बुधबार, भाद्र ३ गते २०८३

“गाईभैंसी सरह सहकारी संस्था किनबेच हुनु गलत” : प्रधानाङ्ग

कार्तिक २५, २०७८ बिहीबार
“गाईभैंसी सरह सहकारी संस्था किनबेच हुनु गलत” : प्रधानाङ्ग

 

सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले गाईभैंसी सरह अहिले बजारमा सहकारी संस्था किनबेच भइराखेको भन्दै त्यसतर्फ असन्तुष्टि व्यक्त गरेका छन् । भक्तपुर जिल्ला बचत संघको १७औं वार्षिक साधारणसभाको विशिष्ट अतिथिको रुपमा बोल्दै उनले अहिले २०/३० लाख रुपैया लिएर संस्था दर्ता र किन्नेबेच्ने गतिविधि मौलाएको भन्दै आपत्ति प्रकट गरेका हुन् । 

सहकारी समुदायमा आधारित संस्था भएको र यसले सदस्यहरुको हितका लागि काम गर्छ, गाईभैंसी जस्तै गरी किनबेच भएपछि त्यसबाट समुदायको के हित हुनसक्छ ? उनले प्रश्न गरे । सिभिल र ओरेण्टल जस्ता संस्थालाई कारवाही गर्न सहकारी विभाग, केन्द्रिय संघ र महासंघले पहल गरेनन् भने आउने दिनमा यस्ता विकृति दोहोरिने समेत उनले चेतावनी दिए । भक्तपुरमा जिल्ला सहकारी संघको अगुवाईमा २०७७ कार्तिक १ गतेपछि जिल्लामा दर्ता भएका कुनै पनि संस्थालाई संघको सदस्यता नदिने र बाहिर दर्ता भएका संस्थाको सेवा केन्द्र खोल्न समेत नदिने निर्णय भएको उनले सुनाए । 

“पैसा र सदस्य धेरै हुँदैमा सहकारी हुँदैन सहकारीका ७ वटै सिद्धान्त कार्यान्वयन भयो भने मात्र सहकारी हुन्छ,” उनले भने, ‘सहकारीको काम गरिबी निवारण गर्नु हो ।” तर ऐनमा धेरैवटा कोषको व्यवस्था भएपनि गरिबी निवारण कोष भने छैन । अभियानले यो कुरा नीति निर्मातालाई बुझाउन सकेन ।” 

आफु नेफ्स्कुनको विरोधी नभएपनि नेफ्स्कुनलाई कुनै पार्टी विशेषको भातृ संगठनको रुपमा विकास गरेकाले आफुले आगामी साधारणसभा बहिष्कार गर्ने उनले जनाए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतले मुलुक संघीयतामा गएसँगै स्थानीय प्रदेश र संघले छुट्टाछुट्टै ऐन र नियमावली बनाएको र त्यसको अन्यौलताभित्र सहकारी क्षेत्र चल्न बाध्य भएको उनले बताए । 

“संघको कानुनलाई मिचेर प्रदेश संघले कानुन बनाएको छ,” उनले थपे, “अहिले सांसदहरु नै नयाँ सहकारी दर्ता गर्न दौडधूप गरिरहेका छन् ।” अभियानलाई बलियो बनाउन नयाँ दर्ता भन्दा पनि एकिकरण नै अहिलेको आवश्यकता भएको उनको भनाई छ । फेडरेशनको नेटवर्कभित्र नआउने सबै संस्था धराशायी हुने भन्दै उनले सरकारको गलत संरक्षणकै कारण सिभिल जस्ता सहकारी डुबेको बताए । 

“बचतऋण सहकारीको अनुगमन नेफ्स्कुन र बचत संघले गर्नु पर्ने, अनुगमनसँग डराउनेले सहकारी नचलाए पनि हुन्छ,” उनले भने “सरकारलाई कडा अनुगमनका लागि अभियानबाटै माग हुँदा समेत सुनुवाइ हुन नसकेको उनको तर्क छ ।” हरेक देशमा सेन्ट्रल बैंकले वित्तीय कारोबार गर्ने संस्थाहरुको अनुगमन गर्ने प्रचलन रहेपनि नेपालमा भने अनुगमनका लागि हारगुहार गर्दा समेत जनशक्ति अभाव र कानुनले नमिल्ने भन्दै राष्ट्र बैंक पन्छिनु गलत भएको उनको तर्क छ । 

