अठारौँ र उन्नाइसौँ शताब्दीको संधिकाल दक्षिण एशियाको इतिहासमा गहिरो उथलपुथलको समय थियो। एकातिर भारतमा ईस्ट इन्डिया कम्पनीले आफ्नो शासन विस्तार गर्दै थियो भने अर्कोतिर सामाजिक, धार्मिक र नैतिक मूल्यहरू कमजोर बन्दै गएका थिए। यही संक्रमणकालमा जन्मिएका एक अद्वितीय साधक थिए—स्वामी नारायण, जसले आध्यात्मिक साधनालाई सामाजिक सुधारसँग जोड्दै मानव चेतनाको नयाँ दिशा प्रस्तुत गरे। उनको जीवन केवल भारतको सीमाभित्र सीमित रहेन; नेपालसँग पनि उनको साधनात्मक यात्रा र स्मृतिको गहिरो सम्बन्ध जोडिएको छ, जसको सजीव उदाहरण हो—महाशिला।
१. जन्म र प्रारम्भिक जीवन : साधनाको बीज
स्वामी नारायणको जन्म सन् १७८१ अप्रिल ३ मा उत्तर भारतको छपैयाँ (हाल उत्तर प्रदेश) मा घनश्याम पाण्डे का रूपमा भयो। बाल्यकालदेखि नै उनी असाधारण प्रतिभा र वैराग्ययुक्त स्वभावका थिए। सात वर्षकै उमेरमा घर–परिवार त्यागी ज्ञानको खोजमा निस्कनु उनको जीवनको निर्णायक मोड बन्यो। यही यात्राले उनलाई भारतका विभिन्न तीर्थ र आश्रम हुँदै हिमालय क्षेत्रतर्फ डोर्यायो।
२. नेपाल आगमन र साधनात्मक यात्रा
ऐतिहासिक जनश्रुति र धार्मिक विश्वासअनुसार, करिब दश वर्षको उमेरमा (सन १७९२ -९३ तीर )स्वामी नारायण नेपाल प्रवेश गरेका थिए। त्यतिबेला नेपाल हिमालयन साधना, योग र तपस्याको सुरक्षित तथा पवित्र भूमि मानिन्थ्यो। भारतमा राजनीतिक अस्थिरता बढ्दै जाँदा, साधकहरू शान्त वातावरणको खोजीमा हिमाली क्षेत्रमा आउँथे।
यसै साधनात्मक यात्राक्रममा स्वामी नारायणले महाशिलासहित नेपालका विभिन्न पवित्र स्थलहरूमा मुख्यत: रुप्से छहरा देखि मुक्तिनाथमा ध्यान–तपस्या गरेको विश्वास स्थानीय समाजमा गहिरो रूपमा स्थापित छ। उनले १३ वर्षको उमेरमा अद्वितीय ज्ञान प्राप्त गरेको ईतिहास छ ।
३. महाशिला : मौन तपस्याको साक्षी
महाशिलाको पूर्वी भागमा अवस्थित पवित्र गर्भ–गृहमा स्वामी नारायणले केही समय ध्यान–तपस्या गरेको जनश्रुति केवल कथा होइन; यो महाशिलाको आध्यात्मिक पहिचानसँग जोडिएको आधारभूत विश्वास हो।
महाशिला स्वयं मूर्ति नभएको देवस्थल हो-जहाँ देवता कुँदिएका छैनन्, अनुभूत गरिन्छन्। यही स्वरूप स्वामी नारायणको साधनात्मक दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। उनले बाह्य आडम्बरभन्दा मौनता, आत्मसंयम र ध्यानलाई प्रधानता दिएका थिए। त्यसैले महाशिलाजस्तो प्राकृतिक, अकुँदिएको र मौन स्थल उनको तपस्याका लागि उपयुक्त थियो।
४. भारत फर्किएपछि सामाजिक–धार्मिक क्रान्ति
नेपालमा साधनात्मक अनुभव प्राप्त गरेपछि स्वामी नारायण भारत फर्किए। त्यो समय भारतमा ईस्ट इन्डिया कम्पनीको शासन मजबुत भइसकेको थियो। सामाजिक कुरीति, अन्धविश्वास र अन्याय व्याप्त थियो।
यही सन्दर्भमा स्वामी नारायणले:
- नारी शिक्षाको पक्षमा आवाज उठाए,
- सती प्रथाको कडा विरोध गरे,
- पशुबलिको विरोध गर्दै अहिंसाको मार्ग अपनाए,
- गरिब, असहाय र पीडित वर्गको पक्षमा उभिए,
- धर्मलाई कर्मकाण्ड होइन, मानवकल्याणको माध्यम बनाए।
- उनको साधना सामाजिक चेतनामा रूपान्तरित भयो।
यही कारण उनी केवल योगी मात्र होइन, महान् सामाजिक सुधारक का रूपमा स्थापित भए।
५. गान्धीसँग जोडिने चेतनाको सूत्र
स्वामी नारायणको जीवनकाल (१७८१–१८३०) भारतीय स्वतन्त्रता आन्दोलनको प्रारम्भिक चेतनाको आधार निर्माण गर्ने काल थियो। पछि यही मूल्य–मान्यताले महात्मा गान्धीजस्ता नेताहरूलाई प्रेरित गर्यो। ऐतिहासिक सन्दर्भहरूमा गान्धीले स्वामी नारायणका अहिंसा, नैतिकता र आत्मसंयमका आदर्शबाट प्रेरणा लिएको उल्लेख पाइन्छ।
६. देहावसान र विरासत
स्वामी नारायणको महासमाधि सन् १८३० जुन १ मा गुजरातको गढडामा भयो। करिब ४९ वर्षको छोटो जीवनकाल भए पनि उनले छोडेको आध्यात्मिक र सामाजिक विरासत आज पनि जीवित छ। नेपालका लागि भने उनको विरासत महाशिलाजस्ता साधनास्थलसँग जोडिएर अझै अर्थपूर्ण बनेको छ। महाशिला उनको मौन तपस्याको स्मृति बोकेको स्थलका रूपमा चिनिन सक्छ।
७. महाशिला र स्वामी नारायण : साझा सन्देश
महाशिला र स्वामी नारायण दुवैको मूल सन्देश एउटै छ-बाह्य मूर्तिभन्दा आन्तरिक चेतना महान् हुन्छ।
महाशिला मन्दिर नभएको तीर्थ हो; स्वामी नारायण कर्मकाण्डभन्दा माथिको धर्मका प्रवक्ता थिए। यही कारण महाशिलालाई स्वामी नारायणको साधनात्मक यात्रासँग जोडेर प्रस्तुत गर्न सक्दा, यो नेपाल–भारतबीचको आध्यात्मिक सेतुका रूपमा स्थापित हुन सक्छ।
निष्कर्ष
स्वामी नारायणको जीवन भारतको सामाजिक पुनर्जागरणको कथा मात्र होइन; यो हिमालयसँग जोडिएको साधनाको इतिहास पनि हो। महाशिलाजस्तो मौन, अकुँदिएको र पवित्र स्थलसँग उनको आध्यात्मिक सम्बन्ध उजागर गर्न सक्दा, महाशिला केवल स्थानीय आस्थाको केन्द्र नभई अन्तर्राष्ट्रिय अध्यात्म खोज्नेहरूका लागि विशिष्ट तीर्थस्थल बन्न सक्छ।
महाशिला त्यसैले ढुंगा होइन-यो स्वामी नारायणजस्ता महापुरुषको मौन तपस्याले स्पर्श गरेको चेतनाको भूमि हो।
cpnsharan@gmail.com
शरणबिक्रम मल्ल