चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले साउनदेखि पुससम्म १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो। छ महिनामा वार्षिक लक्ष्यको केवल २५.८४ प्रतिशत राजस्व सङ्कलन हुनु प्रदेश सरकारको लक्ष्य निर्धारण यथार्थपरक नभएको संकेत देखिन्छ।
प्रदेश सरकारको राजस्व सङ्कलनमा घरजग्गा रजिष्ट्रेसन र सवारी साधन कर मुख्य आयस्रोतका रूपमा रहेका छन् । यी दुई शीर्षकबाट चालु आवमा ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा छ महिनामा लक्ष्यको ३१ दशमलव ४८ प्रतिशत अर्थात् ९ अर्ब ७२ करोड ५० लाख २८ हजार रुपैयाँ सङ्कलन भएको छ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका अधिकृत केशव भण्डारीका अनुसार घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट चालु आ.व.मा ७ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा छ महिनामा २ अर्ब १ करोड ६६ लाख ९० हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै सवारी साधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणसम्बन्धी सवारी कर शीर्षकबाट ८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने अनुमान गरिएकामा पुससम्म २ अर्ब ६३ करोड ८३ लाख ७५ हजार रुपैयाँ उठेको छ।
बाँडफाँडबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत ८ अर्ब ७९ करोड ८६ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा सो अवधिमा ३ अर्ब ६९ करोड ५४ लाख ९० हजार रुपैयाँ सङ्कलन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै अन्तःशुल्क करबाट ४ अर्ब ३ करोड ७९ लाख ९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा १ अर्ब २८ करोड १० लाख ८२ हजार रुपैयाँ प्राप्त भएको छ।
सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत चालु आवमा १४ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकामा छ महिनामा त्यसको ३८ दशमलव ७८ प्रतिशत अर्थात् ५ अर्ब ७४ करोड ७५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ ।
यस्तै प्रदेश सरकारको आन्तरिक स्रोतबाट चालु आवमा ४ अर्ब ७७ करोड ७४ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा छ महिनामा लक्ष्यको ३९ दशमलव १९ प्रतिशत अर्थात् १ अर्ब ८७ करोड २२ लाख ४५ हजार रुपैयाँ सङ्कलन भएको छ।
नेपालपत्र संवाददाता