शनिबार, आश्विन १७ गते २०८३

 कुमारी  बैंकका कर्मचारीको मिलोमत्तोमा नक्कली लालपुर्जा बनाई  १९ करोड रुपैयाँ लिएको खुलासा

कार्तिक २४, २०७८ बुधबार
 कुमारी  बैंकका कर्मचारीको मिलोमत्तोमा नक्कली लालपुर्जा बनाई  १९ करोड रुपैयाँ लिएको खुलासा

 

गायक योगेश्वर अमात्यको जग्गा देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट ऋण लिएको खुलेको छ। बाराको विश्रामपुरमा रहेको गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको हो। कुमारी बैंकबाट बैंकका कर्मचारीको मिलोमत्तोमा १९ करोड रुपैयाँ लिएको खुलेको छ।

किर्ते गरेको अभियोगमा वीरगंजको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले नियन्त्रणमा लिएको छ। वीरगंज शाखाका एक जना बैंक कर्मचारी फरार रहेकाले खोजी भइरहेको ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताए।

लालपुर्जा नै नक्कली बनाएर बैंकका कर्मचारीको मिलोमत्तोमा ऋण लिएको देखियो। अनुसन्धान गरिरहेका छौं, डीआईजी सिंहले भने।

बैंकका कर्मचारीले शाखाबाट प्रक्रिया पूरा भएको भन्दै काठमाडौंको न्यूरोड शाखालाई ऋण दिन पत्राचार गरेका थिए। त्यसपछि गत साउनमा न्यूरोड शाखाबाट १९ करोड रुपैयाँ पैसा ऋण प्रवाह भएको थियो। यो सबै घटनाको मुख्य योजना भने कुसन प्रधानले बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी जग्गा कारोबारी भएको खुलेको छ।

नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौमा नै ऋणीबाट पैसा असुलेको थियो। तर, यस घटना त्यतिखेरसम्म प्रहरीमा आइनपुगेको डीआईजी सिंहले बताए। आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएको गायक अमात्यले थाहा पाएपछि प्रहरीमा पुगेका थिए।