बुधबार, भाद्र ३ गते २०८३

३८ सहकारीको रकम फिर्ता नदिएपछि प्रभु रेमिट्यान्स र म्यानेजमेन्टविरूद्ध ठगी मुद्दा


मंसिर १८, २०८२ बिहीबार
३८ सहकारीको रकम फिर्ता नदिएपछि प्रभु रेमिट्यान्स र म्यानेजमेन्टविरूद्ध ठगी मुद्दा

देशभरका ३८ सहकारी संस्थामार्फत भएको रेमिट्यान्स कारोबार र धरौटी रकम भुक्तानी नगरेको आरोपमा प्रभु म्यानेजमेन्ट प्रालिका संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनसहित पाँच जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, आपराधिक विश्वासघात र हुन्डीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। सहकारी संस्थाहरूले प्रभु म्यानेजमेन्टमार्फत व्यक्तिलाई दिइएको भुक्तानी रकम तथा धरौटी फिर्ता नपाएको भन्दै दिएको जाहेरीका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो। मुद्दामा व्यक्तिगत तथा संस्थागत गरी सातजनालाई प्रतिवादी बनाएर प्रभु मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टलाई विपक्षीका रूपमा समावेश गरिएको छ।

अभियोगपत्र अनुसार प्रतिवादीहरूलाई तीनवटै कसुरमा समान रूपमा बिगो कायम गरिएको छ। भुक्तानी, धरौटी तथा सहकारीले भोगेको आर्थिक क्षतिलगायत कूल छ करोड ५२ लाख ५५ हजार ४२० रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको छ। ठगी तथा प्रभु मनी ट्रान्सफरमार्फत भएको अनियमिततामा पनि छुट्टाछुट्टै छ करोड ५२ लाख ५५ हजार ४२१ रुपैयाँ बिगो दाबी भएका छन्। यस्तै प्रभु म्यानेजमेन्टमार्फत रेमिटको नाममा भएको हुन्डी कारोबारमा छ करोड १० लाख ७ हजार १५० रुपैयाँ बिगो दाबी गरिएको छ। सरकारी पक्षले तीनवटै केसमा क्षतिपूर्ति तथा अपराधपीडित कोषमा रकम भराउन माग गरेको छ।

कानुनी रूपमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी साबित भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यस्तै नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत गरेको कसुरमा दफा ९५ र ९६ अनुसार बिगो जफतसहित तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको अभियोगपत्रमा उल्लेख छ। प्रतिवादीमध्ये रामबाबु प्रसाद जयसवाल र हेमकुमार महाजुलाई मुद्दासँगै अदालतमा पेश गरिएको छ भने भट्टचनसहित अन्यलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गरिएको छ।

यसैबीच, बैंकिङ कसुरसम्बन्धी अलग मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। राष्ट्र बैंकको प्रतिवेदनका आधारमा प्रभु बैंक तथा प्रभु म्यानेजमेन्ट समूहका पदाधिकारीमाथि जारी अनुसन्धानअन्तर्गत शाक्यलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ। यसअघि सिआइबीले कात्तिक २२ गते प्रभु बैंकको बिजुली बजारस्थित प्रमुख कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।