काठमाडौं । डिजिटल वालेट इसेवाले नेपालमा पहिलोपटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ। सेवाअन्तर्गत ग्राहकले इसेवा एपमार्फत परिमिता इन्भेष्टमेन्टका विद्युतीय स्कुटर खरिद गर्न सक्नेछन्।
यसका लागि इसेवा, रिलायन्स फाइनान्स र परिमिता इन्भेष्टमेन्टबीच त्रिपक्षीय साझेदारी भएको छ। साझेदारीअनुसार रिलायन्स फाइनान्सले वित्तीय साझेदारका रूपमा अधिकतम २ लाख रुपैयाँसम्मको डिजिटल कर्जा उपलब्ध गराउनेछ भने परिमिताले विद्युतीय स्कुटर उपलब्ध गराउनेछ।
कर्जामा ९.९९ प्रतिशत ब्याजदर लाग्नेछ र ग्राहकले अधिकतम ३६ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्। इसेवाका अनुसार एपबाटै प्रक्रिया पूरा गरी सेवा लिन सकिने भएकाले यसले एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यता घटाउनुका साथै डिजिटल वित्तीय सेवा र विद्युतीय यातायातको प्रयोगलाई प्रोत्साहन गर्नेछ।
नेपालपत्र संवाददाता