उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले नेपालमा प्लाष्टिकको महत्व प्रतिदिन बढ्दै गएता पनि प्लाष्टिकप्रतिको बुझाईमा परिवर्तन नआउँदा यसमा आबद्ध उद्योगी व्यवसायीहरुले थुप्रै समस्या भोगेको बताएका छन् । प्लाष्टिक नेपाल फाउन्डेशनको ११ औँ वार्षिक साधारण सभामा बोल्दै उनले अहिले प्लाष्टिकको माग संसारभर बढ्दै गएको बताए ।
नेपालमा पनि यसको प्रयोग अबलम्बन गरी यस क्षेत्रको विकास र विस्तारमा सरकारले के गर्नुपर्छ त्यसका लागि आफू नीतिगत सुधारका लागि सधै तयार रहेको बताए । सचिव घिमिरेले यस क्षेत्रले रोजगारी, अर्थतन्त्र र पूर्वाधार क्षेत्रमा दिएको योगदान अतुलनीय रहेको जनाए । उनले ट्रान्सर्फम हुनुपर्ने र आर एन्ड डि मा खर्च गर्नुपर्ने भएकाले त्यसका लागि पनि आफूलाई सक्षम राख्न उद्योगीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र पाण्डेले प्लाष्टिकजन्य वस्तुहरुको उत्पादन र प्रशोधन ,मेसिन, कच्चापदार्थ लगाएत प्लाष्टिक उद्योग केन्द्रित नितीगत विषयहरुलाई आत्मसाथ गर्दै प्लाष्ट नेपाल फाउन्डेशनले गरेको काम अत्यन्तै महत्वपूर्ण रहेको बताए । हाल मुलुकको अर्थतन्त्र चरम संकटबाट गुज्रीरहेको, बैंकमा पर्याप्त मात्र नगद तरलता रहँदा पनि कर्जा प्रवाह बढ्न नसकेको र उद्योग व्यवसायीमा चरम नैरास्यता सृजना भएका कारण उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
नेपालपत्र संवाददाता