नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) विगत ३७ वर्ष देखि बचत तथा ऋण सहकारीको अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशिल रहेको बचत तथा ऋण सहकारी संघ÷संस्थाहरूको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय निकाय हो । नेपालमा ७६ जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने ४४०० भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू, ६५ वटा जिल्ला बचत संघहरू र ४ वटा प्रादेशिक करिब ३७ लाख व्यक्तिगत सदस्यहरू रहेको यस केन्द्रीय संघ विगत २०५५ साल देखि एशियाली ऋण महासंघ (आकु) र २०७५ सालदेखि विश्व ऋण परिषद (ओकु) को समेत सदस्य रहेको छ । साथै यस संघले दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायहरूबाट विकसीत साकोस समाधनहरुको प्रवद्र्धन र कार्यन्वयन साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरू संचालन गर्दै आइरहेकोछ
बचत तथा ऋण सहकारी संस्थाहरूको संचालनमा विद्यमान जोखिम र तिनको सापेक्षित प्राविधिक समाधानको लागि संघले संस्थागत विकास तथा सुशासनका विविध क्षेत्रहरूमा तालिम तथा शिक्षाको माध्यमबाट समुदायको दीगो र प्रतिस्पर्धि संस्थाको रूपमा स्थापित गराउन निरन्तर प्रयासरत रहेको छ । सक्षम र प्राविधिक जनशक्ति विकास तथा व्यवस्थापनबाट मात्र साकोस अभियानलाई सापेक्षित रूपमा प्रतिष्पर्धि, विश्वासयोग्य र गुणस्तरीय बनाउन सकिन्छ भन्ने मान्यताका साथ विगत लामो समयदेखि तालिम कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।
नेपालमा सहकारी ऐन, २०४८ जारी भएपश्चात संख्यात्मकरूपमा वृद्धि भएका सहकारी संघ÷संस्थाहरू र संघीय संरचना अन्तर्गत नियमनमा ७६१ वटा स्वायत्त इकाईहरूमा रहेको विविधताले सहकारी सञ्चालनमा थप अन्यौलता र जोखिम वृद्धि गरेको छ । सहकारी क्षेत्रले मुलुकको आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको कारण नेपालको संविधान, २०७२ ले नेपालको अर्थतन्त्र सार्वजनिक, नीजि र सहकारीमा आधारित हुने व्यवस्था ग¥यो । विशेषतः बचत तथा ऋण सहकारी संस्थाहरूको स्थापनाले शहरी क्षेत्रका साथै दुर्गम ग्रामिण क्षेत्रका समुदायमा औपचारिक वित्तीय क्षेत्रको पहुँच अभिवृद्धि गर्नुका साथै बचत गर्ने बानीको विकास गरी राष्ट्रिय पुँजी निर्माणमा उल्लेखनीय योगदान गरेको छ । यद्यपी शहरी क्षेत्रमा केही व्यक्तिको निहित स्वार्थसिद्धिका लागि स्थापना भएका अनियन्त्रित सहकारीका कारण आम नागरिकको बचतमा जोखिम समेत बढ्दै गइरहेको छ ।
यसै सन्दर्भमा परिवर्तित कानुनी व्यवस्थालाई अनुकुलीत भई नेपालको साकोस अभियानलाई प्रभावकारी एवम मजवुत र आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरूस्त राख्न, समान वुझाई र असल अभ्यास लाई निरन्तरता दिने सोचका साथ यो राष्ट्रिय गोष्ठी सञ्चालन हुन गइरहेको छ । यो गोष्ठीको नाम साकोस शिखर गोष्ठी—२०८२रहेको छ । अन्तर्राष्ट्रिय जगतमा भएका साकोसका असल अभ्यासहरू र राष्ट्रिय परिवेशमा उत्तम अभ्यासहरूको आन्तरिकिकरणको लागि स्वदेशी तथा विदेशी विषय विज्ञहरूमार्फत क्षमता अभिवृद्धि गर्ने प्रयासको निरन्तरतामा साकोस क्षेत्रका अनुभव आदान प्रदानका साथै नयाँ अभ्यासहरूको जानकारी प्रदान गर्न गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
गोष्ठीको मूल नारा
सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन । “Regulatory alignment and strategic elevation to ensure integrated movement.”
गोष्ठीको औचित्यः
- सहकारी सञ्जाललाई एकीकृत र मजबुत बनाउने आवश्यकता पूरा गर्न।
- साकोस सञ्चालनमा देखिएका जोखिम र चुनौती समाधान गर्न रणनीतिक दिशा–निर्देश प्रदान गर्न।
- नियमन र निरीक्षण प्रणालीलाई नयाँ कानुनी व्यवस्थासँग अनुकूल बनाउँदै दिगो सुशासन सुनिश्चित गर्न।
- विषयविज्ञामार्फत अन्तर्राष्ट्रिय तथा राष्ट्रिय असल अभ्यासहरू सहकारी व्यवहारमा लागू गर्न।
- सहकारी नेतृत्व र प्राविधिक जनशक्तिमा आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न।
दुइ दिनमा ६ वटा सत्रमा शिखर गोष्ठीमा छलफल हुनेछ।
|
सत्र |
समय |
विषयवस्तु |
|
सामूहिक सत्र–१ |
बिहान ९ः०० |
नियामकीय मार्गचित्र: साकोसको दिगो संस्थागत रूपान्तरणका चुनौती र अवसर |
|
सामूहिक सत्र–२ |
बिहान ११ः०० |
सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना |
|
सामूहिक सत्र–३ |
दिउँसो १३ः०० |
Shifting leadership for rekindling cooperative values and principles |
|
सामूहिक सत्र–४ |
दिउँसो १४ः४५ |
वित्तीय सहकारीको स्वनियामक अभ्यास: चुनौती तथा आगामी मार्गचित्र, विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना |
|
उत्प्रेरणा सत्र |
दिउँसो १६ः१५ |
प्रेरणादायी (Motivational) सत्र |
|
सामूहिक सत्र–५ |
बिहान ८ः३० |
वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा |
|
सामूहिक सत्र–६ |
बिहान १०ः३० |
वित्तीय सहकारीमा स्रोत परिचालन: वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा |
शिखर गोष्ठीबाट प्राप्त हुनसक्ने उपलब्धीको अपेक्षा गरिएको छः
- सहकारी नियमन र सञ्चालनका प्राविधिक पक्षमा स्पष्टता प्राप्त हुनेछ।
- कानुनी संहिता र सम्पत्ति शुद्धिकरण सम्बन्धी दायित्वबारे गहिरो बुझाइ विकास हुनेछ।
- इजाजतमा आधारित कारोबार र एकीकृत नियमनमा आवश्यक संस्थागत समायोजनका मार्ग पहिचान हुनेछन्।
- स्वनियमनका अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अवलोकन र उपयोगका सम्भावना चर्चा हुनेछ।
- बचत तथा ऋण सहकारीहरूको स्तरीय सञ्चालनका राष्ट्रिय मानकहरू पहिचान र निर्धारण हुनेछ।
- आर्थिक कारोबार, लगानी सन्तुलन र दिगो वित्तीय क्षमताका रणनीतिमा सहमति बन्नेछ।