नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनका लागि रु. ३० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज (माघ १८ गते) बोलकबोल प्रक्रियामार्फत ५२ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि बोलकबोल मध्यान्ह ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम’ मार्फत गर्न सकिनेछ भने साेही दिन उपकरणको निष्काशन पनि गरिनेछ ।
बोलकबोलबाट संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत ११ गते गरिनेछ । निक्षेप संकलन उपकरणमा न्यूनतम रु. १० करोड र अधिकतम कुल आह्वान रकमसम्म, रु. ५ करोडले निःशेष भाग जाने गरी बोल गर्न सकिने व्यवस्था गरिएको छ । साथै, उक्त उपकरणलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि त्यसको व्यवस्थापन तथा ब्याजदर स्थायित्व कायम गर्न राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ ।
नेपालपत्र संवाददाता