कार्य जान्ने हुने भएका हुँदा उनकै सन्तान वंशानुगत रूपमा चुनिने कारण पनि कालान्तरमा वंशानुगत राजतन्त्रमा विकसित भएको पनि हुनसक्छ । सत्ता सञ्चालक चुनिने चलन थियो भन्ने कुरा हरेक इतिहासकारले लिगलिग कोटमा राजा चुनिने अवस्थामा द्रव्य शाहले आक्रमण गरी गोर्खाको सिंहासन हत्याएको र गोर्खामा शाहवंशको राज्य कायम गरेको स्वीकारेका छन् ।

      खास नेपाल (काठमाडौं उपत्यका, २०१५ साल माघ २० गतेबाट काठमाडौं भन्न र लेख्न थालियो) मा तीन स–साना राज्यहरू थिए, पूर्वमा किरात सरदारहरू सेन राजवंशका अधिन थिए । पश्चिम नेपालमा चौबिसे र बाइसे समूह अन्तर्गतका स–साना राज्यहरू थिए । यी स–साना राज्यहरूबीच आ–आफ्नो प्रभुत्वको निम्ति संघर्ष भई नै रहन्थ्यो । पूर्वको किरात समूह छाडेर उपत्यका, चौबिसे र बाइसे राज्यहरूमा यो संघर्षले तिब्रता पाएको थियो । यसले गर्दा ती राज्यहरूमा शान्ति सुव्यवस्था, सुरक्षाको प्रत्याभूति मासिएको थियो । यसकारण ती राज्यहरूमा इलाकीय सामन्ती राजतन्त्र विरूद्ध आमनागरिकमा चेत आएको थियो । यसै अवस्थाको सेरोफेरोमा गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भई केन्द्रिय सामन्ती राज्यसत्ता स्थापना हुनपुग्यो । यहाँ क. पुष्पलालको भनाई उदृत गर्नु उपयुक्त होला वहाँ लेख्नुहुन्छ– “पृथ्वीनारायण शाहलाई जसै–जसै एकपछि अर्को राज्य जिती साँध मास्न सफलता मिल्दै गयो उसै–उसै उनलाई उक्त वर्गहरूको सहयोग र समर्थन प्राप्त हुँदै गयो । एकहत्तर वर्षको लामो संघर्ष मुख्य रूपले दुई विरोधी शक्ति– (१) इलाकीय सामन्ती व्यवस्थामा आफ्नो स्वार्थको रक्षा देख्ने इलाकीय राज्य तथा तिनका समर्थक र (२) इलाकीय साँध माँसी केन्द्रिय सामन्ती राज्यसत्ता कायम हुँदा लाभान्वित हुने विभिन्न वर्ग तथा जनसमुदायहरूको बीचको संघर्ष थियो । यस्ता संघर्षहरू अन्य देशको इतिहासमा पनि पाइन्छन्, जस्तो बेलायतको इतिहासमा ‘वार अफ दि रोजेज’ । त्यस युद्धमा जसरी हेनरीलाई त्यस समयका सबै प्रगतिशील वर्गले समर्थन गरे त्यसरी नै नेपालमा पृथ्वीनारायण शाहलाई नेपालका प्रगतिशील तत्वहरूले समर्थन गरे । यसको अतिरिक्त अर्को एउटा अन्तर्राष्ट्रिय कारण पनि छ जसले नेपालको एकिकरणमा महत्वपूर्ण भूमिका खेलेको थियो ।

त्यसताका अंग्रेज साम्राज्यवादले नेपाल चीन बीचको व्यापारमा आँखा गाडेको थियो । भारतवर्षमा आफ्नो कब्जा जमाउनुको साथै अंग्रेज साम्राज्यवाद नेपाललाई अधीन गर्न चाहन्थ्यो । नेपाली उद्योगपति र वन्द व्यापारीहरूको स्वार्थमा यसरी ठूलो आँच उत्पन्न भएपछि एक केन्द्रिय राज्यसत्ताको निर्माण उनीहरूको निम्ति अति आवश्यक भएको थियो, जसबाट नेपालको बन्द व्यापारको स्वार्थ रक्षा हुन सकोस् । नेपालमा यसरी एकहत्तर वर्षको लामो संघर्षको दौरानमा इलाकीय समान्ती राज्यको साँध मासिई केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना भएपछि विभिन्न सामन्ती सरदारहरूले आफ्नो निहित स्वार्थको निम्ति एक इलाकाका शोषित जनतालाई अर्को इलाकाका शोषित जनताका विरूद्ध उक्साई युद्ध गर्ने स्थिति समाप्त भयो । यसले गर्दा नेपालको राष्ट्रिय बजार बढ्न थाल्यो ।” (पुष्पलालः नेपाली जनआन्दोलन एक समिक्षा पृष्ठ ४–५) यसरी यस पृष्ठभूमिमा नेपाल एकिकरण भई केन्द्रीय सामन्ती राज्यसत्ता र शाहवंशको सत्ता स्थापना भएको हो ।

