भूमिका
 
नेपाल कम्युनिस्ट पार्टीको मूल रणनीतिक कार्यदिशा,नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै समाजवाद निर्माण गर्ने बिषयमा किसान वर्गको भूमिका प्रमुख, निर्णायक र ऐतिहासिक छ। देशको सामाजिक–आर्थिक संरचनामा किसानहरू नै सबैभन्दा ठूलो उत्पादनको शक्ति भएकाले कृषक वर्गको मुक्ति बिना कुनै राजनीतिक, आर्थिक वा सामाजिक क्रान्ति पूर्ण हुन सक्दैन। यही वैज्ञानिक सत्यलाई केन्द्रमा राख्दै पार्टीको निर्देशनअनुसार “ नेपाल कम्युनिस्ट पार्टी किसानसङ्ग " राष्ट्रिय अभियान सञ्चालन गरिएको छ,देशका विभिन्न भागमा पार्टीका नेता-कार्यकर्ता पुगिरहनु भएको छ। १३२औँ माओ दिवसको अवसरमा २०८२ पौष ११ गते आयोजित राष्ट्रिय किसान भेला सम्पूर्ण श्रमजीवी किसान शक्तिको एकीकृत अभिव्यक्ति र क्रान्तिकारी अभियानको उचाइ हो।
 
RD,RAJAN, LU.jpg
 
१. नेपालको कृषि संरचना र उत्पादन सम्बन्धको वर्ग चरित्र:-
 
१.१ सामन्तवाद र मध्यकालिन जमिनदारी प्रथा आज रूपान्तरण भइ नेपालको कृषि संरचना सामन्ती अवशेष, दलाल–कमिसनखोर, बिचौलिया, सरकारी संयन्त्रको दमन र विदेशी वित्तीय संस्थाहरूको नियन्त्रणबाट प्रभावित छ।
जमिनको स्वामित्व अल्पसंख्यक वर्गमा केन्द्रीकृत भएको छ। उत्पादन गर्ने किसानसँग न जमिन छ, न मूल्य निर्धारणको अधिकार।ठेकेदार, व्यापारी, बैंक–वित्तीय शक्तिहरूले उत्पादन–वितरण–मूल्यका सबै क्षेत्रहरु आफ्नो नियन्त्रणमा राखेका छन्।
 
१.२ पूँजीवादी–साम्राज्यवादी प्रभाव :-
 
नेपालको कृषि बजार आज विदेशी कम्पनीका बीउ, मल, रसायन, औजार र वित्तीय नीतिप्रति पूर्ण निर्भर छ। विश्व बैंक, ADB, USAID, FAO आदि निकायले नेपाली कृषि नीतिलाई “बजारीकरण–निजीकरण–आयात–निर्भरता” को दिशामा धकेलेका छन् किसानलाई उपभोक्ता बनाउने र राष्ट्रिय उत्पादनलाई नष्ट गर्ने नीति लागू गरिएको छ।
 
BaraKisan.jpg
 
१.३ माइक्रो–फाइनान्स, मिटर–व्याज र ऋण–शोषणको चक्र:-
 
किसान वर्गलाइ आज वित्तीय जालोमा फसाइएको छ, महँगो ब्याज, जमानत, अवैध करार, धम्की र दलाल प्रणालीको चक्र्ब्युहमा पारिएको छ। ऋण तिर्न नसक्दा लाखौँ किसानले जमिन बन्धक राखेका छन् र जमिन बिहिन हुँदै गैरहेका छ्न। ऋण–ठगी र जबरजस्ती असुलीकरणले नयाँ प्रकारको आर्थिक नवसामन्तवाद जन्माएकोछ।
 
२. किसान वर्गको वर्तमान अवस्था : अन्तर्विरोध र प्रतिरोध:-
 
२.१ उत्पादनको शोषण, किसानको श्रम, समय र सीपबाट उत्पादन हुने सम्पूर्ण मूल्य बिचौलिया–व्यापारी र वित्तीय पूँजीले कब्जा गरिरहेको छ। किसानले खेतमा पसिना बगाउँछन्, तर मूल्य निर्धारण बजारले गर्छ; किसानले जोखिम उठाउँछन्, तर नाफा दलालले पाउँछन्।
 
