काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सम्मेलनका दस्ताबेजहरुको बिभिन्न चरणको छलफल जारी रहेको छ । प्रदेश र जिल्ला स्तरका छलफल चलिरहेका सन्दर्भमा यही कार्तिक २७ गते बागमती प्रदेश स्तरीय छलफलको पहिलो चरण सम्पन्न भयो । बैठकमा पार्टीको क्रान्तिको कार्यक्रममा नयाँ थप गरिएका बिषयहरु, पार्टीकाे बिधान संशोधन र पार्टीको राजनीतिक प्रतिबेदन सम्वन्धि बिषयमा छलफल केन्द्रित रहेको थियो ।

यस सन्दर्भमा पार्टीका बर्तमान राजनीतिको राष्ट्रिय अन्तर्राष्ट्रि बद्लिदो स्थितिका बारेमा पार्टीका राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक क. ऋषि कट्टेलले बिस्तृतरुपमा प्रकाश पार्दै बर्तमान सामन्ती, दलाल नोकरशाही पूँजीवादको बिकल्पमा नयाँ जनबाद स्थापना गर्ने बर्तमान चरणमा संयुक्त संघर्षको निमित्त बातारण तयार पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका बिभिन्न समस्याका बारेमा प्रष्ट्याएका थिए । अन्तराष्ट्रिय सन्दर्भमा अन्य कुराका अतिरिक्त आईपीएस(इण्डो प्यासिफिक स्ट्राटेजी), क्वाड, अफगानिस्तानको मामिला तथा बिश्वमा शक्तिशाली रुपमा उदाउदो चीनको मूमिका, भारतीय प्रभूत्वबादको नेपाल प्रतिका मिचाहा र दोहनकारी प्रबृत्तिका बारेमा बिस्तृत जानकारी क. ऋषिले गराएका थिए । त्यसरी नै राष्ट्रिय समस्याका बारेमा प्रकाश पार्दै देशका संसबादी राजनीतिक दलहरुको बिकृति र बिसंगतिपूर्ण भूमिका, सरकारका तीन अंगका शर्मलाग्दा गतिबिधिहरु तथा नेपाली जनताका क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी र लोकतान्त्रिक शक्तिहरुले खेल्नपर्ने भूमिका र पूरा गर्नुपर्ने कार्यभार बारे पनि बिस्तृत प्रकाश पारेका थिए ।

त्यसैगरी छलफल कार्यक्रमा पार्टीका रणनीति कार्यक्रमा नयाँ जनबादका बारेमा थप र परिमार्जन तथा बिधान संशोधनका सन्दर्भमा पार्टीको राष्ट्रिय सम्मेलन तयारी समितिका सह–संयोजक लोकनारायण सुबेदी छलफलमा बिस्तृत प्रकाश पार्दै नयाँ जनबादी क्रान्तिको मूख्य सम्बाहक शक्ति किसान आन्दोनलमा पार्टीको ध्यान केन्द्रित गरिनु पर्ने आवश्यकता औंल्याउदै किसान नब्यूँझिए देश बिउँझिदैन, किसानले उत्पादन नगरे जनता बाच्दैनन, क्रान्तिकारी बैधानिक भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको एकमुष्ठ राष्ट्रिय कार्यक्रम एकीकृतरुपमा अघि नबढाए राष्ट्रिय पूँजीको निर्माण हुँदैन, रोजगारी पैदा हुँदैन, परनिर्भरता हट्दैन र देशको स्वाधीनता, स्वतन्त्रता र आत्मनिर्भरताको प्रत्याभूति पनि हुँदैन भन्ने कुरा औंल्याएका थिए । यो नयाँ जनबादी क्रान्तिको केन्द्रिय महत्वको बिषयमा पार्टीले अब सर्बोपरी ध्यान केन्द्रित गर्दै पार्टीका सबै अंगप्रत्यंग परिचालन हुनु पर्ने कुरामा उनले जोड दिएका थिए । यस अतिरिक्त उनले अति नाफाकेन्द्रित पूँजीवादी उत्पादनका कारण बिश्वको बिग्रदो पर्याबरण सन्तुलन, जलवायु परिबर्तन र ब्यापकरुपमा बढ्दो प्रदुषणका कारणले आउने दुष्परिणाम, बाढी पहिरो, रोगब्याधी आदि बिषायहरू पनि कार्यक्रममा समावेश गरिनु पर्ने समेत औंल्याएका थिए । यसका साथै बिधान संशोधनका प्राबधानहरुका बारेमा पनि औंल्याउदै पार्टीलाई बलियो र शक्तिशाली बनाउन तलै देखि पार्टीलाई सुदृढ र प्रभावकारी बनाउने किसिमले केन्द्र, प्रदेश र जिल्ल्लाको भूमिका सशक्त बनाउन संरचनागत परिबर्तन गर्नका लागि बिधानमा आवश्यक परिमार्जन तथा संशोधन गर्ने प्रस्ताब अघि सारिएको पनि उल्लेख गरेका थिए ।

कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै पार्टीका सचिवालय सदस्य तथा बागमति प्रदेशका अध्यक्ष डा. महेन्द्र जोशीले राष्ट्रिय पूँजी निर्माण र बिकासको सम्भावना, पार्टीका नेता कार्यकता पार्टीको क्रान्तिकारी बिचार, नीति र सिद्धान्तले सुसज्जित र ब्यबहार काैशल हुन सकेमा मात्र पार्टीका गतिबिधिहरु सही र अनुशासित किसिमले अघि बढ्न सक्छन् भन्ने कुरा प्रष्ट पारेका थिए ।
केन्द्रिय सदस्य तथा बागमति प्रदेशका सचिव अर्जुनकुमार कार्कीले सञ्चालन गरेको कार्यक्रमा केन्द्रिय समितिका सदस्यद्वय नरेन्द्रबहादुर तण्डुकार र बद्रीनाथ अधिकारीले केही जिज्ञाषाकासाथ पार्टीलाई सशक्त, प्रभावकारी र कार्यमूलक बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।

छलफल कार्यक्रमकै समयमा नेकपा(माओबादी)का पूर्ब लडाकु गोर्खा निबासी टेकबहादुर थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेको घोषणा समेत गरिएको थियो । छलफल कार्यक्रमा सचिवालयका सदस्यहरु, केन्द्रिय समितिका सदस्यहरु र जन बर्गीय संगठनका सदस्यहरुको उपस्थिति र सहभागित थियो ।

यसै गरी आउदो मंसीर ३ र ४ गते एक नम्बर प्रदेशको यस्तै दस्ताबेजमाथिको छलफल कार्यक्रम धरानमा राखिएको बताइएको छ । अरु प्रदेशमा पनि यस्ता कार्यक्रमहरु जिल्ला स्तरमा चलाउँदै प्रदेश स्तरमा पनि सम्पन्न गर्ने पार्टीको कार्य योजना रहेको पनि पार्टी केन्द्रिय सचिवालयले जनाएकाे छ ।