नेपालको सन्दर्भमा पनि “जेन जी” लाई एउटा ब्रान्डको रूपमा उभ्याएर राजनैतिक रोटी सेक्ने प्रवृत्ति स्पष्ट देखिन थालेको छ। यो कुनै स्वाभाविक पुस्तागत बहस मात्र होइन, धेरै हदसम्म भाष्य निर्माण (narrative construction) हो। उमेर समुहमा बिभाजन ल्याएर आफ्नो अभिष्ट पूरा गर्ने डिप स्टेटको गुरुयोजना पनि हो।नेपालमा पुराना पुस्ताका अधिकांश राजनैतिक खेलाडीहरु निकम्मा भैसकेको डिप स्टेटले नबुझ्ने कुरै भएन।
नेपालमा जेन जीलाई: “स्वतस्फूर्त विद्रोही”,“पुरानो पुस्ताको विकल्प” र “राजनीतिमा नयाँ शक्ति” जस्ता शब्दले महिमा मण्डन गरिन्छ। तर व्यवहारमा हेर्दा, उनीहरूलाई पुरानै राजनीतिक दल, एनजीओ, इन्फ्लुएन्सर नेटवर्क र मिडियाले आफ्नो एजेन्डा अनुसार मोबिलाइज गरिरहेका छन्। यसरी जेन जी स्वयं ‘एजेन्ट वा दलाल ’ होइनन, धेरैजसो अवस्थामा दुरुपयोग भएको समूह बनेको छ।
कतिपय आन्दोलन वा घटनामा नारा जेन जीको नाममा लगाइन्छ, तर नेतृत्व, एजेन्डा र निर्णय पुरानै शक्ति केन्द्रले गर्छ । यसरी “जेन जीको आवाज” भनेर प्रस्तुत गरिएका धेरै कुरा वास्तवमा: पार्टीगत असन्तोष, सत्ता संघर्ष वा विदेशी चासोको प्रतिध्वनि मात्र हुने गरेका छन्।
यो नै False Flag Politics हो , जहाँ वास्तविक उद्देश्य लुकाएर नयाँ पुस्ताको नाममा खेल खेलिन्छ। आजभोलि केही बिशेशगरि कम्युनिस्ट भनिने नेताहरूको "जेन जी" रटान सुन्दा-सुन्दा कान पाक्न थालिसकेको छ, इरिटेसन पैदा हुन्छ,किनकि उनिहरुको सम्बोधन नाटकिय लाग्छ।
यो भनिरहँदा नयाँ पुस्तामा क्रोध छैन भन्ने होइन। बेरोजगारी ,भ्रष्टाचार ,अवसरको अभाव ,निराश भविष्य, यी सबै उनीहरूको वास्तविक पीडा हुन्। तर समस्या के छ भने , असन्तुष्टि वास्तविक भए पनि त्यसलाई सम्बोधन गर्ने बैज्ञानिक योजना छैन।
आज जेन जी एउटा राजनीतिक बजार बनाइएको छ: भोट बैंक , ब्रान्ड बनाउने र डिजिटल भीड प्रयोग गरेर पुरानै नेताको पुनर्ब्रान्डिङ हुन्छ र नयाँ दलको मार्केटिङ हुन्छ। आन्दोलनको वैधता सृजना गर्दै अन्तिम फाइदा फेरि पनि पुरानै शक्ति केन्द्रले लिन्छ।
त्यसैले , नेपालमा जेन जी केवल पुस्ता होइन, धेरै हदसम्म यो एक राजनीतिक रूपमा नै manufactured narrative हो , जसको प्रयोग भावनात्मक उर्जा तान्न, भीड सिर्जना गर्न र सत्ता खेललाई वैधता दिन गरिँदैछ।
यदि सचेत नभए, जेन जी स्वयं इतिहास बनाउने होइन, इतिहासमा दुरुपयोग भएको दारुण पुस्ता मात्र बन्न सक्छ।
महादीप पाेखरेल