नेपालको सहकारी क्षेत्रमा उत्पन्न चुनौती, नियमन, दिगोपन र जोखिम व्यवस्थापनबारे गहन छलफल गर्न साकोस शिखर समिट–२०८२ आयोजना हुने भएको छ।
सहकारी ऐन–२०४८ ले सहकारीको विस्तार तथा प्रवद्र्धनको आधार तयार पारेको र २०७२ को सहकारी ऐनले व्यवस्थित र दीगो सञ्चालनको ढोका खोलेको अवस्थामा, हालैको २०८१ को संशोधनले सहकारी तथा साकोस संस्थालाई अझ कडाइपूर्ण नियामकीय दायरामा ल्याएको पृष्ठभूमिमा यो नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कनले) यो समिट आयोजना गरेको हो।
सहकारी ऐननियममा भएका हालैका संशोधनले सदस्यको बचत सुरक्षा, जोखिम न्यूनिकरण, वित्तीय कारोबारका मापदण्ड, लगानी, असुली तथा सुरक्षण व्यवस्थाका सूचकहरुलाई थप कडाइका साथ प्राधिकरणमार्फत नियमन गर्ने व्यवस्था गरेको छ। यही परिस्थितिमा नेपालको साकोस अभियानलाई दिगो, सुरक्षित र नियामकअनुकूल बनाउन आवश्यक अनुकूलनका विषयमा बहुआयामिक छलफल गर्नु समिटको मुख्य उद्देश्य भएको नेफ्स्कुनले जनाएको छ ।
समिटमा देश–विदेशका विज्ञहरूले सहकारी मूल्य–मान्यताका चुनौती, नेतृत्व रूपान्तरण, वित्तीय व्यवस्थापन, नियमन तथा सहकारीको भविष्य दिशा जस्ता बहुआयामिक मुद्दामा प्रस्तुति दिनेछन्। कार्यक्रममा सहकारी नियमन सुधार, सहकारी मूल्य–मान्यताको पुनर्स्थापना, अन्तर्राष्ट्रिय अभ्यास, वित्तीय जोखिम व्यवस्थापन, डिजिटल रूपान्तरण, र सदस्य सुरक्षणको मोडेल सम्बन्धी विशेष सत्रहरू रहनेछन्।
ललितपुरको सानेपामा पौष ३ र ४ गते हुने समिटमा करिब ७०० जना सहभागी हुने अपेक्षा गरिएको छ, जसमा सहकारी–साकोसका नेतृत्व, नियामक निकाय, सहकारी विज्ञ, अन्तर्राष्ट्रिय सहकारी विशेषज्ञ तथा सरोकारवाला सञ्जालका प्रतिनिधिहरू सहभागी हुनेछन्।
समिटले सहकारी क्षेत्रका लागि दीगो नीतिगत मार्गनिर्देशन, सदस्यको बचत सुरक्षासम्बन्धी विश्वसनीय मोडेल निर्माणका लागि मार्गचित्र, सहकारी क्षेत्रभित्र नेतृत्व, सुशासन र वित्तीय मर्यादाको पुनर्स्थापना र अन्तर्राष्ट्रिय अनुभव र स्थानीय अभ्यास जोड्ने साझा मञ्चको विकासमा योगदान दिने अपेक्षा आयोजकको छ ।
समिटमा सहभागि हुनका लागि मंसीर २५ गतेभित्र नाम दर्ता गर्न सकिनेछ । सहभागिताका लागि नियमित शुल्क ७,००० रहेकोमा मंसीर २० अगावै दर्ता हुनेका लागि एक हजार रुपैया छुट गरिएको छ ।
नेपालपत्र संवाददाता