काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)का अध्यक्ष चन्द्र प्रसाद ढकालले साकोस अभियानका कमी कमजोरी सुधार गर्नका लागि आवश्यक परेको खण्डमा सीजेएनको कार्यसमिति र नेफ्स्कूनको संचालक समिति बीच छलफल गर्न सकिने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को नवनिर्वाचित कार्य समितिलाई आज कार्यालयमा बधाई तथा शुभकामना प्रदान गर्दै उनले आगामी दिनमा पनि सीजेएनसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
साकोस अभियानमा देखिएका कमी कमजोरी सुधार गरेर स्वच्छ र पारदर्शी बनाउन सीजेएनले महत्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै उनले आवश्यक परे सीजेएनलाई संचालक समितिको बैठकमा समेत छलफलका लागि समय उपलब्ध गराउन तयार रहेको बताएका हुन् । सीजेएन र नेफ्स्कूनबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने भनाई राख्दै उनले भने, ‘तपाईंहरुले साकोस अभियानका कमी कमजोरी औंल्याईदिनुभयो भने आन्तरिकरुपमा छलफल गरेर सुधार गर्न तयार छौं ।’ नेफ्स्कूनले सीजेएनको नवनिर्वाचित कार्यसमितिलाई हौसला प्रदान गर्नका लागि खादा माला सहित स्वागत गरेको प्रष्टिकरण दिँदै अध्यक्ष ढकालले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरे । ‘सीजेएन सहकारी अभियान प्रवद्र्धन गर्ने संस्था हो भनेर हामीले सिंगो साकोस अभियानको तर्फबाट तपाईंहरुलाई नेफ्स्कूनमा स्वागत गरेका हौं,’ उनले भने, ‘साकोस अभियानको शीर्षस्थ संस्थाकोरुपमा नेफ्स्कूनले खादा माला सहित स्वागत गरेर ‘सलिडेरिटी’ प्रकट गरेको हो । अन्यथा लिन हुँदैन ।’
उनले भने, ‘संस्थागतरुपमा प्रस्ताव आउँदा हामी नेफ्स्कूनको क्षमताले भ्याएसम्म सहकार्य गर्न तयार छौं ।’ यसैगरी अध्यक्ष ढकालले सहकारी अभियानको विषयमा उत्पन्न भएको नकारात्मक धारणालाई न्यूनिकरण गर्ने कार्यमा सीजेएनबाट सहयोगको अपेक्षा राखेको बताए । ‘तपाईंहरुले मिडियामा नकारात्मक विषयलाई प्राथमिकता नदिई सत्य तथ्य कुरालाई उजागर गर्नुपर्छ,’ उनले भने, ‘मेरो बारेमा केही नकारात्मक कुरा थाहा पाउनुभयो भने समाचार प्रकाशन गर्नु अगाडि एक पटक मलाई सोध्नुस । यदी मैले काम गर्दै जाँदा चिप्लिएछु भन्ने जवाफ दिएँ, कमजोरी स्वीकार गरेँ भने तपाईंहरुमा पनि यो मान्छे सुध्रिन्छ भन्ने विश्वास जाग्न सक्छ ।’ यसैगरी नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै नेफ्स्कूनका संचालक खेम सुवेदीले अहिले तरल अवस्थामा रहेको सहकारी क्षेत्रलाई मिडियाले प्रकाशन प्रसारण गर्ने समाचारले ठूलो प्रभाव पार्नसक्ने राख्ने धारणा राखे । सहकारी अभियान सहकारीकर्मीहरु र यस बिटमा कलम चलाउने सञ्चारकर्मीहरुको साझा घर भएको भनाई राखे ।
‘सहकारी अभियानको मजबुतीका लागि निष्पक्ष, तटस्थ र यथार्थपरक समाचार लेख्न तपाईंहरुको कलम निरन्तर चलिरहोस,’ उनले भने, ‘तपाईंहरुले सकारात्मक समाचार, भावन र दृष्टिकोण प्रवाह गरिदिँदा सहकारीको अहिलेको तरल अवस्थालाई स्थिर बनाउन सहयोग पुग्छ ।’ यस्तै नेफ्स्कूनकी संचालक मन्दरा मिश्रले राज्यले जारी गरेका सहकारी सम्बन्धी ऐन कानुनहरु एक आपसमा बाझिनुका साथै तिनमा केही विरोधाभाष समेत रहेकाले यस विषयमा पनि सञ्चारकर्मीहरुको कलम चल्नुपर्ने आवश्यकता औंल्याईन । यस्तै सोे अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष अर्जुन खतिवडाले नयाँ कार्यसमिति सीजेएनमा आवद्ध सदस्यहरुको क्षमता वृद्धि विकास गर्दै जान स्टेक होल्डरहरुसँग सहकार्य गरेर जान तयार रहेको बताए । उनले ससहकारी अभियानलाई बलियो बनाउन र यस क्षेत्रलाई सुधार गर्न संस्थागत रुपमा सहकार्य गरी अघि बढ्ने बताए ।
सीजेएनले सदस्य सञ्चारकर्मीहरुलाई सहकारी बिटको विषयमा तालिम तथा प्रशिक्षण प्रदान गरेर क्षमतावन बनाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा नेफ्स्कूनसंग थप सहकार्य गरेर जाने बताए । नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले संचालन गरेको कार्यक्रममा संघका संचालकद्वय नवराज अर्याल र सिता ढकाल पौडेलको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा सीजेएनका पूर्व अध्यक्षद्वय डिल्ली सापकोटा र खिला दाहालका साथै नवनिर्वाचित कार्य समितिका सचिव माधव खड्का, सहसचिव हिरा बस्नेत, कोषाध्यक्ष प्रविण राउत र सदस्य इश्वर ढुङ्गेलको उपस्थिति रहेको थियो ।
नेपालपत्र संवाददाता