आइतबार, आश्विन १८ गते २०८३

६ महिनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढ्याे , व्यापार घाटा भने उच्च


माघ ७, २०८२ बुधबार
६ महिनामा कुल वैदेशिक व्यापार १७.३६ प्रतिशतले बढ्याे , व्यापार घाटा भने उच्च

काठमाण्डाै । चालु आर्थिक वर्ष २०८२ ८३ को पहिलो ६ महिना (साउन–पुस) मा नेपालको कुल वैदेशिक व्यापार विस्तार देखिएको  छ । भन्सार विभागको तथ्याङ्कअनुसार यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.३६ प्रतिशतले बढेर १ खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । 
  
निर्यातमा देखियाे सुधार

यस अवधिमा सबैभन्दा सकारात्मक पक्ष निर्यात व्यापारमा देखिएको छ। ६ महिनामा नेपालको निर्यात ४३.७६ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात ९८ अर्ब ७८ करोड रुपैयाँमा सीमित थियो।

निर्यात वृद्धिले कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.७२ प्रतिशतबाट बढेर १३.१४ प्रतिशत पुगेको छ, जसले अर्थतन्त्रमा उत्पादन र निर्यातमुखी गतिविधि विस्तारतर्फ संकेत गरेको छ । 

आयात अझै उच्च, तर अनुपातमा केही सुधार

६ महिनामा आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यद्यपि आयात वृद्धिदर निर्यातको तुलनामा कम रहेकाले आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । अघिल्लो वर्ष ८.३२ रहेको आयात–निर्यात अनुपात घटेर ६.६१ मा झरेको छ, जसले निर्यातले आयातको तुलनामा केही गति समातेको देखाउँछ । 

व्यापार घाटा अझै चुनौती

निर्यातमा उत्साहजनक वृद्धि भए पनि व्यापार घाटा भने अझै उच्च नै छ । ६ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१५ प्रतिशतले बढी हो । 

समग्रमा, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापार विस्तार भए पनि अर्थतन्त्र अझै आयातमा नै निर्भर देखिन्छ । तर निर्यात वृद्धिले केहि सकारात्मक संकेत दिएको छ ।