      विश्वको राजनीतिक इतिहासमा माथिल्लो वर्गबाट राजनीति तल्लो वर्गमा प्रसारित भएको इतिहास छ । नेपालको इतिहास पनि त्यस्तै नै छ । केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापना पश्चात नेपालका सामन्ती घराना र केन्द्रीय सामन्ती राज्यसत्ताबीच संघर्ष शुरू भयो, यसको परिणाम नेपालमा सामन्ती राणातन्त्रको उदय हुन पुग्यो । शाह नाम मात्रका राजा रहन पुगे भने राज्यसत्ता राणाहरूद्वारा सञ्चालन हुन थाल्यो । राणाहरूले आपूmलाई श्री ३ महाराजको पदवी धारण गरे । क. पुष्पलाल लेख्नुहुन्छ– “यहाँसम्म कि यदि राजा राष्ट्र (!) को हित विपरित भएमा त्यसको उल्लंघन गर्ने अधिकार समेत कास्की र लमजुङका महाराजा र नेपालका प्रधानमन्त्रीका हातमा आयो ।” (नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त) पुष्पलाल छानिएका रचना भाग १ पृष्ठ ३३९, प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान) माथि नै भनियो कि माथिल्लो वर्गबाट तल्लो वर्गमा राजनीति प्रसार हुन्छ भन्ने कुरा, अतः सामन्ती राज्यसत्ताको यस चरणमा पूँजीपति वर्ग, मध्यम वर्ग, किसान तथा सर्वहारा वर्ग यस राज्यसत्ता विरूद्ध थिए । यहाँसम्म कि सामन्तवर्गको एकतप्का जो नाम मात्रका राजा थिए र उनको दरबार र दरबारीयाहरू समेत यस राज्यसत्ता विरूद्ध थिए । नेपालमा वर्गीय रूपले चेतनशील हुँदै वर्गहरू विकसित भएका थिए । संघर्ष चरम उत्सर्गमा पुग्यो राणाशाही ढल्यो । तर राजा आफ्नो वर्ग स्वार्थ अनुुकुल चाहने र पूँजीवादी वर्ग राजालाई वैधानिक राजतन्त्रमा परिणत गर्नेबीच संघर्ष चर्कियो । यस अवधि बीचमा सर्वहारा वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीको “त्रिपक्षीय दिल्ली सम्झौता धोका हो” को नाराले उत्तोरत्तर सवल भइरहेको थियो । यस कारणले पनि नेपालको पूँजीपति वर्ग राजासँग वैधानिक राजतन्त्रमा सम्झौता गर्न चाहन्थ्यो । तर सामन्ती राजतन्त्र आफू राज्य सत्ता चलाउन चाहन्थ्यो ।

