बुधबार, भाद्र ३ गते २०८३

बीमा समितिद्धारा दुर्घटना बीमाको निर्देशिका -२०७८ जारी

कार्तिक ३०, २०७८ मंगलबार
बीमा समितिद्धारा दुर्घटना बीमाको निर्देशिका -२०७८ जारी

बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको निर्देशिका २०७८ जारी गरेको छ। समितिले स्तरीकृत बीमालेख तयार गरी त्यसका लागि आवश्यक पर्ने बीमादर निर्धारण गर्न निर्देशिका जारी गरेको हो।

निर्देशिका अनुसार बीमा कम्पनीहरुले दुई प्रकारका दुर्घटना बीमालेख जारी गर्नु पर्नेछ। जसमा व्यक्तिगत दुर्घटना र सामूहिक दुर्घटना बीमालेख छ। दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था गरिएको छ।

समितिका अनुसार एक वर्षका लागि जारी गरिने बीमालेखको एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत तोकिएको छ। एक महिनादेखि तीन महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ४० प्रतिशत, तीन महिनादेखि ६ महिनासम्मका लागि वार्षिक बीमाशुल्कको ६० प्रतिशत र ६ महिनादेखि एक वर्षसम्मका लागि शतप्रतिशत बीमादर तोकिएको समितिले जनाएको छ ।

व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ बीमादर तोकिएको छ। सामूहिक दुर्घटना बीमातर्फ दुई जनादेखि २५ जनासम्मको समूहका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम दुई रुपैयाँ रहेको छ। २६ जनादेखि एक सय जनासम्मका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपियाँ ७५ पैसा र एक सयभन्दा बढीका लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम एक रुपैयाँ ५० पैसा बीमादर तोकिएको पाइएको छ।

यसैगरी बीमाशुल्क गणना गर्दा प्रति बीमालेख एक सय रुपैयाँभन्दा कम बीमाशुल्क लिन नपाइने र बीमालेख जारी गर्दा बीमाशुल्क दर तथा बीमाशुल्क रकम प्रष्ट ढंगले खुलाई गणना गर्नुपर्ने प्रावधान रहेको समितिले जनाएको छ। बीमकले यस निर्देशिका बमोजिम व्यक्ति वा व्यक्तिहरुको समूहका लागि मात्र बीमालेख जारी गर्न सक्नेछन। 

बीमा प्रस्ताव फाराम, तालिका, सम्पुष्टी, बीमालेख तथा सोसँग संलग्न अनुसूचीलाई समग्र बीमा करारको रुपमा लिनुपर्ने व्यवस्था निर्देशिकामा जारी गरेको छ। बीमालेखमा उल्लेख गरिएको बीमा अवधिभित्र दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमांकको अतिरिक्त दुर्घटना बीमावापत बीमांक रकम दुई लाख रुपैयाँ बीमकले बीमितलाई भुक्तानी गर्नुपर्ने समितिले उलेख्य गरेको छ।