एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमित तथा बीमा अभिकर्ताहरूलाई लक्षित गरी लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने सम्बन्धमा रणनीतिक साझेदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गर्नुभयो। यस सहकार्यअन्तर्गत सूर्यज्योति लाइफका बीमित तथा अभिकर्ताहरूले कुनै वार्षिक शुल्क नतिरी क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यस सुविधाले आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न सहज बनाउनुका साथै डिजिटल भुक्तानी सेवाको उपयोगलाई प्रोत्साहन गर्नेछ। ग्राहकलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने लक्ष्यअनुसार गरिएको यो सहकार्यले बीमित र अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रसँग जोड्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
नेपालपत्र संवाददाता