काठमाडौँ । वित्तीय समावेशिताको अभियानमार्फत सहकारीहरूले भुइँमान्छेसम्म वित्तीय सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताएका छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि(नेफ्स्कून) को आयोजना भएकाे ‘साकोस शिखर गोष्ठी २०८२’मा प्रस्तुतिकरण गर्दै उनले सहकारी क्षेत्रको दिगो विकासका लागि कोष निर्माण, सुशासन र ऋण व्यवस्थापन मुख्य आधार भएको उल्लेख गरे।
“वित्तीय सहकारीमा स्रोत परिचालनः विद्धमान प्रवृति र आगामि कार्यदिशा” विषयको प्रस्तुतिकरणमा उनले कुनै सहकारी संस्था समस्यामा पर्नु वा नपर्नु बचत संकलन र त्यसको सही परिचालनमा निर्भर हुने उल्लेख गरे । “जसले बचतलाई योजनाबद्ध रूपमा परिचालन गर्न सकेका छन्, ती संस्थामा समस्या कम देखिएको छ,” उनले भने, “तर यो गर्न नसक्ने सहकारी संकटमा परेका छन्।”
सीईओ ज्ञवालीले शेयर पूँजी, सदस्यको बचत, नाफा कोष, बाह्य ऋण र अनुदान सहकारीका प्रमुख कोष स्रोत भएको उल्लेख गर्दै संस्था विस्तारको चरणमा पुगेका सहकारीले शेयर पूँजी बढाउनुपर्ने सुझाव दिए। शेयर बढाएर १५ गुणासम्म बचत संकलन गर्न सकिने उनले बताए।
उनले सदस्यको बचतलाई सबैभन्दा सस्तो र भरपर्दो कोषको संज्ञा दिँदै बचतसँगै वित्तीय साक्षरता दिन सहकारी सक्षम र जिम्मेवार हुनुपर्ने बताए। नियमित बचतलाई प्राथमिकता दिन सके सहकारीको स्थायित्व बलियो हुने उनको भनाइ थियो।
हाल बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहेको उल्लेख गर्दै ज्ञवालीले यो समय सहकारीका लागि बचत बढाउने उपयुक्त अवसर भएको बताए। “बैंकहरूले मुद्दती खातामा २ देखि ३ प्रतिशत ब्याज दिइरहेका बेला सहकारीहरूले केही थप ब्याज दिएर बचत आकर्षित गर्न सक्छन्,” उनले भने।
उनले सहकारीलाई घाटा पूर्ति कोष अनिवार्य रूपमा निर्माण गर्न सुझाव दिँदै संकटका बेला यस्ता कोषले संस्थालाई जोगाउने बताए। साथै, बाह्य ऋण कुल सम्पत्तिको ५ प्रतिशतभन्दा बढी लिन नहुने स्पष्ट पारे।
प्रस्तुतिमा उनले सहकारी र बैंकबीचको भिन्नता उल्लेख गर्दै भने, “सहकारीहरू विश्वासको आधारमा लगानी गर्छन् भने बैंकहरू जमानतको आधारमा।”
सहकारी क्षेत्रका प्रमुख समस्याका रूपमा उनले बचतमाथिको अत्यधिक निर्भरता, कमजोर सुशासन, तरलता मिसम्याच र ऋण असुली समस्या औँल्याए। “एउटा–दुईटा ऋण डुब्दैमा संस्था डुब्दैन, संस्थागत सुशासन कमजोर हुँदा सहकारी डुब्छ,” उनले चेतावनी दिए।
ऋण असुली सुदृढ बनाउन ऋण दिँदा नै सदस्यको नगद प्रवाह र तिर्ने क्षमताको स्पष्ट मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिए।
समग्रमा, सीईओ ज्ञवालीले सहकारीहरू कोष संरचना बलियो बनाउने, सुशासन कडाइका साथ पालना गर्ने, बचत–ऋण सन्तुलन मिलाउने र जिम्मेवार लगानी गर्ने बाट मात्रै सुदृढ र विश्वसनीय बन्न सक्ने निष्कर्ष प्रस्तुत गरे।
नेपालपत्र संवाददाता