आइतबार, आश्विन १८ गते २०८३

सहकारी संघ संस्थालाई प्राधिकरणको राहत, सकारेको धितोमा ५० प्रतिशत नोक्सानी व्यवस्था गरे पुग्ने


मंसिर ११, २०८२ बिहीबार
सहकारी संघ संस्थालाई प्राधिकरणको राहत, सकारेको धितोमा ५० प्रतिशत नोक्सानी व्यवस्था गरे पुग्ने


राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पहिलो पटक नियामकीय मापदण्ड संशोधन गर्दै सहकारी संस्थाहरुले सकारेको  गैर बैकिङ सम्पत्तिमा ५० प्रतिशत नोक्सान व्यवस्था कायम गर्न सक्ने जनाएको छ ।

प्राधिकरणले गत जेठ ९ गते बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालनमा जारी गरिएको नियामकीय मापदण्ड २०८२ को परिच्छेद ३ः ऋणको सीमा,वर्गीकरण र व्यवस्थापन सम्बन्धी व्यवस्था अन्तर्गत दफा ७ को धितो सकार गरेको सम्पत्ति सम्बन्धी व्यवस्थाको दफा ७.२ मा भएको व्यवस्थालाई वर्तमान आर्थिक परिस्थितिका आधारमा विश्लेषण गर्दै सो बुँदामा संशोधन तथा   थप गरिएको जनाएको छ ।

उक्त दफालाई  संशोधन गरी धितो सकार गरेको सम्पत्तिमा सकार गरैकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था कायम गरी यथाशिघ्र विक्री गर्नुपर्ने व्यवस्था रहेकोमा एक पटकको हकका लागि २०८३ असार मसान्तसम्म गैर वैकिङ सम्पत्तिका लागि ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्न सकिने भएको छ । तर संस्थाले चाहेमा शतप्रतिशत  नोक्सनी गर्न वाधा नपर्ने प्राधिकरणले जनाएको छ । यो व्यवस्था २०८२ असार मसान्तभन्दा अगाडि नै सकार गरेको धितोको हकमा मात्र लागु हुने प्राधिकरणले जनाएको छ । त्यसरी सकार गरेको धितोको हकमा आ.व. २०८२ / ०८३ मा ५० प्रतिशत नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

त्यसैगरी गैर बैंकिङ सम्पत्ति सकार गर्दा त्यस्ता सम्पत्तिको पुनः मूल्यांकन गर्नुपर्नेछ, यसरी गरिने मूल्यांकन फरक मुल्यांकनकर्ताद्वारा गराउनुपर्नेछ । धितो सकार गरी शतप्रतिशत नोक्सानी व्यवस्था नगर्ने सहकारी संस्थाले कर्जाको शत प्रतिशत कर्जा नोक्सानी ब्यबस्था नगरेसम्म नाफाबाट कुनै किसिमको लाभांश तथा बोनस वितरण गर्न पाउने छैन ।   एक करोडभन्दा बढी रकमको गैर बैंकिङ सम्पत्ति रहेका सहकारी संस्थाको हकमा गैरबैंकिङ सम्पत्तिको विक्री गर्ने सम्बन्धी समय तालिकासहितको कार्ययोजना संचालक समितिबाट स्वीकृत गरी वाह्य लेखापरीक्षकबाट प्रमाणित गराएर प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

589521531_3326138020860913_1612469723124692966_n-868x1024.jpg