सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले संघका सञ्चालक सदस्य विर बहादुर रावत (भोटे) लाई पदबाट निलम्बन गरेको छ। सुर्खेत सदस्य सेवा कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि अमर्यादित व्यवहार गरेको घटनालाई गम्भीर रूपमा लिँदै संघले उक्त निर्णय गरेको हो।
संघका अनुसार मिति २०८२ पौष १८ गते शुक्रबार सुर्खेत सदस्य सेवा कार्यालयमा रावतले कर्मचारीहरूप्रति देखाएको व्यवहार स्वयंसेवी सञ्चालकको अभिभावकीय भूमिकासँग मेल नखाने र पदीय मर्यादा विपरीत देखिएको छ। सो घटनापछि अभियानका तर्फबाट व्यक्त चासोप्रति सचेत रहँदै यस्ता क्रियाकलाप भविष्यमा दोहोरिन नदिन संघ प्रतिबद्ध रहेको जनाएको छ।
उक्त घटनाबारे मिति आज बसेको सञ्चालक समितिको बैठकले प्रचलित ऐन, संघको विनियम तथा साकोस अभियानका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आचारसंहिता र मार्गदर्शनका व्यवस्था बमोजिम आजकै मितिदेखि लागू हुने गरी रावतलाई सञ्चालक समिति सदस्यको पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
साथै, घटनाको निष्पक्ष, वस्तुनिष्ठ र तथ्यपरक छानबिन गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्न सञ्चालक समिति र व्यवस्थापनसमेतको सहभागितामा तीन सदस्यीय छानबिन कार्यदल गठन गरिएको संघले जनाएको छ।
नेफ्स्कूनले बचत तथा ऋण सहकारी अभियानको संरक्षण, सुशासन प्रवर्द्धन तथा अभियानमा कार्यरत जनशक्तिको सुरक्षा, वृद्धि र विकासका लागि आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। संघका सेवाहरू अविच्छिन्न रूपमा सञ्चालनमा रहेको जानकारी गराउँदै अभियानको प्रगतिका लागि सरोकार राख्ने सबैप्रति संघले आभार व्यक्त गरेको छ।
नेपालपत्र संवाददाता