Rautahatkisan.jpg
 
२.२ प्राकृतिक सम्पदामा किसानको बञ्चितीकरण:-
साझा जलाधार, वनजंगल, जडिबुटी, सामुदायिक जमिन,यी सबैमा निजीकरणको अत्यधिक प्रभाव छ, निजीकरण हुँदै गएको छ। प्राकृतिक स्रोतमा किसानको अधिकार खोसिएको छ, जबकि शताब्दीदेखि संरक्षण गर्ने उनीहरूनै हुन्।
 
२.३ राजनैतिक संरक्षणमा चल्ने कृषि शोषण:-
किस्ताबन्दी ऋण, सरकारी भ्रष्टाचार, अनुदान वितरणमा दलाली, सहकारी ठगी,यी सबै प्रत्यक्ष राज्य–समर्थित शोषणका रूप हुन्।
 
३. पार्टीको मूल्यांकन : कृषि प्रश्न क्रान्तिको केन्द्रीय प्रश्न:-
नेपाल कम्युनिस्ट पार्टीको दृष्टिमा किसानको प्रश्न केवल कृषि विकासको मुद्दा मात्र होइन,यो राजनीतिक सत्ता र उत्पादनको स्वामित्वसँग जोडिएको केंद्रीय क्रान्तिकारी प्रश्न हो।
 
३.१ किन किसानको प्रश्न ऐतिहासिक र निर्णायक छ?
उत्पादन साधन (जमिन, पानी, जंगल) किसानसँग जोडिएको छ। किसान वर्ग हाम्रो देशको जनसंख्याको व्यापक र ठुलो हिस्सा हो। किसानहरु नै नयाँ जनवादी राज्य निर्माणको आधारभूत शक्ति हुन्। किसान जागरण र संगठित बिना वर्गसत्ता परिवर्तन सम्भव छैन।
 
३.२ माओवादी जनयुद्धमा किसान वर्गको भूमिका:-
इतिहासले प्रमाणित गरिसकेको छ, क्रान्तिको प्रारम्भ, विस्तार, जनप्रतिनिधि शासन, सबैमा किसान अग्रपंक्तिमा थिए। आज पनि क्रान्तिको वैचारिक, सङ्गठनात्मक र भौगोलिक आधार किसानमै निहित छ।
 
४. पार्टीद्वारा सञ्चालन गरिएको “राष्ट्रिय किसान अभियान” : उद्देश्य र स्वरूप :-
 
४.१ अभियानको केन्द्रीय उद्देश्य
क) किसान वर्गलाई राजनीतिक रुपमा सचेत र सङ्गठित बनाउँदै वर्गिय दृष्टिकोण निर्माण गर्दै वर्गसंघर्षमा रुपान्तरण गर्नु।
ख) ऋण–ठगीको पूर्ण उन्मूलन र किसान–कर्जामुक्त समाज निर्माण।
ग) जमिन, जल, जंगल, जडिबुटीमा किसानको सामूहिक स्वामित्व स्थापनाकोलागि संघर्ष गर्नु।
घ) वित्तीय साम्राज्यवादद्वारा गरिएको कृषि कब्जाको अन्त्य गर्नु।
ङ) राष्ट्रिय आत्मनिर्भर कृषि अर्थतन्त्रको निर्माण गर्नु।
च) क्रान्तिकारी किसान आन्दोलनलाई नयाँ जनवादी क्रान्तिको अग्रमोर्चा बनाउन।
 
४.२ अभियानको राजनीतिक स्वरूप:-
यो सामान्य अभियानको कार्यक्रम मात्र होइन, यो क्रान्तिकारी राजनैतिक अभियान हो। किसानलाई राज्य–सत्ता, वित्तीय–साम्राज्यवाद, सामन्तवाद र दलाल वर्गविरुद्ध सङ्गठित गर्ने ,जागरुक बनाउने र प्रतिरोधमा उतार्ने अभियान हो।
 
५. मुख्य नारा र तिनको वैज्ञानिक आधार;-
५.१ ) “ सबै प्रकारका ऋण–ठगी र शोषणबाट किसानलाई मुक्त गरौँ!”
किसानको उत्पादन–श्रमको मूल्य उनैको हातमा नपुगुन्जेल किसान स्वतन्त्र हुन सक्दैन। ऋणवाट किसानलाइ मुक्त नगरी कृषि क्रान्ति सम्भव छैन।
Rupandehikisan.jpeg
 
