शुक्रबार, कार्तिक ७ गते २०८३

प्रतिस्पर्धी बजारमा सदस्यलाई सहज सेवा दिँदै एकता साकोस

कार्तिक २९, २०७८ सोमबार
प्रतिस्पर्धी बजारमा सदस्यलाई सहज सेवा दिँदै एकता साकोस

 

वित्तीय क्षेत्रमा भइरहेको तीब्र प्रतिस्पर्धाका बावजुद पनि बनेपामा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सुलभ र सहज हिसाबले सेवा प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष स्वयंकाजी पोतेले बढ्दो वित्तीय बजारलाई दृष्टिष्गत गरी सहकारी मुल्य र मान्यता अनुरुप सदस्यहरुको माग, चाहना र हितलाई मध्यनजर गरी संस्थाले विभिन्न सुविधाहरु प्रदान गर्दै आएको बताए । 

संस्थाको हालै सम्पन्न १४औं वार्षिक साधारणसभामा मन्तब्य राख्दै अध्यक्ष पोतेले कोभिड–१९ का कारण व्यापार व्यवसाय र आर्थिक गतिविधिमा असर पर्दा संस्थाको कारोबारमा समेत केहि असर पर्न गएको बताए । पारस्परिक आर्थिक सहयोग अभिवृद्धि गर्ने, सदस्यहरुलाई रोजगारी तथा कार्यका लागि साधनश्रोत र सहयोग सरल ढंगबाट उपलब्ध गराउन संस्था क्रियाशील भएको सो अवसरमा उनले जानकारी दिए । संस्थाकी सचिव शर्मिला प्रधानले आ. व . २०७७।७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा २१०० शेयर सदस्य पुगेको जानकारी दिइन् । त्यसैगरी ५६४ बाल सदस्यबाट १ करोड ४१ लाख ९ हजार गत असारमसान्तसम्म संकलन भएको, ७६८ जना सदस्यलाई ऋण प्रवाह गरेको र ३३६ जना सदस्यमा अहिले पनि ऋण लगानी रहेको उनले बताइन् । 

संस्थाले यस आ.व. मा सञ्चालक तथा कर्मचारीको नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने, स्वास्थ्य तथा सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिने, मोबाइल बैंकिङ सुविधा सञ्चालनमा ल्याउने, ज्येष्ठ सदस्यलाई तीर्थाटन र बालसदस्यलाई शैक्षिक भ्रमण गराउने जस्ता योजना रहेको उनले बताइन् । संस्थाका कोषाध्यक्ष विष्णु ओम पोतेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तमा शेयरपुँजी १ करोड ३ लाख, बचत संकलन १३ करोड ८९ लाख ५३ हजार ऋण लगानी १६ करोड ३१ लाख गरी १५ लाख ८५ हजार मुनाफा आर्जन गरेको बताए । जगेडा तथा विभिन्न कोषहरुमा गरी संस्थाको १६ लाख रकम रहेको छ । 

संस्थाले कृषि, हायरपर्चेज, सामुहिक जमानी, व्यापारिक, आवधिक, शैक्षिक र छोटो अवधिका शीर्षकमा ऋण प्रवाह गर्दै आएको छ । 

ekta banepa AGM.jpg