शुक्रबार, कार्तिक ७ गते २०८३

‘पुँजी पर्याप्तता अनुपात गणना’ बारे भक्तपुर बचत संघले दियाे तालिम


माघ ८, २०८२ बिहीबार
‘पुँजी पर्याप्तता अनुपात गणना’ बारे भक्तपुर बचत संघले दियाे तालिम

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिको आयोजनामा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धी तालिम सम्पन्न भएको छ।

तालिम उद्घाटन गर्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले संघले आफ्ना सदस्य संस्थाहरूलाई शिक्षा तथा तालिम प्रदान गर्ने, बहस पैरवी गर्ने तथा अन्तरलगानी प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्डहरू बैंक तथा वित्तीय संस्थाको प्रभावमा परेको जिकिर गर्दै सहकारीको मर्मभन्दा पनि बैंकसरह प्रतिवेदन तथा विवरण पेस गर्नुपर्ने व्यवस्थाले मापदण्ड परिपालना चुनौतीपूर्ण बनेको उनले उल्लेख गरे।

अध्यक्ष बल्लले जारी मापदण्ड कार्यान्वयनका लागि प्राविधिक ज्ञान आवश्यक रहेको उल्लेख गर्दै तालिमले सहकारी संस्थाको जोखिम मूल्याङ्कन तथा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै उहाँले तालिमबाट सिकेका विषय व्यवहारमा लागू गर्न सहभागीहरूलाई अनुरोध गरे । 

संघका कोषाध्यक्ष एवं अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले तालिमले संघको औचित्य र भूमिकालाई थप पुष्टि गरेको बताए। संघहरूमार्फत नै नियमनकारी निकायले जारी गर्ने निर्देशन तथा मापदण्डका प्राविधिक पक्षबारे प्रारम्भिक सहकारी संस्थाहरूलाई समयमै जानकारी र तालिम दिन सकिएको उनले जनाए । त्यसैले संघहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु राज्यको समेत दायित्व भएको उहाँको भनाइ थियो।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका मापदण्डअनुसार पुँजी पर्याप्तता अनुपात गणना गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । बचत तथा ऋण सहकारी संस्थाले अवधिका आधारमा २७ प्रकारका विवरण तथा प्रतिवेदन सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था भए पनि ती प्रतिवेदनमाथि सम्बन्धित निकायको चासो नदेखिँदा प्रणाली प्रभावकारी हुन नसकेको उनले बताए । एकद्वार नीतिमार्फत मापदण्ड जारी गर्ने तथा प्रतिवेदन बुझाउने व्यवस्था भए सहज र प्रभावकारी हुने उहाँको धारणा थियो।

तालिमका प्रशिक्षक नवराज घोरासाइनेले सहजीकरण गर्दै वित्तीय विवरणहरूको विश्लेषण गर्ने तरिकाबारे प्रशिक्षण दिनुभयो। पुँजी पर्याप्तता अनुपात कायम नभए लाभांश वितरण गर्न नपाइने स्पष्ट पार्दै यस विषयलाई बेवास्ता गर्न नहुने जनाए । पुँजी पर्याप्तता अनुपात नपुगेको अवस्थामा सदस्यबाट थप पुँजी संकलन गर्ने वा विभिन्न कोषमा रहेको रकम आर्थिक वर्षको अन्त्यमा जगेडा कोषमा सार्नुपर्ने उपायहरूबारे उनले जानकारी दिए ।

तालिमको समापन सत्रमा अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्द्धन उपसमितिका सदस्य योगेन्द्र खर्बुजाले धन्यवाद मन्तव्य राख्दै तालिमको सार्थकता व्यवहारमा लागू भएपछि मात्र पुष्टि हुने उल्लेख गरे।