५.२ “ जमिन, जल, जंगल र जडिबुटीमाथि किसानको साझा स्वामित्व कायम गरौँ!”
यी प्राकृतिक स्रोतहरूको समुचित उपयोगले मात्र राष्ट्रिय अर्थतन्त्र आत्मनिर्भर हुन्छ। निजीकरण र विदेशीकरणले किसानलाई विस्थापित गर्छ।
 
५.३“ वित्तीय साम्राज्यवादी हस्तक्षेपबाट नेपाली कृषि र किसानको रक्षा गरौँ!”
कृषि नीतिमा विश्व बैंक, IMF, USAID आदि निकायहरूको नियन्त्रण अन्त्य गर्नु आजको मुख्य आवश्यकता हो।
यो नियन्त्रण हटेपछि मात्र देशको राष्ट्रिय नीतिले किसानका हितमा काम गर्न सक्छ।
 
५.४ “कृषि क्रान्तिसँगै नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादमा अघि बढौँ!”
कृषि क्रान्ति नयाँ जनवादी क्रान्तिको आर्थिक आधार हो, नयाँ जनवादी क्रान्ति समाजवादको राजनीतिक आधार हो,
समाजवाद वैज्ञानिक मानवमुक्तिको ऐतिहासिक गन्तव्य हो।
 
६. पार्टीको कार्यदिशा : किसान आन्दोलनको क्रान्तिकारी कार्यनीति
 
६.१ सङ्गठन निर्माण:-
क) गाउँ–गाउँमा किसान कमिटी, सहकारी–कम्युन कायम गर्ने।
ख) उत्पीडित, भूमिहीन, कर्जामा रहेका किसानलाई अग्रपंक्तिमा ल्याउने।
ग) आन्दोलन, शिक्षण–प्रशिक्षण, नियमितअध्ययन- अध्यापन , सचेतना-जागरण कार्यक्रम सञ्चालन गर्ने।
 
६.२ उत्पादन आन्दोलन:-
सामूहिक खेती, सहकारी स्वामित्व, स्थानीय बीउ–बिजन पुनर्जीवित गर्ने। रासायनिक निर्भरतालाई घटाउँदै जैविक, वैज्ञानिक र वैकल्पिक कृषिको विकास गर्ने।
 
६.३ प्रतिरोध आन्दोलन:-
ऋण–ठगीविरुद्ध जनप्रतिरोध गर्ने, निजीकरण–जल–जंगल जमिन कब्जाविरुद्ध प्रतिरोध गर्ने। मूल्य नियन्त्रण र सरकारी भ्रष्टाचारविरुद्ध सामूहिक विरोधहरु गर्ने।
Kapilwastukisangaira.jpg
 
७. निष्कर्ष :
किसान क्रान्तिबिना राष्ट्रिय मुक्ति र वैज्ञानिक समाजवाद असम्भव छ। नेपालका सबै वर्गीय अन्तर्विरोधहरूको केन्द्र किसान शोषण हो। त्यसैले किसानको मुक्तिबिना,राष्ट्रिय स्वाधीनता,आर्थिक आत्मनिर्भरता,नयाँ जनवादी क्रान्ति, र वैज्ञानिक समाजवाद
कुनै पनि पूरा हुन सक्दैन।
 
"नेपाल कम्युनिष्ट पार्टी किसानसङ्ग " राष्ट्रिय अभियान यही ऐतिहासिक सत्यलाई व्यवहारिक रूपमा लागु गर्ने केन्द्रिय कार्यक्रम हो।
 
त्यसैले,
सम्पूर्ण उत्पीडित श्रमजीवी किसानहरू एकजुट होऔ!
१३२औँ माओ दिवसको अबसरमा राष्ट्रिय किसान भेला सफल पारौँ!!
कृषि क्रान्तिद्वारा नयाँ जनवादी क्रान्ति सफल पारौँ!
वैज्ञानिक समाजवादतर्फ दृढतापूर्वक अगाडि बढौँ!!