बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्र लिमिटेड मा सदस्यता प्राप्त गर्नु अनिवार्य गरिएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण को परिपत्र तथा सहकारी ऐन, २०७४ (२०८१ मा संशोधित) अनुसार सहकारी संस्थाहरूले कर्जा सूचना केन्द्रमा आबद्ध भई सदस्यता लिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हो।
कर्जा सूचना केन्द्र लिमिटेडले सो व्यवस्था कार्यान्वयन गर्न सदस्यता संस्था दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत सहकारी संस्थाहरूले अनलाइन माध्यमबाटै सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
सदस्यता लिन आवश्यक कागजात
अनलाइन आवेदन पेश गर्दा सहकारी संस्थाले निम्न कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछः
-
कर्जा सूचना केन्द्र लिमिटेडलाई सम्बोधन गरिएको आवेदन पत्र
-
सञ्चालक समितिको निर्णय वा स्वीकृति पत्र
-
राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट प्राप्त इजाजत–पत्र
-
सहकारी संस्थाकाे दर्ता प्रमाणपत्र
-
स्थायी लेखा नम्बर (प्यान) काे दर्ता प्रमाणपत्र
सदस्यता शुल्क
कर्जा सूचना केन्द्रमा आबद्ध हुन रु. १,१३० (भ्याट सहित) सदस्यता शुल्क तोकिएको छ।
अनलाइन आवेदन लिंक
सहकारी संस्थाहरूले सदस्यता दर्ताका लागि https://mirs.cibnepal.org.np लिंक प्रयोग गर्न सक्नेछन्।
कर्जा सूचना केन्द्रले स्पष्ट पारेअनुसार अनलाइन प्रणाली केवल सदस्यता दर्ताका लागि मात्र प्रयोग गर्नुपर्नेछ। कर्जा सूचना प्रतिवेदन तयार गर्ने, कर्जा वर्गीकरण वा अन्य सेवा प्रयोजनका लागि यो प्रणाली प्रयोग हुने छैन। सदस्यता प्रक्रिया, कागजात वा प्राविधिक सहयोगसम्बन्धी थप जानकारी आवश्यक परेमा cooperative@cibnepal.org.np मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपालपत्र संवाददाता