त्यसैगरी कार्यक्रमम नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले सहकारीका नाममा सदस्यहरुमाथि भइरहेको शोषणको अन्त्य गर्नुपर्ने बताउँदै । सहकारी अभियन्ताहरुको जीवनशैली, आचरण र व्यवहार कस्तो,   त्यसको समेत विश्लेषण गर्नुपर्ने बेला आएको उनले बताए । 

प्रदेशहरु स्वायत्त ढंगले अगाडि बढेको, केन्द्रको कानुनलाई मिचेर प्रदेश कानुन बनेको र माननीयहरु स्वयं नै संस्था दर्तामा लागिपरेको भन्दै उनले अभियान र राज्य मिलेर विकृतिको अन्त्य गर्नुपर्ने बताए । 

कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काले राज्यले सहकारीलाई नाफा कमाउने संस्थाको रुपमा मात्र हेरेको र कसरी बढी कर लिन सकिन्छ भनेर सोचेको आरोप लगाए । “बागमती प्रदेश सरकारले ३ महिनाको अवधिमा २०० संस्था दर्ता गरेको पाइएको छ, भक्तपुरमा मात्रै ५० भन्दा बढी संस्था खुलेका छन् । संस्था दर्ताका लागि स्थानीय तह र जिल्ला संघको शिफारिष चाहिने कानुनी व्यवस्था छ तर त्यसलाई नै कानुन बनाउनेहरुले नै पालन गरेका छैनन्, खड्काले थपे, “स्थानीय तह र जिल्ला संघको सहमति बिना कागज मिलाएर संस्थाहरु दर्ता दिइएको पाइयो । ”

एकातिर बहुउद्देश्यीय संस्थालाई ७०/३० को थ्रेसहोल्ड लगाइएको छ, अर्कोतिर नयाँ संस्था दर्ता दिइन्छ, मर्जरको पनि त्यत्तिकै चर्चा छ । यसले अभियानलाई कता लैजाला ? उनले प्रश्न गरे । नयाँ सहकारीले बचतमा नै १५ १६ प्रतिशत ब्याज दिने गरेका छन् भन्दै उनले बचतमा ब्याज त पाउनुहोला, तर साँवा फिर्ता पाउने सम्भावना कम रहन्छ त्यसतर्फ समेत सदस्यहरु सचेत रहनुहोला । ओरेन्टलले मात्रै भक्तपुरको ९० करोड पैसा ठगेको भन्दै बजारमा आएका र बढी ब्याज दिने संस्थाले पनि नठग्लान भन्न सकिन्न । 

बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटाले प्रदेशभित्र देखिएका समस्या समाधान गर्न राज्यसँग पहल र समन्वय गर्दै आएको बताए । सहकारीमा देखिएका विकृतिका विषयमा प्रोस्कुनले लिखित रुपमा जानकारी गराएको भएपनि सरकार हेरफेरका कारण कार्यान्वयनमा चुनौति रहेको उल्लेख गरे । अहिले सहकारीहरुले कार्यक्षेत्रभन्दा बाहिरको जग्गा धितो राखेर ऋण लगानी गर्न नपाउने व्यवस्था रहेको र आफुहरुले प्रदेशभित्रका १३ जिल्लाको जग्गा धितो राखेर समेत ऋण लगानी गर्न पाउने माग गर्दै आएको उनले जनाए । समुदायमा आधारित संस्थाले भन्दापनि केहि व्यापारिक प्रकारका संस्थाले गर्दा समस्या आएकाले सबैपक्ष मिलेर विकृति अन्त्य गर्न तर्फ लाग्नुपर्नेमा उनको जोड थियो । 

भक्तपुर जिल्ला बचत संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सभामा मन्तब्य राख्दै नेफ्स्कुन र महासंघले समुदायमा आधारित संस्थामा मात्रै कारोबार गर्नुपर्छ भन्ने अभियान चलाउनुपर्ने बताए । नाफा र स्वार्थका लागि काम गर्ने संस्थाहरुलाई निरुत्साहित पार्न संघहरुको भूमिका मुख्य रहेको उनको भनाई थियो ।