उदासीनतालाई छोडेर ,निस्कृयतालाई तोडेर क्रान्तिकारी जिम्मेवारी पूरा गर्ने वेला हो यो, यदि हामी साँच्चिकै क्रान्ति चाहन्छौं, मुक्ति चाहन्छौं भने, आजको यो पहल ठूलो क्रान्तिको प्रारम्भ हो। यसप्रति उदासीन रहनु, बेवास्ता गर्नु भनेको क्रान्ति र वर्गसंघर्षप्रतिको हाम्रो क्रान्तिकारी नैतिकता र चरित्रको विरुद्ध जानु हो। यो जिम्मेवारीबोध गर्न नसक्नु हो।

मार्क्सवाद कुनै अमूर्त दर्शन, भावुक नाराबाजी वा ठूल्ठूला गफमा अडिएको सिद्धान्त होइन। यो जीवन, समाज र इतिहासलाई बुझ्ने वैज्ञानिक विधि हो। समाज किन यस्तो छ, कसले कसलाई शोषण गरिरहेको छ, उत्पीडनको जड कहाँ छ, र त्यो जडलाई कसरी उखेल्न सकिन्छ,यी सबै प्रश्नहरूको वैज्ञानिक उत्तर मार्क्सवादले दिन्छ। त्यसैले मार्क्सवादलाई बुझ्नु भनेको केवल किताब पढ्नु वा सिद्धान्त कण्ठ गर्नु मात्र होइन; यो उत्पीडित वर्गको हातमा पुग्दा क्रियाशील हतियार बन्छ, जसले समाज परिवर्तन गर्न सक्ने क्रान्तिकारी चेतना पैदा गर्छ।
जब यही चेतनाले उत्पीडित किसान-मजदुर वर्गलाई सुसज्जित बनाउँछ, तब क्रान्तिलाई दुनियाँको कुनै शक्तिले रोक्न सक्दैन। त्यो शक्ति केवल सङ्ख्यामा ठूलो हुँदैन, विचारमा दृढ, लक्ष्यमा स्पष्ट र युगअनुकूल उच्च प्रकारको वर्गसंघर्ष लड्न सक्षम हुन्छ।
लेनिन भन्नू हुन्छ-मार्क्सवादको आत्मा नै “ठोस परिस्थितिको ठोस विश्लेषण” हो। नेपालको आजको वस्तुगत परिस्थितिलाई हेर्दा सामन्ती अवशेष, नोकरशाही पुँजीवाद, दलाल पूँजी र साम्राज्यवादको संयुक्त प्रभुत्व कायम छ। राजनीतिक रूपमा संसदीय भ्रम फैलाइएको छ, आर्थिक रूपमा किसान–मजदुर अझै ऋण, भूमि समस्या, बेरोजगारी र असुरक्षामा जकडिएका छन्, र वैचारिक रूपमा सुधारवाद र अवसरवादले वर्गसंघर्षलाई कुहिरो मुस्ली अन्धकारमा पार्ने प्रयास गरिरहेको छ।
यस्तो परिस्थितिमा नेपालको क्रान्तिको कार्यभार स्पष्ट छ,नयाँ जनवादी क्रान्तिका अधुरा कार्यभार पूरा गर्दै समाजवादी क्रान्तितर्फ अघि बढ्नु। यो कुनै एकैपटक हुने छलाङ मात्र होइन, सचेत तयारी, संगठन, वर्गसंघर्षको निरन्तरता र सही कार्यदिशाको परिणाम हो। क्रान्तिको कार्यदिशावारे विचार गर्दा , बिद्रोहात्मक र जनआधारित सशस्त्र संयुक्त जनबिद्रोको कार्यदिशा तय गर्नुपर्ने देखिन्छ। विश्वका विभिन्न देशहरूमा क्रान्तिका मोडेलहरू आ–आफ्नै परिस्थितिअनुसार प्रयोग भएका छन्। त्यसैले कुनै एक देशको