बुधबार, भाद्र ३ गते २०८३

भक्तपुर बचत संघद्वारा ‘नेतृत्व पूर्वको सक्षमता परीक्षण’ तालिम सम्पन्न


माघ ४, २०८२ आइतबार
भक्तपुर बचत संघद्वारा ‘नेतृत्व पूर्वको सक्षमता परीक्षण’ तालिम सम्पन्न

 

भक्तपुर — भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा नेतृत्व पूर्वको सक्षमता परीक्षण तालिम सम्पन्न भएको छ।

तालिमको समापन सत्रमा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन, नियम तथा निर्देशनका कारण नेतृत्व संकट देखिन सक्ने अवस्थाबीच पनि समुदायमा आधारित सहकारी संस्थाका सञ्चालकहरू उत्साहपूर्वक तालिममा सहभागी भएको उल्लेख गरे। उनका अनुसार योग्य र उपयुक्त नेतृत्व चयन भएमा सहकारी संस्थामा विकृति र विसङ्गति प्रवेश गर्न रोकिन सक्छ। व्यक्तिगत स्वार्थका आधारमा स्थापना भएका संस्थामा समस्या र विकृति देखिएको उनको भनाइ थियो। समुदायमा आधारित सहकारीप्रति सदस्यहरूको विश्वास कायम भएकै कारण त्यस्ता संस्थामा तरलता अवस्था सुदृढ रहेको उनले बताए। संघले आवद्ध सदस्य संस्थाको संवर्द्धन तथा प्रवर्द्धन गर्दै दिगो विकासलाई प्राथमिकता दिएको पनि उनले प्रष्ट पारे।

संघका सञ्चालक तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले तालिमले व्यक्तिलाई थप परिपक्व बनाउने र सदस्य सेवामा प्रभावकारी योगदान पुर्‍याउने बताए । तालिमबाट सिकेका विषयहरू संस्थागत छलफलमार्फत व्यवहारमा उतार्न उनले आग्रह गरे।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारी क्षेत्रमा असल अभ्यास तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । कानुन बनेपछि मात्र प्रयोग गर्ने प्रवृत्तिले विकृति बढाउने भएकाले सकारात्मक अभ्यासको शीघ्र अनुशरण आवश्यक रहेको उनको भनाइ थियो।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी संस्थाको निर्वाचन निर्देशिकामा नेतृत्व पूर्व नै सक्षमता परीक्षण समावेश गरी निर्वाचनका बेला योग्य र उपयुक्त नेतृत्व छनोट गर्ने विधि स्थापित गर्नुपर्ने सुझाव दिए। यस्ता तालिमले नेतृत्व क्षमता विकास गर्दै सबै सदस्यलाई नेतृत्व चयन प्रक्रियामा सहभागी गराउने वातावरण सिर्जना गर्ने उनले बताए। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा समयमै दर्ता तथा अभिलेखीकरण गर्न आग्रह गर्दै समस्या आएमा संघमार्फत सहजीकरण गरिने जानकारी उनले दिए।

तालिम व्यवस्थापन उपसमितिका सदस्य भिमसेन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत विमला पुडासैनी, संघमा आवद्ध सदस्य संस्था, संघका पदाधिकारी तथा कर्मचारीसहित ६३ जनाको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेका थिए।