अहिले विश्वयुद्ध भइहाल्यो भने सातामा ११ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ; त्यसैले सङ्कट नगहिरिने गरी काम गर्न जरुरी छ; ताइवानको सन्दर्भमा सङ्कट गहिरिन्छ कि भन्ने भय छ मलाई....
: हेनरी किसिन्जर
: हेनरी किसिन्जर
शून्य र अन्धकार अवस्थामा चीन भ्रमण कसरी सुरू गरिएको थियो भन्ने बारे किसिञ्जरको एउटा निकै लामो तर ज्यादै रोचक लेख रिडर्स् डाईजेस्ट (प्रकाशित मिति बिर्सें) मा प्रकाशित भएको पढ्ने मौका मिलेको थियो। राष्ट्रपति रिचार्ड निक्सनले किसिन्जरलाई एक अपरान्ह अचानक फोन गरेर ह्वाईट हाउसको आफ्नो निजी पौडी पोखरीमा बोलाए । तर उनले आफूसँग पौरिने लुगा (swimming costume) नभएकोले आउन आनाकानी गरेपछि राष्ट्रपतिले नै एक सेट नयाँ स्विमिङ कस्ट्युम मसँग छ, आउनुस् भनेपछि त्यही पौडी पाेखरीमा मैले चीन भ्रमण गरेर राष्ट्रपतिको चीन भ्रमणको सम्भावना पहिल्याउन उहाँले आग्रह गरेको उनैले बताएका थिए ।

त्यसमा उनले चीनको सत्तामा पुग्ने बाटो नपाएर अल्मलिंदा एक स्पेनी लेखकले एक अस्ट्रेलियाली आदिवासी (एबओरिजिन) ले ती स्पेनी लेखकलाई दिएको ठाडो जवाफले आफूलाई प्रेरणा दिएको किसिञ्जरले उद्धृत गरेका छन्, O Traveller, there is no readymade path; paths are made by walking ! (ओइ यात्रु, बाटो बनिबनाउ हुँदैन, बाटाहरू हिंडेपछि बन्छन् !) ।
बुधवार, मंसिर १३ गते २०८० (२९ नोभेम्बर २०२३) मा यी चर्चित अमेरिकी कुटनीतिज्ञको कनेक्टिकट राज्यको केन्ट स्थित आफ्नै घरमा निधन भयो।
विश्वबारे किसिञ्जरको पछिल्लो विचारको एक अंश : "अहिले विश्वयुद्ध भइहाल्यो भने सातामा ११ करोड मानिसको मृत्यु हुने अनुमान गरिएको छ। त्यसैले सङ्कट नगहिरिने गरी काम गर्न जरुरी छ। ताइवानको सन्दर्भमा सङ्कट गहिरिन्छ कि भन्ने भय छ मलाई......" (बेलायती म्यागजिन दि इकोनोमिस्ट' सँग जुलाई २०२३ को अन्तरवार्ता 'हिमालखबर पत्रिका' बाट) ।

भनिन्छ, जर्मन उत्पत्तिका यहुदी किसिञ्जर अमेरिकी भूमीमै जन्मेका भए अमेरिकी राष्ट्रपति हुने प्रबल सम्भावना बोकेका थिए। यो पनि भनिन्छ, किसिञ्जरले जीवनमा आफ्नो जन्मभूमि जर्मनी कहिल्यै भ्रमण गरेनन्। किनकि उनलाई जर्मन प्रवेश निषिद्ध थियो।
किसिञ्जरले सय वर्षको उमेरमा साउन १ देखि ४ गते (२०८० मा) बेईजिङ्को ४ दिने भ्रमण गरे । अचम्म लाग्यो ! १०० वर्षको मान्छे (हेनरी किसिञ्जर) अमेरिकाबाट चीनसम्मको लामो हवाई यात्रा पूरा गरेर कसरी चीनको बेईजिङ् पुगे होलान् ! अर्को ताजुब लाग्ने कुरा उनको स्मरणशक्ति र वैचारिक शक्ति!
अमेरिका-चीन बीच सम्बन्धमा हिउँ थुप्रिएको र एक आपसमा निषेध र प्रतिबन्धको व्यवहार चलिरहेको अवस्थामा उनको यस भ्रमणलाई बेईजिङले "चीनका आत्मीय मित्र" को रुपमा उच्चसम्मान गर्यो । सायद यो नै उनको अन्तिम विदेश भ्रमण थियो । राष्ट्रपति सि जिन पिङ र विदेश विभाग प्रमुख वाङ यी सँग भेट गरे । हुन पनि, आज अमेरिकाभरि 'मेड इन चाईना' मालले चीन मालामाल हुने ढोका खोल्ने यिनै सतवार्षिक अमेरिकी पुरुष नै त हुन् !

किसिन्जर आफ्नो प्रभावको जल्दोबल्दो जमानामा नेपाल भ्रमणमा पनि आए । नेपाल भ्रमणमा आएको बेला उनको भाषण सुन्ने मौका पाईयो, २०४० माघ ४ गते, नेपाल विश्व सम्बन्ध परिषद् ले होटल शंकरमा आयोजित प्रवचन मा । पछि सो प्रवचनको टेप रेकर्ड साप्ताहिक मञ्चका सम्पादक दाई बैकुण्ठ प्रधानले मलाई दिंदै भन्नुभयो, " ल यो भाषणको नेपाली भर्वाटिम (हुवहु रुप) तपाईंले उतार्नु परो !..." मेरो त्यस बेलाको अँग्रेजी भाषा दयनीय त नभनुँ, कमजोर थियो। तर भाषणका प्रत्येक वाक्य दोहोर्याई तेह्र्याई सुनेर दुईदिन लगाएर जेनतेन सबै उतारें । त्यति गर्दा पनि ठाउँ ठाउँमा ठूलै मिस्टेक भएछ । सो भाषणलाई मूख्य समाचार बनाएर 'साप्ताहिक मञ्च'मा प्रकाशित भयो ।
किसिन्जरलाई भारतीयहरू भारतको दुश्मन भन्छन् । शीतयुद्धको युगमा भारतले तत्कालीन सोभियत संघसँग २० वर्षे सैनिक सन्धि गरेको, १९७१ मा भारतीय सैन्य सहयोगमा स्वतन्त्र मुलुक 'बांग्लदेश' को उदय भएकाेमा किसिन्जरको सल्लाहमा राष्ट्रपति निक्सनले भारतलाई त्रसित बनाएको, निक्सनलाई भेट्न अमेरिका गएकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई ह्वाईट हाउसमा धेरैबेर प्रतिक्षा गराएको र भेटमा रुखो मिजास देखाएको, चीनलाई भारतसँगको सीमामा सेना थप परिचालन गर्न चीनलाई असफल सल्लाह दिएको, किसिन्जरकै सल्लाहमा अमेरिकाले आफ्नो सशक्त युद्धपोत बंगालको खाडीमा परिचालन गरिएको आदि घटनावलीले किसिन्जरलाई भारतविरोधी (चीनपरस्त) छविको रुपमा लिइन्छ।
चन्द्रमणि गाैतम