बुधबार, भाद्र ३ गते २०८३

सहयोगी बहुउद्देश्यीय सहकारीको आसन्न साधारण सभा, मेयरकै मिनि–निर्वाचनको संज्ञा


मंसिर १६, २०८२ मंगलबार
सहयोगी बहुउद्देश्यीय सहकारीको आसन्न साधारण सभा, मेयरकै मिनि–निर्वाचनको संज्ञा

 

ललितपुरको महालक्ष्मी नगरपालिका, लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय  सहकारी संस्थाको निर्वाचन सहितको वार्षिक साधारण सभा यही मंसिर २० गते हुँदैछ ।  वर्तमान सञ्चालक समितिको आवधिक पदावधि सकिएसँगै २९औं वार्षिक साधारण सभा मार्फत् नयाँ सञ्चालन समितिको चयन हुँदैछ । प्रत्येक सहकारी संस्थामा हरेक ४ बर्षको अन्तरालमा साधारण सभा मार्फत नयाँ सञ्चालक समिति चयन सहकारी संस्थाको  नियमित प्रकृया हो । तर यस पटक सहयोगी सहकारीको निर्वाचनलाई भने यो भन्दा फरक रुपमा हेरिएको लुभुका स्थानीयहरु  बताउँछन् ।  संस्थाको आसन्न साधारण सभाको पछिल्लो माहोलले यो सहकारीको साधारण सभा नभई, यो सिंङ्गो नगरपालिकाकै मेयरको मिनि निर्वाचनको रुपमा हेरिएको छ । एउटा सहकारी संस्थाको निर्वाचनलाइ किन मेयरको मिनि निर्वाचन सँग दाँजिएको हो त भन्ने विषय महत्वपूर्ण हुन्छ । 

आगामी शनिवार सम्पन्न हुने निर्वाचनमा उमेदवारी दिएका व्यक्ति  र उनीहरूबीचको प्रतिस्पर्धाको विषयलाई लिएर महालक्ष्मी न.पा.को राजनीति वृत्तमा यसलाई मेयरको निर्वाचनको रुपमा चर्चा गरिएको छ । उक्त सहकारी संस्था सोही नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ वसोवास गर्ने वडा  नं. ८ मा पर्छ । यो निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीहरु मध्ये  एक नवीन श्रेष्ठ मेयर हरिगोविन्दका आफ्नै भतिजा हुन् भने अर्का प्रत्यासी सोही सहकारीसँग जोडिएका स्थानीय नीजि विद्यालय नमुना इङ्लिस स्कुलका प्रिन्सिपल कैलाश कुमार मल्ल रहेका छन् । त्यस्तै अर्का प्रत्यासीमा सोही सहकारी संस्थाकी  कार्यवाहक अध्यक्ष  तथा स्थानीय महिला कल्पना श्रेष्ठ रहेकी छिन् । संस्थाका तत्कालिन अध्यक्ष अनिल श्रेष्ठ विभिन्न काण्डमा मुछिएका कारण अध्यक्षबाट हट्नुपरेको प्रतिकूल अवस्थामा संस्थालाई सुरक्षित तथा जोखिममूक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै का.वा. अध्यक्षको रुपमा नेतृत्व गरिरहेकी तत्कालिन उपाध्यक्ष कल्पना श्रेष्ठलाई पूनःनिर्वाचित अध्यक्ष हुनबाट रोक्न कै लागि मेयर श्रेष्ठले आफना भतिज नवीन श्रेष्ठलाई अध्यक्ष पदमा उम्मेदवार बनाएको  स्थानीयहरु बताउँछन् ।

अझ रोचक पक्ष के छ भने, हरिगोविन्द नेकपा एमालेबाट निर्वाचित मेयर हुन् भने अध्यक्ष पदकी प्रत्यासी कल्पना श्रेष्ठ एमाले कै जिल्ला कमिटिकी सचिवालय सदस्य छिन् । आफनै दलको महिला नेत्रृले सहकारीको नेतृत्व गर्ने अवसर पाउने विषयमा किन मेयर स्वयम् बाधक वन्ने भन्ने विषय उक्त दलभित्र निकै ठुलो चर्चाको विषय बनेको छ भने आम जनमानसमा समेत यो विषयलाई मेयरले उक्त सहकारीलाइ  आफनो व्यक्तिगत पकड वा नियन्त्रणमा राख्न खोजेको भन्ने वुझाइ रहेको छ । किनकी मेयर श्रेष्ठ सहकारीलाइ आफनो नियन्त्रण राख्न चाहन्छन् भन्ने विषयमा बुझ्ने प्रयास गर्दा आफनो नाम नबताउने शर्तमा सहकारीका सदस्य तथा निर्वाचनका प्रत्यासी समेत रहेका सञ्चालक सदस्यले संस्था  महालक्ष्मी नगरपालिकाका  सहकारी मध्येकै ठूलो वित्तीय कारोबार गर्ने संस्था भएको हुँदा त्यसमा आफनो अनुकूल व्यक्ति भएमा श्रोतको सहज उपयोग गर्न पाइने स्वार्थबाट प्रेरित भएको बताए । 

