शनिबार, आश्विन १७ गते २०८३

मंसीर ३ देखि ५ गते राष्ट्रिय हस्तकला व्यापार मेला हुने

कार्तिक २९, २०७८ सोमबार
मंसीर ३ देखि ५ गते राष्ट्रिय हस्तकला व्यापार मेला हुने

 

नेपाल हस्तकला महासंघको आयोजनामा १८औं हस्तकला मेला आयोजना हुने भएको छ । आगामी मंसीर ३ गतेदेखि ५ गतेसम्म हयात् रिजेन्सी होटलमा हस्तकला मेला तथा हस्तकला प्रतियोगिता आयोजना गरिने संघले प्रेस सम्मेलनमार्फत जानकारी दिएको हो ।

मेलामा १२० वटा भन्दा बढि ब्यापारिक स्टल रहने छन् । नेपाली हस्तकलालाई अनलाइनको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गराउने उद्देश्यले इकला नेपाल अनलाईन पोर्टलको उद्घाटन मेलाबाट हुनेछ । मेलामा ठूलो परिमाणमा हस्तकला निर्यात गर्ने उद्यमी र तथा उत्कृष्ट कलाकारलाई पुरस्कृत गरने भएको छ भने सीप हस्तान्तरण तथा पुस्तान्तरण सम्बन्धी विषेश कार्यक्रम रहेको जनाइएको छ । 


मेलामा जडाउ कला र प्राकृतिक रेशाजन्य कलाको जीवन्त प्रदर्शनी समेत आयोजना गरिने भएको छ भने प्रतियोगितामा सहभागि हुने कलाकारलाई पुरस्कारको समेत व्यवस्था रहेको छ । 

मेलाको अन्य आकर्षणमा राष्ट्रिय अभिलेखालयको सहभागिता रहेको छ । अभिलेखालयमा रहेका दुर्लभ अभिलेखहरुको प्रदर्शनी समेत मेलामा गरिने भएको छ । 

कार्यक्रममा उपस्थित सहभागिलाई स्वागत गर्दै महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले कोरोना भाइरसका कारण विश्व बजारमा परेको असरका वावजुद हस्तकला निर्यातमा ठूलो कमी नआएको भन्दै यस्ता कार्यक्रमले आन्तरिक र बाह्य दुवै क्षेत्रमा हस्तकला प्रवद्र्धनलाई सहयोग पुग्ने अपेक्षा गरे । 

कोभिड १९ को जोखिम कायमै रहेकोले सतर्कता अपनाउँदै गर्न लागिएको मेलामा करिब १ लाख आगन्तुक आउने लक्ष्य लिएको मेलाका संयोजक रवीन्द्र शाक्यले जानकारी दिए । 

कार्यक्रमम हस्तकला महासंघका साथै राष्ट्रिय अभिलेखालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग परिसंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।