लोकनरायण सुबेदी
देश र जनताको अग्रगामी उत्तरोत्तर प्रगति र समृद्धिकोनिमित्त सचेत र समर्पित भएर आफ्नो घाँटीमा हासी हाँसी फाँसी लगाउन तयार हुने र छातीमा तातो गोली थापेर निर्भिक र निडरताकासाथ प्राणोत्सर्ग गर्ने महान शहीदहरुको सम्झनाले मात्रै पनि देश र देशबासीको शीर गर्बले उच्च हुन्छ । नेपाली समाजलाई एकतन्त्री जहाँनिया निरंकुशताकोअध्यारोबाट जनतन्त्रको उज्यालो दिशामा अग्रसर गराउन उच्च आदर्श र सत्य निष्ठाकासाथ जीवन अर्पण गर्ने ती बीर तथा अबिस्मरणीय बिभूतिहरुप्रति नतमस्तक भएर जति नमन गरे पनि वास्तवमा त्यो कमै हुन्छ । किनकि शहीदहरुको त्यो त्याग र बलिदान अत्यन्तै महान र अमूल्य छ र रहिरहन्छ । त्यस गौरबमय शहादतको अमूल्य र उच्च ऊर्जालाई सामान्य र हलुकारुपमा कसैले पनि लिनु हुँदैन र लिन पनि सक्तैन । त्यसैले पनि निरंकूश शासकहरुले समेत ती शहीदहरुकोगुणगान गाउने स्वाङ गर्दछन् ।
तर आजको हाम्रो दुःखद वास्तविकता के छ भने हामीले ती बीर अमरशहीदरुलाई पनि बजार र ब्यापारको बस्तु जस्तो गरेर देश र जनताकोनिमित्त मन बचन कर्मले समर्पित हुने ती अग्रज योद्धाहरुप्रतिको श्रद्धा र सम्मानलाई समेत औपचरिकतामा सीमित गर्ने गरिरहेका छौ र शहीद दिवसलाई पनि संकीर्ण स्वार्थ साधनको माध्यम बनाउने गर्दछौ । त्यसलेगर्दा नै वस्तुतः हाम्रो देश निकै ठूल्ठूला दूरगामी राजनीतिक परिवर्तन पछि पनिआर्थिक–सामाजिक रुपान्तरणको सही दिशामा पटक्कै अघि बढ्न नसकेर कमजोर, फितलो र पिछडिएको अबस्थाबाट गुज्रिनु परिरहेको तीतो यथार्थआज हाम्रा अगाडि ठिङ्ग उभिएको छ ।
एकतन्त्री जहानियाँ राणा शासन बिरोधी नेपाली जनताको आन्दोलन प्रस्फूटन गराउन ठूलो ऊर्जा उत्साह र अग्र गति दिने ९७ सालको शहीद पर्व नेपालको गौरबमय इतिहासमा स्वर्णाक्षरले अंकित छ । जुन शहीद पर्वमा चार महानशहीदहरु – शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालाल(लाई फाँसीदिने र गोली ठोक्ने दमनकारी काम गरेर मध्ययुगीन सामन्ती निरंकूश जहानियाँ राणा शासनको आयु लम्ब्याउने असफल प्रयास राणा शासकहरुले गरेका थिए । तर ती अमर शहीदहरुको उच्च बलिदानी उत्सर्गले राणा शासनबिरोधी आन्दोलनलाई काठमाण्डौ उपत्यकाबाट बाहिर नेपालभरी मात्रै होइन प्रवासमा समेत पनि फैलाइदियो । स्वदेश तथा बिदेशबाट समेत अझ संगठित र सचेत रुपमा राणाशाही बिरोधी नेपाली जनताको आन्दोलन ब्यापक हुदै र फैलिदै जान थाल्यो । यस प्रकार जन आन्दोलन फैलिदै जाने क्रममा नेपाली काग्रेसको बैरगनिया सम्मेलनले राणाशाहीका बिरुद्ध सशस्त्र संघर्ष गर्ने महत्वपूर्ण, सामयिक र ऐतिहासिक निर्णय लिएको थियो । त्यसले गर्दा जन आन्दोलनकारी शक्तिहरुमा आन्दोलनलाई निर्णायक र उच्च दिशा दिन थप योगदान पुर्यायो । नेपाल कम्युनिष्ट पार्टी पनि आफ्नो जन्म काल १५ सेप्टेम्बर १९४९ देखिनै राणाशाही बिरोधी जन आन्दोलमा होमिएको थियो । नेपाली काग्रेसको बैरगनिया सम्मेलनको निर्णयबाट अझ उत्साहित भएर राणाशाही बिरोधी आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी सक्रिय रह्यो । शसस्त्र संर्घष बढ्दै र ब्यापक जनताको समर्थन बटुल्दै जान थालेपछि राणा साशकहरुले कुनै किसिमले पनि सत्तामा टिकिरहन सक्ने स्थिति रहेन । २००७ साल फागुन ७ गते देशमा प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । त्यतिबेला