काठमाण्डाै । नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसँग सम्बन्धित भिसा प्रक्रियामा पुनः सहजता ल्याएको छ। नेपालमा पछिल्लो समय शान्ति–सुरक्षा अवस्था सामान्य बन्दै गएको सन्देश अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक रूपमा पुगेपछि युएई सरकारले नेपालीका लागि श्रमिक भिसा प्रक्रिया खुकुलो बनाएको हो।
यसअघि ‘जेनजी आन्दोलन’पछि नेपालमा देखिएको असुरक्षालाई औंल्याउँदै युएईले भ्रमण भिसा औपचारिक रूपमा रोकेको थियो। त्यसपछि कामदार (श्रमिक) भिसा पनि अनौपचारिक रूपमा रोकिएको थियो। युएईको यस निर्णयले म्यानपावर व्यवसायी र वैदेशिक रोजगारीको तयारीमा रहेका हजारौँ बेरोजगार युवालाई प्रत्यक्ष असर परेको थियो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङका अनुसार नेपाल सरकारको आग्रहपछि युएईले पुनः श्रमिक लगायत अन्य भिसा प्रक्रियामा लचकता देखाउन सुरु गरेको हो। नेपालको आन्तरिक स्थिति सामान्य बन्दै गएको पुष्टि भएपछि युएईले रोकिएका प्रक्रियाहरू खुलाउन थालेको उनको भनाइ छ।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार हाल नेपालीले युएई भिसा पाउन कुनै समस्या छैन। केवल युएई मात्र होइन, अन्य श्रम गन्तव्य मुलुकहरूले पनि अनौपचारिक रूपमा नेपालका लागि भिसा प्रक्रियामा सहजता देखाउन थालेका छन्।
तथ्याङ्कले पनि युएई नेपाली कामदारको पहिलो रोजाइ रहेको देखाउँछ। नेपालबाट दैनिक औसत ७५२ जना कामदार युएई पुग्ने गरेका छन्। आर्थिक वर्ष २०७७/७८ मा ४० हजार ४७७ जनाले श्रम स्वीकृति लिएर युएई गएका थिए भने २०७८/७९ मा एक लाख २२ हजार, २०७९/८० मा एक लाख १६ हजार, २०८०/८१ मा एक लाख ९३ हजार र २०८१/८२ मा दुई लाख ७४ हजारले त्यहाँ रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए।
चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो चार महिना (साउन–कात्तिक) मै ८० हजार ९०१ जनाले अन्तिम श्रम स्वीकृति लिइसकेका छन्। युएई जानेमध्ये करिब ९० प्रतिशत श्रमिक संस्थागत प्रक्रियामार्फत नै जाने गरेका छन्।