आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय सहकारी बैंकले सदस्य पहिचान विवरण अद्यावधिक नगरे कारोबार रोक्का गर्ने

माघ ४, २०८२ आइतबार
राष्ट्रिय सहकारी बैंकले सदस्य पहिचान विवरण अद्यावधिक नगरे कारोबार रोक्का गर्ने

 

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई सदस्य पहिचान विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ ।

बैंकले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (क), नियमावली २०८१ को नियम ४ र ५, नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट जारी निर्देशन र प्रचलित कानुन बमोजिम सदस्य पहिचान विवरण अद्यावधिक नगरेका सदस्यहरूसँग कारोबार जारी राख्दा कानुनी जटिलता देखिएको जनाएको छ ।  सोही कारण २०८२ माघ १९ गतेभित्र अनिवार्य रूपमा सदस्य पहिचान विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

बैंकको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको बैठकको निर्णयअनुसार बैंकसँग आबद्ध सम्पूर्ण सदस्य संघ÷संस्थाले २०८२ माघ १९ गतेभित्र आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्नेछ । तोकिएको समय सीमाभित्र विवरण अद्यावधिक नगरिएमा प्रचलित कानुन तथा निर्देशनअनुसार सम्बन्धित सदस्यसँगको कारोबार रोक्का गर्नेसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामार्फत स्पष्ट पारेको छ ।

वित्तीय पारदर्शिता कायम राख्न तथा सम्भावित कानुनी जोखिम न्यूनीकरण गर्न यो प्रक्रिया अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बैंकले सबै सदस्यहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । यस सम्बन्धी थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।