पूँजीपति वर्गको नेता रहेका प्रधानमन्त्रीलाई सैन्य हस्तक्षेप मार्फत कब्जा गरी राजतन्त्रले जेलको बास बसायो । यसरी नेपालमा फेरि सामन्ती अधिनायकत्वमा निरंकुशतन्त्र फेरि स्थापना हुन पुग्यो । नेपालमा बढ्दो चेत, वर्गहरूको स्वार्थ रक्षाको चेतनाको स्तर र सामन्ती निरंकुशतन्त्रबाट सामन्त बाहेक अन्य वर्गको वर्ग स्वार्थ पूर्ण हुने कुनै सम्भावना नहुँदाको अवस्थामा राजतन्त्र चिरस्थायी हुने कुरा होइन । क. पुष्पलालले उल्लेख गर्नु भएको छ– “जनताबाट अलग्गिएको कुनै पनि राज कहिल्यै पनि टिक्न सक्दैन र ‘श्री ५ को सरकारको पुलिस राज’ पनि टिक्ने छैन भन्ने स्वतः सिद्ध हुन्छ” (नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त्य) पुष्पलाल छानिएका रचना भाग १, पृष्ठ ३४३, प्रकाशक– पुष्पलाल स्मृति प्रतिष्ठान) । हाम्रो देश दुई ठूलाठूला भूभाग र जनसंख्याबीचको सानो र थोरै जनसंख्या भएको देश हो र छिमेकीमा गणतन्त्रात्मक प्रणाली छ अतः नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो । यसको अन्त अवश्यभावी थियो र भयो पनि ।

      माथि भनिसकिएको छ कि नेपालको इतिहास राजवंशबाट शुरू गरिएको छ । यसमा अर्को पाटो पनि छ । नेपाल दुई विशाल भूभाग र जनसंख्या भएका राष्ट्रहरूको बीचमा छ  त्यसैले कसै–कसैले चीनिया वा भारतीय सभ्यताको दृष्टिबाट हेर्ने गरेको पाइन्छ । यसको अर्थ हुन्छ नेपालको आफ्नो कुनै सभ्यता छैन । यो दृष्टिकोण नेपालको निम्ति घातक दृष्किोण हो । यस सम्बन्धमा पुष्पलाल लेख्नुहुन्छ– “नेपालको इतिहासलाई चीन या भारतीय सभ्यताको दृष्टिले मात्र हेर्ने तरिका गलत हो । विश्वको कुनै पनि राष्ट्र एक अर्कोबाट प्रभावित नभई रहन सकेन । यो धु्रव सत्य छ । त्यस्तै नेपाल पनि चीन तथा भारतबाट प्रभावित नभई रहन सकेन, यो कुरा साँचो हो । तर त्यसको मतलब यो कदापि होइन कि हाम्रा पूर्वजहरूले आफ्नो सभ्यता र संस्कृतिको विकास गरेनन् । अतः हामीले आफ्नो देशको समाजको ऐतिहासिक सर्वेक्षण गर्दा केवल दस्तावेजको मात्र आधार नगरी मुख्य रूपले मानव समाजले कुन कुन ऐतिहासिक अवस्थालाई पार गरेर आएको छ भन्ने कुरामा दृष्टि दिई त्यसै अनुसार नेपाली समाजको ऐतिहासिक सर्वेक्षण गर्नु आवश्यक छ । मानव समाजको सर्वेक्षण गर्दै माक्र्स र ऐङ्गेल्सले भनेका छन् कि सभ्य तथा असभ्य जातिहरू सबैले मातृसत्तात्मक समाजबाट पार गर्दै दाश, सामन्ती र पूँजीवादी समाजमा पुगेका हुन । यही विकासको नियम हाम्रो नेपाली समाजको निम्ति पनि लागू हुन्छ । अतः हाम्रो नेपाली समाजको शुरूआत पनि मातृसत्तात्मक समाजबाट भएको कुरा निःसन्देह छ ।” (नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता, पुष्पलाल छनिएका रचना भाग १, पृृष्ठ ३४७, प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान) । यस उदृत अंशबाट स्पष्ट हुन्छ– राजवंश वा चीन  वा भारतीय सभ्यताको दृष्टिबाट नेपालको इतिहासलाई हेर्नु भनेको ऐतिहासिक भौतिकवादको आधारमा नेपालको सामाजिक परिवर्तनलाई नकार्नु हो । पुष्पलाल अगाडि लेख्नुहुन्छ– “हामी नेपाली जातिको निर्माण हाम्रा पूर्वजहरूले जो विभिन्न कविला, विभिन्न भाषाभाषी, धर्मकर्म र सम्प्रदायका थियौ, एक थलोमा बसी सामाजिक जीवनको निम्ति सामूहिक रूपले उत्पादनको प्रक्रिया गर्दा भएको हो ।