मोडेल जस्ताको तस्तै नक्कल गर्नु मार्क्सवाद होइन, अवसरवाद हो। नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली जनताको चेतनास्तर, उत्पीडित वर्गको मनोविज्ञान र ऐतिहासिक अनुभवलाई आधार मान्दा यहाँको संघर्षको कार्यदिशा बिद्रोहात्मक-जनआधारित सशस्त्र संयुक्त जनबिद्रोको वर्गसंघर्षमा आधारित हुनुपर्छ।
हाम्रो अगाडि प्रमुख दुश्मन एकातिर शक्तिशाली देखिन्छ, तर त्यो शक्ति आफैंभित्रका गहिरा अन्तर्विरोधले कमजोर बन्दै गएको छ। आर्थिक संकट, राजनीतिक अस्थिरता र जनआक्रोशले शासक वर्गको जग हल्लिरहेको छ। यद्यपि त्यो दुश्मनले सबैभन्दा खतरनाक हतियारका रूपमा सुधारवाद र दक्षिणपन्थी अवसरवादलाई प्रयोग गर्दै आएको छ। सुधारवाद : वर्गसंघर्ष भित्र अन्तर्निहित मौन शत्रु नै हो। इतिहासले देखाएको छ,क्रान्तिलाई सिधै गोलीले र दमनले भन्दा बढी, सुधारवादले कमजोर बनाएको छ। सुधारवादले क्रान्तिको नाम लिन्छ, तर वर्गसंघर्षबाट भाग्छ। यसले उत्पीडित वर्गलाई चुनावी भ्रम, सत्ताको सपना र “क्रमिक सुधार”को जालमा फसाउँछ,बुर्जुवा लोकतान्त्र,समाबेशी ,सघियता र जातिय मुक्तिको कुरा मात्र गर्छ। दक्षिणपन्थी अवसरवादले आन्दोलनभित्रै बसेर क्रान्तिको धारलाइ भुत्ते बनाउछ र कुहिरोको काग बनाउँछ, लक्ष्यलाई अस्पष्ट पार्छ र अन्ततः शासक वर्गको सेवक बन्छ।
यसकारण, सुधारवाद र दक्षिणपन्थी अवसरवादविरुद्धको संघर्ष कुनै गौण प्रश्न होइन; यो क्रान्तिको सफलता वा असफलताको निर्णायक प्रश्न हो। यसको विरुद्ध सफलता हासिल गर्ने एकमात्र हतियार भनेको-सुदृढ मार्क्सवादी वैचारिक हतियार हो।
मार्क्सवादमाथिको हमला आजको नेपाल र बिश्वकै उत्पीडित सर्वहारा वर्गमाथिको हमला हो। आज विश्वव्यापी रूपमा र नेपालमा पनि उत्पीडित वर्गको मुक्तिको अजय मार्ग मार्क्सवादमाथि हमला भइरहेको छ। कहिले “अप्रासंगिक” भनिन्छ, कहिले “असफल प्रयोग” भनेर बदनाम गरिन्छ। यो हमला संयोग होइन; यो शासक वर्गको डरको अभिव्यक्ति हो। यो दुश्मनवर्गको पक्षमा गरिने काम हो।
यस्तो बेला मार्क्सवादीहरू पछाडि हट्ने होइन, अझ दृढ भएर अगाडि बढ्नुपर्छ। विचारको रक्षा मात्र भाषणबाट होइन, व्यवहारिक वर्गसंघर्षबाट हुन्छ। यदि हामीसँग आँट, साहस र वैचारिक दृढता छ भने जनवादी–समाजवादी क्रान्ति कुनै टाढाको सपना होइन, सुधारवादी–दक्षिणपन्थीहरूले देखाएजस्तो “असम्भव” पनि होइन। हाम्रो भरोसाको केन्द्र उत्पीडित