आइतबार, आश्विन १८ गते २०८३

अब ५ प्रतिशतमै म्युचुअल फण्ड योजना सञ्चालन गर्न पाइने


माघ ५, २०८२ सोमबार
अब ५ प्रतिशतमै म्युचुअल फण्ड योजना सञ्चालन गर्न पाइने

नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालनका लागि आवश्यक बीज पुँजी सम्बन्धी व्यवस्था खुकुलो बनाएको छ। बोर्डको  नयाँ व्यवस्थाले योग्य र अनुभवी योजना व्यवस्थापकहरूले १५ प्रतिशतको सट्टा १० प्रतिशत वा ५ प्रतिशत बीज पुँजी राखेर नयाँ योजना सञ्चालन तथा थप इकाई निष्कासन गर्न  सक्नेछन्। 

यसअघि सबै म्युचुअल फण्ड योजनामा योजना प्रवर्द्धक तथा व्यवस्थापकले अनिवार्य रूपमा १५ प्रतिशत बीज पुँजी लगानी गर्नुपर्ने व्यवस्था थियो। सेबोयो व्यवस्था माघ १ गतेदेखि लागू भएको बोर्डले जनाएको छ। सेबोनका अनुसार १० प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा तीन वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव हुनुपर्नेछ। साथै, व्यवस्थापनमा रहेका योजनाको कुल पूँजी एक अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने, बोर्डबाट अनुमति प्राप्त योजनाहरूको पछिल्लो तीन वर्षको प्रति इकाई मासिक खुद सम्पत्ति मूल्यको औसत अंकित मूल्यभन्दा माथि हुनुपर्ने व्यवस्था गरिएको छ।

 यस्तै, ५ प्रतिशत बीज पुँजी राख्न पाउने योजना व्यवस्थापकसँग कम्तीमा पाँच वर्ष सामूहिक लगानी योजना सञ्चालनको अनुभव, पाँच अर्ब रुपैयाँभन्दा बढी कोष व्यवस्थापन, पछिल्लो तीन वर्षको औसत खुद सम्पत्ति मूल्य अंकित मूल्यभन्दा माथि, औसत वा सोभन्दा माथिको रेटिङ तथा पछिल्लो छ महिनामा कुनै कारबाही नभएको अवस्था अनिवार्य गरिएको छ।