नै दिल्लीको शरणबाट स्वेदश फर्केका राजा त्रिभुवनले ‘अब देशको शासनभार जनता आफैले बनाएको बिधान अनुसार चल्छ’ भन्ने घोषणा गर्नु परेको थियो । त्यो अरु कुनै कुरा नभएर संविधान सभाकै कुरा थियो । जुन मोडमा आज बल्ल हाम्रो देश आइपुगेको छ । तर यति लामो संघर्ष पछि संविधान सभालाई नेपाली जनता र राष्ट्रको हितमा सार्थकरुपले सदुपयोग गरेर जन आन्दोलनकारी शक्तिहरुको आम सहमतिमा बर्गीय शोषण र सामाजिक उत्पीडनमा परेका जन समुदायकाे भबिष्यलाई सुरक्षित र सन्तुष्ट तुल्याउने तथा उनीहरुले सहर्ष स्वामित्व ग्रहण गर्ने किसिमले संविधानसभाबाट संविधान दिन नसकिरहेको आजको स्थिति हो । त्यसैले घोषित संविधान लागु नहुँदै यसलाई संशोधन गर्न तिनै संविधानको घोषणा गर्ने दलहरु अहिले लागिरहेका देखिदै आएका मात्र छैन त्यसकाे दुरूपयाेग गरेर जथाभावी रजाइँ गरिरहेका छन् । यस्ताे बिकृतिले शहीदहरूकाे शहादतकाे ठाडै अपमान गर्दछ ।
निश्चयन नै ०७ सालमा राणाशाहीको अन्त्य र प्रजातान्त्रिक परिवर्तको पछाडि ९७ सालमा फासीमा चढेका र छातीमा गोली थापेका महान शहीदहरुको अपूर्व प्रेरणा र महत्वपूर्ण योगदान रहेको छ । त्यतिबेला आजीवन जेलनेल खाने र चारपाटा मुडिएर जिउँदो शहीदको मान्यता पाएका अग्रज ब्यक्तित्वहरुको त्याग र बलिदानलाई पनि कसैले कदापि अबमूल्यन गर्न सक्तैन । तर शहीदहरुले देखाएको जनता र देशप्रतिको असीम त्याग र समर्पणको बाटोबाट बिमुख भएर प्राप्त सीमित प्रजातन्त्रलाई संस्थागत र सुदृढ तुल्याउने आर्थिक सामाजिक कदम चाल्नतिर भन्दा दरबारिया षडयन्त्रको शिकार भएर आपसमै लड्ने र जनता तथा देशलाई बिर्सने गलत दलीय आचरण र ब्यवहारले गर्दा त्यतिबेला संविधान सभाद्वारा संविधान बन्ने बातावरण नै कायम रहन सकेन । राजाले दिएकै संविधान अनुसार ०१५सालमा संसदको निर्वाचन हुँदा पनि सात सालको क्रान्तिको नेतृत्व गर्ने नेपाली काग्रेसले नै दुइ तिहाई संसदीय सीट हासिल गरेपछि राजतन्त्रात्मक सामन्ती शक्तिले त्यसलाई कसरी अपदस्थ गर्न सकिन्छ भन्ने दाउपेच खेलिरहेको थियो भने जनआन्दोनलकारी शक्तिहरु पनि आपसमा मिलेर जाने बातावरण बिल्कुलै बन्न पनि सकेको थिएन । जसले गर्दा ०७ सालमा आएको सीमित प्रजातन्त्रलाई पनि राजाले फौजी बलमा ०१७ सालमा सहजै समाप्त पारिदिए र सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्था थोपर्ने काम गरे । हजारौ कार्यकर्ता र सयौ नेतारुले जेलनेल बेहोर्नु पर्यो । कयौंले प्रवासको पट्टयारलाग्दो पीडा सहनु पय्रो, कयौले भूमिगत भएर काम गर्नु पर्ने स्थिति बन्यो भने पञ्चायती कालमा हजारौंको हत्या भयो । यस्तो दमनकारी आतंक मच्चाएर थोपरिएको राजाको नेतृत्वको सामन्ती शासन ब्यबस्थाको नाम भने ‘पञ्चायती प्रजातन्त्र’ राख्न राजा बाध्य थिए । किनकि महान शहीदहरुको बलिदानले ल्याएको प्रजातन्त्रको नामलाई नै नामेट पार्न सकिने स्थिति थिएन । त्यसैले निरंकुश शासकले पनि प्रजातन्त्रको दुहाई दिनु पर्ने बाध्यता र आवश्यकता थियो ।
