बुधबार, भाद्र ३ गते २०८३

दुई दिने युवा सम्मेलन सुरु: सहकारीमा युवा, प्रविधि र उद्यमशीलताको खोजी


माघ १३, २०८२ मंगलबार
दुई दिने युवा सम्मेलन सुरु: सहकारीमा युवा, प्रविधि र उद्यमशीलताको खोजी

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरको हेरिटेज गार्डेनमा दोस्रो युवा तथा प्रविधि सम्मेलन २०८२ सुरु भएको छ। ‘प्रविधि मैत्री उद्यममा युवाको नेतृत्व’ भन्ने थिमका साथ दुई दिने युवा सम्मेलन सुरु भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल र राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालले संयुक्त रुपमा युवा सम्मेलनको उद्घाटन गरेका थिए । 

उद्घाटन कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलको बताए । उनले सहकारी मार्फत् हजारौंले प्रत्यक्ष तथा लाखौंले अप्रत्यक्ष रोजगारी पाएको भन्दै यो क्षेत्रलाई थप व्यवस्थित गरेर जान आवश्यक रहेको औंल्याए । कुल जनसंख्याको ३३ प्रतिशत जनसंख्या सहकारीमा जोडिएको र वित्तीय पहुँच अभिवृद्धि गरी रोजगारी सृजनामा समेतमा समेत सहकारीको योगदान रहेको उनको भनाई छ । महिला सहभागिता र सशक्तिकरणमा सहकारीको भूमिका बलियो रहेको भन्दै सचिव भुजेलले कुल सदस्य मध्ये ५० प्रतिशत महिला सहभागी हुनु सुन्दर पक्ष रहेको औंल्याए । हिजोको महँगो ब्याज र साहु महाजनकहाँ ऋणको लागि बन्धकी राख्नु पर्ने अवस्थाको अन्त्य सहकारीले गरेको भएपनि पछिल्लो समय सहकारी क्षेत्रमा आएको समस्याले राज्यलाई समेत दवाव दिएको जनाए । उनले भने ‘ सहकारी सचिव भएर आएको दुई महिना भयो, त्यस यता पीडितसँग छलफल गर्ने, उनीहरुको कुरा सुन्ने भन्दा बाहेकका केही काम गर्न पाएको छैन । पीडितहरुले समस्याग्रत व्यवस्थापन समितिले काम नगरेको गुनासो लिएर मन्त्रालय आउनुहुन्छ । उहाँहरुको कुरा सुन्नै पर्यो, मन्त्रालयमा रहँदा  सबै सहकारी समस्यामा रहेछन् जस्तो लाग्थ्यो तर वास्तविकता त्यो रहेनछ ।’ 

youth 2.jpg

सचिव भुजेलले सहकारीमा समस्या देखिए पनि अभियन्ताको भने मनोबल नघटेको देखिएको बताए । समस्याग्रस्त घोषणा गरिएका सहकारीको समस्या समाधान भइनसकेको अवस्थामा अरु संस्थाहरु पनि समस्याग्रस्त घोषणाको लागि मन्त्रालयमा सिफारिस भएर आएको छ, उनले थपे, समस्याग्रस्त घोषणा गर्नु भन्दा पनि समस्याबाट कसरी पार लगाउने भन्ने कुरा महत्वपूर्ण हो । स्वःनियमन भन्दै सरकारी हस्तक्षेपलाई विरोध गर्ने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको उनको भनाई छ । नियामक निकायले गर्ने नियमन तथा अनुगमन माथि प्रश्न गर्दै सचिव भुजेलले नियामकले दिएका निर्देशन पालना भयो कि भएन नहेर्ने र सहकारीले पनि पालना नगर्ने प्रवृत्ति मुख्य समस्या रहेको उल्लेख गरे । राम्रा संस्थालाई प्रवर्धन गर्दै सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गर्न  आवश्यक रहेको उनले जनाए। सहकारीलाई उद्यमशीलता र प्रविधिमा जोडी युवालाई यस क्षेत्रमा आकर्षण गर्न सके मात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने उनको भनाई छ । 

कार्यत्रममा बोल्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले प्राधिकरणको क्षेत्राधिकार भित्रका सहकारी संस्थालाई अनिवार्य दर्ताको लागि आव्हान गरे । बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीले प्राधिकरणबाट इजाजत लिएर मात्र कारोबार गर्न भन्दै उनले समयमा इजाजत नलिए लेखा परीक्षणदेखि कर चुक्तासम्ममा समस्या पर्ने बताए । त्यसैगरी उनले कस्तो सहकारी प्रणाली मुलुकको लागि आवश्यक हो भन्ने विषयमा गहन छलफल आवश्यक रहेको भन्दै सोही अनुसार ऐन नियमका साथै कार्यक्रम बनाएर जानु पर्नेमा जोड दिए । 

वित्तीय कारोबार गर्ने सहकारीलाई सुदृढ बनाई सुरक्षित सहकारी अभियान निर्माण गर्नु आजको आवश्यकता रहेको उनको भनाई छ । सहकारीका सिद्धान्त र त्यसका मुल्य मान्यताभित्र रही मुलुकको समृद्धिका लागि यो क्षेत्रले काम गर्नुपर्नेमा उनको जोड छ । सहकारी क्षेत्र स्पष्ट मार्गचित्र सहित अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ । 

कार्यक्रमका सभापति एवं राष्ट्रिय सहकारी महासंघका कार्य वाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले युवाहरुलाई लक्षित गरी यो सम्मेलन आयोजना गरिएको बताए । सहकारी अभियान विश्वव्यापी रुपमा नै लोकप्रिय अभियानको रुपमा अगाडि बढेको भन्दै उनले सहकारीलाई प्राथमिकता दिएर अगाडि बढेकाले कतिपय मुलुकले समृद्धि हासिल गरेको बताए । अमेरिका, चिन , भारत, जापान जस्ता मुलुकहरुले पनि सहकारी अभियानलाई प्राथमिकता दिएको कारण अर्थतन्त्रमा कायपलट गर्न सकेको उनको भनाई छ । बचत ऋणका साथै कृषि, पशुपालन, उत्पादन, बजारीकरण र सदस्यहरुको आर्थिक, सामाजिक तथा सांंस्कृतिक एवं पर्यावरणको क्षेत्रमा सहकारीले उल्लेख्य काम गरेको उनले बताए। 

youth 3.jpg

मुुलुकमा रहेका ३२ हजार सहकारीले १ करोड भन्दा  बढी जनतालाई आवद्ध गराई १ खर्ब ४३ अर्ब शेयर पुँजी र करिव ११ खर्ब २५ अर्बको बचत परिचालन गर्दै आएको उनको भनाई छ । मुलुकको ५० भन्दा बढी जिल्लाका सहकारीमा कुनै समस्या नरहेको भन्दै अध्यक्ष पोखरेलले सहकारी आर्थिक सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार भएको बताए । उनले युवा, महिला र समुदायमा पछि परेकाहरुलाई समेत सहकारीले समेटेर काम गर्न सक्नु उपलब्धी भएको उल्लेख गरे । पछिल्लो समय शहर केन्द्रीत सहकारीमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्न गरेर जानु पर्ने बताए । सहकारीबाट बचत फिर्ता नपाएका साना बचतकर्तालाई सरकारले विशेष कोषको व्यवस्था गरी तत्काल बचत फिर्ता गर्न उनले माग गरे ।  भोलिसम्म हुने सम्मेलनमा देशभरबाट २०० भन्दा बढी युवाहरुको सहभागिता रहेको छ ।