आइतबार, आश्विन १८ गते २०८३

जागिरे मानसिकताबाट बाहिर निस्की उद्यमशीलतामा लाग्नु पर्नेमा जोड


माघ १३, २०८२ मंगलबार
जागिरे मानसिकताबाट बाहिर निस्की  उद्यमशीलतामा लाग्नु पर्नेमा जोड

 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले प्रविधिमैत्री उद्यममा युवाको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।  राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दोस्रो युवा सम्मेलनको मुख्य वक्ताको रुपमा बोल्दै उनले आजको प्रतिस्पर्धी युगमा सफल हुन प्रविधिको ज्ञान र सीप अनिवार्य रहेको उल्लेख गरे ।  युवालाई जागिरे मानसिकताबाट बाहिर निस्केर उद्यमशीलतामा केन्द्रित हुन  उनको आग्रह छ ।

। सम्मेलनको पहिलो दिन ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा प्यानल छलफल सम्पन्न भएको छ । छलफलको मोडरेसन युएनडीपीका पूर्व आवासीय संयोजक डा. विश्व पराजुलीले गरेका थिए भने  प्यानलिस्टका रूपमा राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागाईं, फिनटेक एलायन्सका उपाध्यक्ष देवेन्द्र खड्का, नेफ्स्कूनका सहायक प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिना र एग्री नेपालकी सिइओ सुनिता नेमाफुकी सहभागी थिए । प्यानलिस्टहरूले युवालाई उद्यममा आकर्षित गर्न राज्यले अनुकूल वातावरण निर्माण गर्नुपर्ने र युवा सहभागिता बढे मात्र वास्तविक आर्थिक सशक्तिकरण सम्भव हुनेमा जोड दिए ।

त्यसैगरी, विभिन्न सफल युवा उद्यमी तथा सहकारीका सफलताका कथाहरू पनि प्रस्तुत गरिएका थिए । उक्त सत्रको मोडरेसन साना किसान विकास लघुवित्त वित्तीय संस्थाका डीसीओ झलेन्द्र भट्टराईले गरेका थिए । छलफलमा चेतना कृषि तथा पशुपन्छी फार्म धादिङका युद्धप्रसाद न्यौपाने, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.का मनिष कोइराला, मेची बहुउद्देश्यीय सहकारी संस्थाका सिइओ खोम बगाले, केन्द्रीय चिया सहकारी संघ लि.का चन्द्रबहादुर लोक्तान, उद्यमी घरका दीपक कार्की, कठार पर्यटन सहकारीकी माया चौधरी, साना किसान कृषि सहकारी कपिलवस्तुका काशीराम भट्टराई तथा साहारा साकोस झापाका मातृका सुवेदी सहभागी थिए । बुधबारसम्म सञ्चालन हुने सम्मेलनमा सातै प्रदेशका युवा सहकारीकर्मी, युवा उद्यमी, नेपाल सरकारका प्रतिनिधि तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।