ललितपुर । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत सरोकारवाला निकायहरूको सहयोगमा आयोजित “दोश्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन २०८२” ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
माघ १३ र १४ गते ललितपुरमा सम्पन्न सम्मेलनमा देशभरका युवा सहकारीकर्मी, प्रविधि विज्ञ, नीति निर्माता, सरकारी, निजी, गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। “प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व” भन्ने मूल नारासहित सम्पन्न सम्मेलनमा सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने विषयमा छलफल गरिएको थियो।
सम्मेलनका विभिन्न सत्रहरूमा सहकारी क्षेत्रमा देखिएका चुनौती, अवसर, प्रविधिको उपयोग, युवाको भूमिका, नीति तथा कानुनी सुधार, नवप्रवर्तन र उद्यमशीलता विकासका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल भएको थियो। छलफल पश्चात् सहकारी अभियानको दीर्घकालीन रूपान्तरणका लागि साझा संकल्पसहित ६ बुँदे निष्कर्ष सार्वजनिक गरिएको हो।
सम्मेलनबाट जारी ६ बुँदे घोषणा यस प्रकार रहेका छन् :
१. युवा नेतृत्व र प्रविधिको समन्वय
सहकारी क्षेत्रको रूपान्तरणका लागि युवा नेतृत्व र प्रविधिको समन्वय तथा प्रयोग अनिवार्य आवश्यकता भएको ठहर गर्दै युवाहरूलाई सहकारी संघ–संस्थाको नीति निर्माण र निर्णय तहमा पुर्याउन संस्थागत नीतिमा सुधार गरी प्रभावकारी रूपमा लागू गर्ने।
२. डिजिटल र प्लेटफर्म–आधारित सेवा विस्तार
सहकारीलाई पारदर्शी, दिगो र सदस्य–मैत्री बनाउन डिजिटल भुक्तानी प्रणाली, डेटा व्यवस्थापन, फिनटेक, एग्रिटेक लगायत आधुनिक प्रविधिहरूको पूर्ण अवलम्बन गर्दै प्लेटफर्म–आधारित सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र नीतिगत सुधारमा जोड दिने।
३. युवामैत्री नीति र नियमनको सरलीकरण
युवामैत्री नीति, प्रविधि प्रयोगमैत्री कानुन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माणका लागि सरकार, नियामक निकाय र सहकारी अभियानबीच प्रभावकारी समन्वय कायम गर्दै नियमन प्रक्रियालाई सरल र व्यवहारिक बनाउने।
४. प्रविधि र उद्यमशीलतामा क्षमता विकास
युवाहरूलाई प्रविधि र उद्यमशीलतामा दक्ष बनाउन सरकारी, निजी तथा गैरसरकारी संघ–संस्थासँग सहकार्य गर्दै देशव्यापी रूपमा तालिम, मेन्टरशिप, अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र विस्तार गर्ने। साथै केन्द्रीयस्तरमा अन्तर्राष्ट्रियस्तरको तथा प्रदेशस्तरमा राष्ट्रियस्तरको प्रविधियुक्त तालिम केन्द्र स्थापना गर्न सरकारसँग माग गर्ने।
५. युवा स्वरोजगार र स्टार्टअप प्रवर्द्धन
सहकारीमार्फत देशभर युवा स्वरोजगार सिर्जना गर्न र स्टार्टअप व्यवसायमा युवाको आकर्षण बढाउन सहकारी संघ–संस्थाहरूले वित्तीय लगानी, प्राविधिक शिक्षा तथा व्यावसायिक ‘सपोर्ट सिस्टम’ प्रदान गर्ने ठोस संयन्त्र र नीति निर्माण गर्ने।
६. उद्यमी प्रोत्साहन र साझा बजार विकास
उदाहरणीय कार्य गर्ने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्नुका साथै उत्पादनको बजारीकरणका लागि सहकारीको सञ्जालमार्फत एकीकृत ‘ब्रान्डिङ’ प्रणाली विकास गर्ने र साझा बजार केन्द्र स्थापना गर्ने।
सम्मेलनले सहकारी क्षेत्रमा युवाको नेतृत्व र प्रविधिको प्रयोगलाई संस्थागत रूपमा अघि बढाउने स्पष्ट दिशानिर्देश दिएको आयोजक राष्ट्रिय सहकारी महासंघले जनाएको छ। सम्मेलनबाट जारी घोषणाले सहकारी अभियानलाई समयसापेक्ष, प्रतिस्पर्धी र दिगो बनाउने विश्वास लिइएको छ।
नेपालपत्र संवाददाता