शनिबार, आश्विन १७ गते २०८३

कम्युनिष्ट पार्टीको सदस्यता, क्रान्तिकारी प्रतिबद्धता


पौष १०, २०८२ बिहीबार
कम्युनिष्ट पार्टीको सदस्यता, क्रान्तिकारी प्रतिबद्धता


लक्ष्मण उप्रेती
कम्युनिस्ट पार्टीको सदस्य बन्नु कुनै साधारण पहिचान मात्र प्राप्त गर्नु होइन। यो स्वयंलाई वर्गसंघर्षको मोर्चामा उभ्याउने, शोषित–उत्पीडित वर्गको ऐतिहासिक मुक्तिको पक्षमा सचेत र संगठित रूपमा समर्पित हुने राजनीतिक घोषणा हो। यही कारणले लेनिनले कम्युनिस्ट पार्टीको सदस्यतासम्बन्धी प्रश्नलाई अत्यन्तै कडाइका साथ उठाएका थिए।

लेनिनका अनुसार, कम्युनिस्ट पार्टीको सदस्य बन्न तीनवटा आधारभूत शर्तहरू अपरिहार्य हुन्छन्। पहिलो, पार्टीको नीति र कार्यक्रमलाई बिनासर्त स्वीकार गर्नुस दोस्रो, पार्टीका कुनै न कुनै समितिमा रही सक्रियरूपमा काम गर्नु, र तेस्रो, पार्टीको लेबी नियमित बुझाउनु। यी तीनै शर्तहरूलाई समग्रतामा हेर्दा, कम्युनिस्ट पार्टीको सदस्य भन्नाले अनिवार्य रूपमा कार्यकारी भूमिका निर्वाह गर्ने व्यक्ति भन्ने जनाउँछ, सहानुभूति राख्ने, समर्थन गर्ने वा भाषण गर्ने व्यक्ति मात्र  होइन।

यी शर्तहरू स्वयंमा द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका प्रतिफल हुन्। नीति र कार्यक्रमको बिनासर्त स्वीकृतिले व्यक्तिको चेतनालाई वर्गीय आधारमा रूपान्तरण गर्छस समितिमा सक्रिय सहभागिताले सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्छस र लेवी बुझाउनु भनेको क्रान्तिप्रति भौतिक तथा नैतिक दुवै तहमा जिम्मेवारी लिनु हो। यसरी पार्टी सदस्यता विचार, संगठन र व्यवहारको एकता हो,जसले स्थिरता होइन, गतिशीलता, निष्क्रियता होइन, सक्रिय हस्तक्षेप, र तटस्थता होइन, वर्गीय पक्षधरताको माग गर्छ।

कम्युनिस्ट आन्दोलनको इतिहासले के स्पष्ट देखाएको छ भने, व्याख्या गर्ने, भाषण गर्ने, वा ‘सही कुरा’ भन्ने मात्र गर्ने प्रवृत्ति क्रान्तिकारी होइन। मार्क्सले भनेझैँ, “दार्शनिकहरूले संसारलाई व्याख्या गरेका छन्, तर मुख्य कुरा यसलाई बदल्नु हो।” यही बदल्ने चेतनालाई व्यवहारमा उतार्ने साधन कम्युनिस्ट पार्टी हो, र त्यस पार्टीको वास्तविक शक्ति उसका सक्रिय, सचेत र अनुशासित सदस्यहरू हुन्।

यदि पार्टी सदस्यता व्यवहारमा कार्यकारी भूमिकामा परिणत हुँदैन भने, त्यो सदस्यता  कागजी, औपचारिक र आत्मसन्तुष्ट मात्र हुन्छ। यस्तो स्थितिमा क्रान्तिको नाममा गरिने कुरा र कर्मबीचको दूरी बढ्दै जान्छ। यही दूरीबाट जन्मिन्छ क्रान्तिकारी लफ्फाजी,क्रान्तिकारी शब्द, कट्टर नारा, तर व्यवहारमा निष्क्रियता। लेनिनवादी दृष्टिकोणबाट हेर्दा, यस्तो लफ्फाजी कुनै ‘वामपन्थी’ कमजोरी होइन, बरु अन्ततः दक्षिणपन्थी अवसरवाद कै रूप हो। किनभने यसले क्रान्तिको नाममा जनतालाई भ्रमित गर्छ, संगठनलाई कमजोर बनाउँछ र वस्तुगत वर्गसंघर्षलाई पछाडि धकेल्छ।दक्षिणपन्थी अवसरवाद सधैं खुला रूपमा  आत्मसमर्पणको भाषामा मात्र प्रकट हुँदैन। धेरै पटक यो ‘अति क्रान्तिकारी’ जस्तो देखिने भाषामा, तर व्यवहारमा जिम्मेवारीबाट भाग्ने, संगठनात्मक अनुशासन तोड्ने र व्यक्तिगत सहजतालाई प्राथमिकता दिने प्रवृत्तिमा प्रकट हुन्छ। पार्टी सदस्यता यदि संगठनका समितिगत काम, जनसम्पर्क, संघर्ष र बलिदानसँग जोडिँदैन भने, त्यो अवसरवादको उर्वर भूमि बन्छ र त्यही दलदलमा फसेर बिसर्जन हुन्छ।

त्यसैले कम्युनिस्ट पार्टी कस्तो हुनेरुवास्तवमै क्रान्तिकारी कि दक्षिणपन्थी अवसरवादी भन्ने प्रश्न कुनै अमूर्त बिषय र नाराबाट होइन, पार्टीभित्रका सदस्यहरूको स्तर, दृष्टिकोण, कार्यशैली र तत्परता बाट निर्धारण हुन्छ। सदस्यहरू यदि वर्गदृष्टिकोणमा दृढ, संगठनात्मक अनुशासनमा कठोर, र व्यवहारमा क्रियाशील छन् भने, पार्टी अनिवार्य रूपमा क्रान्तिकारी बन्छ। तर यदि सदस्यहरू नामका मात्र छन्, आलोचना(आत्मआलोचनाबाट भाग्छन्, जिम्मेवारी लिन चाहँदैनन्, र क्रान्तिलाई भविष्यको अमूर्त सपना बनाउँछन् भने, त्यही पार्टी अवसरवादमा पतन हुन्छ,चाहे उसका दस्तावेज जति नै क्रान्तिकारी किन नदेखिऊन्।

अन्ततः, कम्युनिस्ट पार्टीको सदस्यता कुनै अधिकारभन्दा बढी कर्तव्य हो। यो व्यक्तिगत उन्नति वा सामाजिक प्रतिष्ठाको साधन होइन, बरु वर्गसंघर्षको कठोर यात्रामा सामेल हुने प्रतिवद्धता हो। यही अर्थमा, पार्टी सदस्यता द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, जिम्मेवारीबोध, साहस र व्यवहारिक क्रान्तिकारीतासँग गाँसिएको एक केन्द्रीय प्रश्न हो। यसलाई हल्का रूपमा लिँदा, क्रान्ति शब्दमा मात्र सीमित हुन्छ, गम्भीर रूपमा लिँदा मात्र, क्रान्ति वास्तविक सामाजिक रूपान्तरणको शक्तिमा बदलिन्छ।