यसअधि संस्थाले मेयर तथा उनका नजिकका व्यक्तिहरुमा भएको लगानी उठाउन का. वा. अध्यक्ष श्रेष्ठले कठोर नीति लिएकै कारण मेयर उनीसँग भड्किएको र जसरी पनि आफ्नै भतिजोलाई अध्यक्ष बनाउन लागिपरेको ती सदस्यले सुनाए । एउटै दलमा आवद्ध भएका मेयर र का.वा.अध्यक्ष श्रेष्ठलाई मिलाउने प्रयत्न जिल्ला नेतृत्वले गरेको भएतापनि मेयर श्रेष्ठले कल्पनालाइ अध्यक्ष मान्न नसकिने र नविनको अध्यक्षतामा उपाध्यक्ष बनाउनुपर्ने  प्रस्ताव अघि सारेको बुझिएको छ ।  तर कल्पना श्रेष्ठले आफु अहिले नै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष रहेकाले संस्थामा आफुभन्दा तलको मर्यादामा रहेका व्यक्तिको नेतृत्वमा बस्न नसक्ने बताएको श्रोतले जनाउँछ । आफुलाइ महिला भएकै कारणले नेतृत्वमा आउन दिन नखोजेको भन्दै उनले रोष प्रकट गरेको समेत बताइन्छ । आफु संस्थाबाट वाहिरिन तयार रहेको तर आफुभन्दा जुनियरलार्इ अध्यक्ष मानेर उपाध्यक्ष वस्न मञ्जुर नभएको स्पष्ट आडान कल्पनाले राखेपछि जिल्ला नेतृत्व जवाफ विहिन भएको र सहमति गराउने प्रयत्न विफल भएको पाइएको छ  ।

अर्कोतर्फ जिल्ला नेतृत्व मेयर हरगोविन्दका अगाडि निरीह रहेको र हरिगोविन्दसँग माथिको पहुँचका कारणले कुनै निर्देशन दिने हैसियतमा नरहेको समेत स्वयं एमाले नेतृत्व पंक्ति नै स्वीकार्छन् । यिनै पृष्ठभूमि र घटनाक्रमले गर्दा सहयोगी सहकारीको आसन्न निर्वाचनलाई मेयरको मिनि निर्वाचन भन्न थालिएको छ । यसलाई कल्पना श्रेष्ठसँग मेयर हरिगोविन्दको प्रतिस्पर्धा भन्दै चासोको रुपमा समेत  हेरिएको छ । यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी कैलाश कुमार मल्लको उमेदवारी समेत यो टकरावले ओझेलमा परेको छ । सहजरुपमा मर्यादाक्रमको सम्मान सहित सर्वसम्मत अध्यक्ष बनाउने वातावरण निर्माण हुने अवस्थामा आफू वाधक नबन्ने बताउँदै आएका मल्लले सिङ्गो पालिकाको नेतृत्व गर्ने मेयरजस्तो गरिमामय पदमा रहेका व्यक्तिले अमुक संस्थामा आफनो पकड वा नियन्त्रण कायम राख्न खोज्नु आफुलाइ अनौठो लागेको बताए । नगरपालिका मातहतको सहकारीमा अभिभावकिय तथा निर्देशनात्मक भुमिकामा रहनुपर्नेमा किन प्रत्यक्षरुपमा आफनो मान्छे स्थापित गराउन खोजेको हो आफुले नवुझेको उनले जनाए । आफु यो क्षेत्रमा विगत २५ वर्षदेखि बसोबास गर्दै आएको र संस्थालाई नेतृत्व दिन सक्ने भएकाले उमेदवारी दिएको उनले बताए ।   

यस्तै अर्की प्रत्यासी कल्पना श्रेष्ठले संस्थामा गंभीर संकट आएको अवस्थामा  समेत आफुले नेतृत्व प्रदान गरेको विषय सदस्यहरुमाझ जगजाहेर रहेको र तिनै सदस्यको आग्रह तथा आफ्नो दायित्व वोधले अध्यक्षको जिम्मेवारी लिन तयार भएको हुँदा यसमा कुनै फेरबदल नहुने र विधिसम्वत्  निर्वाचनबाट आफू निर्वाचित हुनेमा विस्वस्त रहेको बताउँछिन् । महालक्ष्मी  नगरपालिकाका वहुसङ्ख्यक व्यक्तिहरु सदस्य रहेको यो संस्थाको निर्वाचन मेयर हरिगोविन्दको ३ वर्षे कार्यकालको जनमुल्यांकन हुने विषयको रुपमा चर्चा पाएको छ ।