अतः आजको राष्ट्रिय जागरणको युगमा हाम्रो राष्ट्रको निर्माण कसरी भएर आएको हो भन्ने कुराप्रति वैज्ञानिक समझ हुनु अत्यावश्यक छ ।” (नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता, पुष्पलाल छानिएका रचना भाग १ पृष्ठ ३५१, प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान) । नेपालको इतिहासलाई चाहे राजवंशबाट शुरू भएको भनिएको होस् वा चीन वा भारतीय सभ्यताबाट प्रभावित भएको भन्नेहरू, यी दुवै खाले इतिहास लेखकहरू विरूद्ध आलोचना हो भने सुझाव पनि हो । सही आधारमा नेपालको इतिहासलाई वैज्ञानिक आधार लिनु उपयुक्त हुन्छ । पुष्पलाल भन्नुहुन्छ– “अतः इतिहास न एक विवरण हो र राजवंशको क्रमागत लेख, न त समाजमा घटेका घटनाहरूको क्रमागत संकलन नै हो । इतिहास मुख्यतः सप्रमाण सामाजिक सङ्गठन हो, जसमा कुनै निश्चित नियम अनुसार संघटन र विघटनको कृया चालु नै भइरहेको हुन्छ । यो सामाजिक कृया एक अन्तहीन रचनात्मक कृया हो, त्यही संघटन र विघटनको कृयाले गर्दा समाजमा हमेशा एक शत्तिको नाश र अर्को शक्तिको विकास भइरहेको हुन्छ ।

कुनै पनि समाजको उत्पादनको व्यवस्था परिवर्तन आउनाको साथै समाजको अन्य सम्पूर्ण ढाँचामा त्यसको छाप पर्न थाल्दछ र तिनमा पनि परिवर्तनको लक्षण देखा पर्दछ । उत्पादनको व्यवस्थाबाट उत्पन्न हुने संघटन र विघटनको कृया नै समाज विकासको नियम हो । यस कृयाको जानकारी भएको खण्डमा सचेतन रूपबाट समाजमा परिवर्तन ल्याउन सकिने छ । त्यसै भएको हुनाले इतिहासले समाजको परिवर्तनमा एक मुख्य हतियारको रूपमा काम गर्दछ । त्यसै भएको हुनाले शोषक वर्गका प्रतिनिधिहरूले इतिहासलाई तोडमोड गरी गलत किसिमले पेश गरेका छन् ।” (नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता, पुष्पलाल छानिएका रचना भाग १ पृष्ठ ३५७–५८, प्रकाशक पुष्पलाल स्मृति प्रतिष्ठान) ।

      हो आजसम्म लेखिएर प्रकाशित इतिहासका पोथाहरू इतिहासलाई वैज्ञानिक दृष्टिबाट नभई शोषक वर्गका प्रतिनिधिहरूले इतिहासलाई राजवंश, उसका वंशावलीको रूपमा र चीन वा भारतीय सभ्यताको छायाँको रूपमा लेख्नाले नेपालको वास्तविक इतिहास, सभ्यता र संस्कृतिमा कुठाराघात भएको छ । क. पुष्पलालको इतिहासलाई हेर्ने, अध्ययन गर्ने र सत्य–तथ्यको आधारमा द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी वैज्ञानिक दृष्टिकोण सहजरूपमा बुझ्न सकिन्छ ।

क. पुष्पलालले लेख्नुभएका “नेपाली जनआन्दोलनको एक समीक्षा”, “नेपालमा मातृसत्तात्मक समाज”, “नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र यसको भविष्य (अन्त्य)” र “नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकता” यी कृतिको माध्यमबाट राजवंशबाट शुरू भएको इतिहास लेख्ने पात्र हुन वा चीन वा भारतीय सभ्यताको प्रतिछाँयाको रूपमा पेश गर्नेहरू हुन को जग नै भत्काई वैज्ञानिक दृष्टिकोण स्थापित गर्नुभएको छ । क. पुष्पलालले आजसम्मको इतिहासमा भएको वेइमानी पर्दाफास यिनै लेखमार्फत वैज्ञानिक आधारमा गर्नुभएको छ । इतिहासकारहरू पुष्पलालको यी दृष्टिकोणसँग सहमत भएको खण्डमा वास्तविक इतिहासको प्रकाश हुने कुरामा द्विविधा छैन ।

  • सम्बन्धित विषय:

  • # मुकुन्द आचार्य