आइतबार, आश्विन १८ गते २०८३

आक्रमणको विरोधमा नेफ्स्कून कर्मचारीले ठप्प पारे काम, जिउधनको सुरक्षाको माग


पौष २०, २०८२ आइतबार
आक्रमणको विरोधमा नेफ्स्कून कर्मचारीले ठप्प पारे काम, जिउधनको सुरक्षाको माग

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)मा कार्यरत कर्मचारीहरुले  सुर्खेत सदस्य सेवा कार्यालयमा शुक्रबार भएको घटनालाई लिएर  काम ठप्प पारेका छन् ।  सुर्खेत घटनाले संघमा कार्यरत  सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको भन्दै उक्त घटनाको दोषी सञ्चालक वीरबहादुर रावत भोटेलाई तत्काल निलम्बन गरि बर्खास्त गर्न उनीहरुले  माग गरेका छन् ।  उनीहरुले   संघका सञ्चालक समिति सदस्य  रावत (भोटे) द्धारा नेफ्स्कून सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेना माथि कार्यस्थलमा भएको सांघातिक हमलाका कारण संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएकाले उक्त घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि काम ठप्प पार्दै निज सञ्चालकलाई तत्कालै निलम्बन गर्न माग गरेका  हुन् ।

त्यसैगरी उक्त हमलाका कारण कर्मचारीद्वय  सहित  सम्पूर्ण कर्मचारीहरुको सुरक्षा संवेदनशिलतालाई ध्यान दिई सबैको जिउधनको सुरक्षाको उचित व्यवस्थापन गर्न ,संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पुर्ण पालनाका लागि समिति तथा उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पुर्ण रुपमा हटाई संघको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारी बाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न माग  गरिएको छ ।

त्यसैगरी संघका सम्पूर्ण कार्यालयहरुमा रहेको सबै उपसमितिको कार्यकक्षहरु तत्कालै हटाउन,संघको छविमा व्यापक सुधार गर्नुपर्ने अवस्थामा नेतृत्वबाट भएको यस्ता अमर्यादित हर्कतबाट संघको छविमा नकारात्मक प्रभाव परेको अवस्थामा समिति तथा उपसमितिमा रहेका कुनै पनि व्यक्ति वा उक्त व्यक्ति संलग्न रहेको सहकारी संस्था कारबाहीमा परेको वा कालोसुचीमा परेको वा कानुनी कारवाहीमा परेको सुचना, जानकारी तथा तथ्य प्रमाणका आधारमा उक्त संस्थाका प्रतिनिधिलाई कानुन बमोजिम तत्काल निलम्बन गरी बर्खास्त गर्न  उनीहरुको  जोडदार माग छ ।

  सुर्खेत घटनाका कारण  कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरिने  उल्लेख छ ।