किसान–मजदुरवर्ग नै हुन। हामीले आन्दोलनको भरोसा बुर्जुवा, सुधारवादी, बुर्जुवा बुद्धिजीवी वा दक्षिणपन्थी अवसरवादीहरूसँग गर्नु हुँदैन। इतिहासले प्रमाणित गरिसकेको छ कि उनीहरू संकटको घडीमा सधैं वर्गदुश्मनतिर ढल्किन्छन्। हाम्रो बलियो आधार बन्यो र क्रान्ती अघि बढ्यो भने क्रान्ती तिर ढल्किन्छन,यो ढुलमुल वर्गहो ,क्रान्तिको मित्र शक्ति हो। तर भरोसाको केन्द्र भनेको उत्पीडित–शोषित किसान–मजदुर वर्ग नै हुन। उनीहरू नै क्रान्तिका सच्चा वाहक हुन्, उनीहरू नै हाम्रो विश्वासिला र भरपर्दा साथीहरू हुन्।
त्यसकारण “नेपाल कम्युनिस्ट पार्टी, किसानसङ्ग” राष्ट्रिय अभियानको ऐतिहासिक महत्त्व छ। यही सन्दर्भमा “नेपाल कम्युनिस्ट पार्टी, किसानसङ्ग” राष्ट्रिय अभियान एउटा संगठनात्मक कार्यक्रम मात्र ,प्रचारात्मक कार्यक्रम मात्र होइन। यो क्रान्तिकारी साथीहरूलाई खोज्ने, जोड्ने र आधार बनाउने ऐतिहासिक अभियान हो। यो क्रान्तिको तयारीको महाउत्सव हो। यो सुधारवाद–दक्षिणपन्थी अवसरवादमाथिको वैचारिक र राजनीतिक हमला हो र मुख्य दुश्मनप्रति स्पष्ट चेतावनी पनि हो। २०८२ पौष ११ गते १३२औँ माओदिवसको अवसरमा नेपाली क्रान्तिका मेरुदण्ड किसान वर्गको राष्ट्रिय भेला सम्पन्न गर्नु भनेको माओका योगदानहरुकोसार र मर्मलाई व्यवहारमा उतार्ने प्रयास हो। यो मात्र स्मृति कार्यक्रम होइन; यो क्रान्तिको तयारी हो।
निष्कर्ष :
उदासीनतालाई छोडेर ,निस्कृयतालाइ तोडेर क्रान्तिकारी जिम्मेवारी पूरा गर्ने वेला हो यो, यदि हामी साँच्चिकै क्रान्ति चाहन्छौं, मुक्ति चाहन्छौं भने, आजको यो पहल ठूलो क्रान्तिको प्रारम्भ हो। यसप्रति उदासीन रहनु, बेवास्ता गर्नु भनेको क्रान्ति र वर्गसंघर्षप्रतिको हाम्रो क्रान्तिकारी नैतिकता र चरित्रको विरुद्ध जानु हो। यो जिम्मेवारीबोध गर्न नसक्नु हो।
इतिहासले हामीलाई एउटा प्रश्न सोधिरहेको छ,“ तपाई कुन पक्षमा उभिनु हुन्छ?”
उत्तर स्पष्ट हुनुपर्छ-उत्पीडित वर्गको पक्षमा, मार्क्सवादको पक्षमा, क्रान्तिको पक्षमा। यदी हामीले यो स्पष्टताका साथ वर्ग पक्षधरता लिन सकेनौ भने हामी आफैले क्रान्ति र परिवर्तनको बिषयलाइ टाढाको कठिन बिषय बनाइरहेका हुने छौ।त्यसैले एक पटक हामीले जो क्रान्ति र परिवर्तनको पक्षना लागेका छौ ,आफैलाइ गम्भीर प्रश्न सोध्ने ,आत्मसमिक्षा गर्ने र अघि वढ्ने महत्त्वपूर्ण क्षण हो अवसर पनि हो।
लक्ष्मण उप्रेती