बुधबार, भाद्र ३ गते २०८३

सहकारी अभियानको सुदृढिकरणका लागि महासंघ सीजेएनसँग सहकार्य गर्न तयार छः पोखरेल


माघ १५, २०८२ बिहीबार
सहकारी अभियानको सुदृढिकरणका लागि महासंघ सीजेएनसँग सहकार्य गर्न तयार छः पोखरेल

राष्ट्रिय सहकारी महासंघले नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १५ औं साधारण सभाबाट  निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा  शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । महासंघको कार्यलयमा आज आयोजित शुभकामना तथा बधाई आदान–प्रदान कार्यक्रममा बोल्दै कार्य बाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी अभियान र सीजेएनबीचबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका छन् । 

सो अवसरमा उनले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै महासंघ सीजेएनसँग सहकार्य गर्न सधैं तयार रहेको बताए । सहकारी अभियान केही संकटमा छ भन्ने आभाष भइरहेको भन्दै उनले गलत सोच भएका केहि व्यक्तिहरुले सहकारीको बचत दुरुपयोग गर्दा यो अवस्था आएको उल्लेख गरे । त्यसका साथै कोभिड १९ पछि आएको विश्वव्यापी मन्दी, केहि देशहरुबीचको युद्ध र मुलुकको अर्थतन्त्रमा समेत प्रभाव पर्दा त्यसको असर सहकारी क्षेत्रमा पर्दा यो क्षेत्र बढी चापमा परेको उनको भनाई छ । पछिल्लो समय यो क्षेत्रको समस्या क्रमशः न्युन हुँदै गएको भन्दै कार्यवाहक अध्यक्ष पोखरेलले सहकारीको साखलाई वृद्धि गर्न सञ्चार जगतको साथ आवश्यक रहेको बताए । सहकारीका यथार्थपरक समाचार सम्प्रेषणका साथै सफल अभ्यासहरुलाई प्रचारप्रसार गर्न सके यसले समाज, राज्य र नीजि क्षेत्रलाई सुसूचित गर्न मद्दत पुग्ने उनको विश्वास छ । 

सहकारीका विकृति विसङ्गतिको उजागरका साथै यो अभियानलाई समाजमा स्थापित गर्ने काममा पनि सीजेएनको भूमिका महत्वपूर्ण हुने उनको धारणा छ । पत्रकारको काम भनेको वास्तविकतालाई उजागर गर्नु भएको भन्दै संकटको अवस्थामा रहेको यो क्षेत्रको संकटमोचनका लागि समेत सघाउन उनको आग्रह छ । सहकारीको तथ्याङ्क यकिन नभएको र वास्तविक तथ्याङ्क ल्याउन राज्य र अभियानबीच सहकार्य गरेर जान आवश्यक रहेको उनले औंल्याए । सीजेएन र महासंघ एउटा रथको दुई पांग्राको रुपमा अगाडि बढ्ने उनको प्रतिवद्धता छ । पत्रकारिता र अभियानको बाटो फरक हुँदा गन्तव्यमा नपुगिने भएकाले दुवै पक्ष एउटै लयमा हिँड्नुको विकल्प नभएको उनको बुझाई छ । त्यसले मात्र सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बा बनाउन टेवा पुग्ने उनको विश्वास छ । 

सीजेएन र महासंघबिच कसरी सहकार्य गर्ने भन्ने सन्दर्भमा छलफल गरेर अगाडि बढ्न आफु तयार रहेको पोखरेलले जनाए । सीजेएनलाई सँगसँगै लिएर जान तयार रहेको र महासंघले सीजेएनसँग सहकार्यमा विविध कार्यक्रम समेत तयार गर्ने उनको भनाई छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय गर्ने निकाय महासंघ भएकाले अध्ययन अवलोकन भ्रमणका लागि सहजिकरण गर्ने समेत उनले बताए । सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष मिनराज कँडेलले शुभकामना मन्तव्य राख्दै यो क्षेत्रलाई उचाईमा पु¥याउन कलम चलाउन पत्रकारहरुलाई आव्हान गरे । सबै क्षेत्रमा सकरात्मक र नकारात्मक दुबै पक्ष हुने भन्दै उनले कमजोरी भएको क्षेत्रलाई इंगित गरी सुधारका लागि कलम चलाउन सुझाए । समुदाय र सदस्य हितको लागि काम गरेका सहकारी मुलुकभर रहेको भन्दै तिनको प्रवर्धनमा समेत सघाउन उनले आग्रह गरे । सहकारी अभियानलाई व्यवस्थित र मर्यादित  रुपमा अगाडि बढाउन सञ्चार जगत्को ठुलो भूमिका हुने भएकाले त्यो भूमिकाबाट बिचलित नहुन उनले सुझाए । सहकारी संघसंस्थाका साथै असल अभ्यास गरेका संस्थाहरुसँग सहकार्य गरेर जान सके सहकारी पत्रिकारिता दीगो हुने धारणा उनको छ । 

सो अवसरमा महासंघका निमित्त सीइओ गोपीकृष्ण भण्डारीले    सहकारी क्षेत्रमा सबैकुरा नराम्रो मात्र नरहेको र राम्रा कुरालाई समाजमा पु¥याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा महासंघका सञ्चालक टेकप्रसाद चौंलागाईं, परितोष पौडेल, सुमन नेपाल र माधव जोशीलगायतको सहभागिता रहेको थियो । 

त्यस अवसरमा सीजेएनका अध्यक्ष अर्जुन खतिवडाले सीजेएनमा आवद्ध पत्रकारहरुको क्षमता विकासका साथै हकहितका लागि काम गर्दै आएको बताए । उनले महासंघसँगको सहकार्यमा सहकारी क्षेत्रका समसामयिक विषयमा छलफल, अन्तर्कियाका साथै सीजेएन सदस्यहरुको वृत्तिविकासका लागि सघाउन आग्रह गरे । कार्यक्रममा सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईं, पूर्व अध्यक्ष खिलानाथ दाहाल, साथै नवनिर्वाचित कार्यसमितिका सचिव माधव कुमार  खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रवीण राउत र सदस्य ईश्वर ढुङ्गेलको सहभागिता रहेको थियो ।