शुक्रबार, कार्तिक ७ गते २०८३

किसान बहुउद्देश्यीय सहकारीकाे ३१औं साधारण सभा, गर्‍यो १४ कराेड २४ लाख नाफा आर्जन


पौष ६, २०८२ आइतबार
किसान बहुउद्देश्यीय सहकारीकाे ३१औं साधारण सभा, गर्‍यो १४ कराेड २४ लाख नाफा आर्जन

कैलाली । किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३१ साधारणसभा सम्पन्न भएको छ । संस्थाले मंसीर २४ देखि पुष १ गतेसम्म क्षेत्रगत रूपमा सभा गरी पुष ४ गते निर्णय प्रमाणिकरण भेला गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिकाको लम्कीमा रहेको संस्थाले स्थानिय जेसिस हलमा शनिबार भेला सम्पन्न गरेकाे हाे । 

भेलाको उद्घाटन सत्रमा बोल्दै संस्थाका संस्थापक तथा प्रमुख अतिथि मंगल बहादुर शाहले सहकारी स्थापना कालको स्मरण गर्दै किसान सहकारी अपेक्षा गरिएकोभन्दा धेरै अगाडि बढ्न सफल भएको बताए । ‘सदस्यहरूको विश्वास, इमानदार नेतृत्व र सामूहिक प्रयासले किसान सहकारीलाई देशकै नमूना संस्थामध्ये एक बनाएको छ,’ शाहले भने । उनले सहकारीले आगामी दिनमा पनि सदस्य हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष सुरेन्द्र कुमार शाहले  सहकारीमा उच्च नैतिकता कायम गर्ने गरी गर्न नीतिगत सर्वोच्चता, कार्यगत एकरुपता कायम गर्ने साथै स्वार्थ रहित, सदाचार, जवाफदेहिता, इमान्दारिता, पारदर्शितामा जोड दिने हो भने जुनुसुकै परिस्थितीमा पनि विचलित संस्थाले जोखिम व्यवस्थापनका विभिन्न नीति, कार्ययोजना र निगरानी संयन्त्रहरुलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्दै, संभावित नोक्सानीलाई न्यूनतममा सीमित गर्न निरन्तर प्रयासरत छ । खर्चका सिमाहरु घटाउँदै स्वपूँजी निर्माणमा संस्थाले ऐतिहासिक उपलब्धी हासिल गरेको उल्लेख गरे ।  आर्थिक वर्ष २०८१–०८२ मा संस्थाले १४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिँदै उनले भने, ‘आजको सफलता शेयर सदस्य, ग्राहक, कर्मचारी, पूर्व सञ्चालक समिति र सम्पूर्ण समुदायको योगदानको परिणाम हो ।’ 

kisan coop 2.jpg

संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले कठिन समयहरूमा पनि शेयर सदस्यले देखाएको विश्वासकै कारण सहकारी निरन्तर अघि बढ्न सफल भएको बताए । उनले आगामी दिनमा सहकारीलाई थप सुदृढ बनाउँदै समुदायसँग सहकार्य गरी समृद्धि तथा वातावरण संरक्षणका क्षेत्रमा समेत योगदान विस्तार गरिने जानकारी दिए ।

भेलामा लेखा सुपरीवेक्षण समितिका संयोजक नृप बहादुर कुँवरले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै किसानलाई आत्मनिर्भर बनाउने अभियानमा योगदान पुयाउने सबै पक्षप्रति आभार व्यक्त गरे । भेलामा उपस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले संस्थाको थप प्रगति, स्थायित्व र उन्नतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

९३ हजार शेयर सदस्य रहेको संस्थाको २०८२ असार मसान्तसम्म संस्थाको शेयरपुँजी ५० करोड ४३ लाख, कुल सम्पत्ति ६ अर्ब ५१ करोड रुपैयाँ पुग्दा, बचत संकलन ४ अर्ब ९४ करोड र कर्जा लगानी ४ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको तुलनामा कुल सम्पत्तिमा ६ प्रतिशत, लगानीमा २ प्रतिशत, निक्षेपमा १७ प्रतिशत र खुद नाफामा ७९ प्रतिशतले वृद्धि भएको छ । कुल सदस्यमध्ये २९ हजार ६०० जनाले ऋण सुविधा उपभोग गरिरहेका छन् । २०८२ मंसीर मसान्तसम्म संस्थाले करिब ३० प्रतिशतको हाराहारीमा तरलता व्यवस्था कायम गरेको छ । संस्थामा एक सयबढी महिला र २०० जना पुरुष गरी कुल ३०५ कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन् । 

kisan coop.jpg

संस्था सञ्चालनका हरेक आयाममा स्थायित्व र दिगोपनालाई केन्द्रमा राख्दै, वित्तीय र गैर–वित्तीय कारोबारको दायरा विस्तार गर्ने, नयाँ शाखा र आउटलेटहरु स्थापनासहित सेवा पहुँचको विस्तार गर्ने, कारोबारलाई प्रविधिमैत्री र सुरक्षित बनाउने, र संस्थाको स्तरोन्नति एवं सशक्तिकरणमा केन्द्रित हुने स्पष्ट रणनीति अवलम्बन गरेको छ । साथै, कर्जा विविधीकरण गरेर कर्जामा निहित जोखिमहरुलाई न्यून पार्ने, निक्षेपको लागत तथा सञ्चालन खर्च घटाउने, र पूँजी कोषको स्थिति सुदृढ बनाउने योजना संस्थाको रहेको छ। 

संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका अलावा सुत्केरी स्याहार खर्च, आगलागी राहत, पहिरो राहत, औषधी उपचार खर्च, काजक्रिया खर्च, छात्रवृत्ति लगायतका सुविधा दिँदै आएको छ । सदस्यको जीवनस्तर र पेशागत अभिवृद्धिका लागि लघुउद्यम विकास, वित्तीय साक्षरता, कृषि तरकारी बाली तालिम, नविकरणीय उर्जासम्बन्धी अभिमूखिकरण लगायतका विविध कार्यक्रम गर्दै आएको छ ।