यसरी शहीदहरुले देश र जनताको निमित्त देखाएको र औल्याएको त्याग र बलिदानको बाटोबाट बिमुख भएर आपसी कलहमा लाग्दा निरंकूशताले घर गरे पनि त्यसलाई सही किसिमले बुझन नसक्दा या बुझपचाउँदा निरंकूश सामन्ती ब्यवस्था झण्डै तीन दशकसम्म कायम रह्यो । अन्ततः अनेक हण्डर ठक्कर पछि बल्ल जनताका शक्तिहरु एक जुट भएर संयुक्त जन आन्दोलनमा उत्रेपछि झण्डै ३० बर्षसम्म चलेको राजाले नेतृत्व गरेको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था ४९ दिनको आन्दोलनबाटै समाप्त भएर गयो । अनि त्यसपछि २०४६ पछि स्थापना गरिएको बहुदलीय ब्यवस्थाले पनि जनता र देशका समस्या समाधान गर्ने उच्च राजनीतिक आदर्श र साहस देखाउन छाडेर पार्टी र समूहगत सत्ता लुछाचुँडीमै सीमित हुन थाल्यो । त्यसै अबधिमा राजाको पञ्चायती ब्यवस्थाले ‘पकेट मोनी अर्थतन्त्र’कै रुपमा भए पनि राज्य स्तरमा चलाएका उद्योगधन्धाहरुलाई आम नेपाली जनताको हितमा मोड्नुका साटो साम्राज्यवादी उदारबादको नीति अंगीकार गरी हचुवा किसिमले गुन्द्रुकको मोलमा निजीकरण गरियो । आज तिनको नामो निशान दिउसै बत्ती बालेर खोजी गरे पनि पाइदैन । राजनीतिक क्षेत्रमा अनेक आर्थिक र समाजिक बिकृति र बिसंगतिले घर गर्याे । यस्तो स्थितिमा फेरि पनि सामन्ती सत्ताले त्यो बहुदलीय ब्यवस्थालाई समाप्त पारेर राजाकै निरंकूशता लाद्ने कुचेष्टा गर्यो । त्यसले गर्दा पुनः जनताका शक्तिहरु एकजुट नभइ नहुने स्थिति पुनः सिर्जना भयो । फलतः सशस्त्र सघर्ष गरिरहेका र शान्तिपूर्ण जन अन्दोलन गरिरहेका शक्तिहरु एक जुट हुनुपर्ने स्थिति सिर्जना भयो । त्यसैको परिणति थियो २०६२।६३ को बिशाल संयुक्त जनआन्दोलन जसले २४० बर्षदेखिको राजतन्त्रलाई नै समाप्त पारिदियो । यो वास्तवमा ०७ सालदेखिकै अधूरो कार्यलाई पूरा गर्ने उत्कर्षको जन आन्दोलन थियो । त्यो ९७ सालकै अमर शहीदहरुको अधूरो सपनालाई साकार पार्दै अघि बढ्नेमहान कार्य थियो र हो ।

तर सत्तामा पटक पटक पुगेका दलहरुमा भने सातसाल र छयालिस सालपछिकै गलत प्रबृत्तिको निरन्तर पुनराबृत्ति भइरहेकोले आज शहीदहरुका घाेर अपहेलना भइरहेको छ । नेपाली जनताको अपमान भइरहेको छ । जनता र राष्ट्रको सार्वभौमिकता र अखण्डता तथा राष्ट्रिय स्वाधीनतालाई अपूर्वरुपमा कमजोर तुल्याउने काम भइरहेको छ । यो गलत प्रबृत्तिलाई सही किसिमले चिर्न तलैदेखि शोषित पीडित जनताका शक्तिहरु देश र जनताका साझा समस्या हल गर्ने साझा राष्ट्रिय दृष्टिकोण र तदनुरुपको सहमतिकासाथ अघि बढ्न तत्पर र तयार नभएसम्म स्थितिमा कुनै सुधार फेरि पनि आउने देखिदैन । वस्तुतः अहिलेको अन्यौल, अनिश्चितता र अराजकताले यही कुराको संकेत गरिरहेको छ । महान शहीदहरुबाट सही प्रेरणा नलिने र जन आन्दोलको मर्म र भावनालाई उपेक्षा गर्ने गतिबिधि नरोकिएसम्म देशले कदापि सही बाटो लिन सक्तैन । त्यसैले हरेक बर्ष माघ १० गतेदेखि आरम्भ हुने शहीद सप्ताहको आरम्भका दिन आफ्नो पुनर्समीक्षा गरेर देश र जनताप्रति साँच्चै समर्पित हुने प्रण, संकल्प अठोट गर्नु अत्यावश्यक छ । आफै नसुध्रिकन र आफैभित्र सही परिवर्तन नल्याइकन समाजलाई बदल्ने कुरा केवल कोरा गफ तथा देश र जनताका लागि धोका मात्रै ठहरिदै आएकाे कटु यथार्थलाई यो महान दिनमा आत्मसात र मनन गर्न सकियो र सिकियो भने मात्र नेपाललाई समुन्नत, सुन्दर र सुनिश्चित भबिष्यतर्फ डोय्राउने सही बाटो फेरि पनि पक्रिन सकिन्छ र शहीदका सपना यसरी पूरा हुँदै जान्छन् । त्यही नै वास्तवमा शहीदप्रतिको सार्थक सम्मान र श्रद्धाञ्जली पनि हुनेछ । सन्तानब्बे सालका प्रातस्मरणीय अमर शहीदहरुप्रति शततः नमन !