सहकारी विभागले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने भएको छ । सहकारीमा सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम भएको लामो समयपछि विभागले ब्याजदर पुनरावलोकनको प्रक्रिया अगाडि बढाएको हो ।
सहकारी विभागका रजिष्ट्रार उमेश ढुङ्गानाको संयोजकत्वमा बैठक बसी सन्दर्भ ब्याजदर परिमार्जनको कार्य अगाडि बढाइएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेका कारण ऋणको ब्याजदर घटेर एकल अंकमा आएको भएपनि सहकारी संस्थाहरुले कर्जामा लिने ब्याजदर १६ प्रतिशत नै कायम रहेको छ। त्यसलाई परिमार्जन गर्ने उदेश्यले विभागले ब्याजदर पुनरावलोकनको कार्य अगाडि बढाएको जनाएको छ । पछिल्लो समय समुदायमा आधारित सहकारी संस्थाहरुमा समेत अधिक तरलता रहेको अवस्था छ भने कतिपय संस्थाहरुले सन्दर्भ व्याजदरभन्दा कममा नै कर्जा प्रवाह गर्दै आएका छन्।
वित्तीय क्षेत्रमा ब्याजदर निकै घटेकाले सहकारी संस्थाहरुले लिँदै आएको कर्जाको ब्याजदर समेत घट्न सक्ने देखिएको छ । विभागका रजिष्ट्रार ढुङ्गानाले गत शुक्रबार सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको जानकारी दिए । उनले ब्याजदर निर्धारणका लागि प्राविधिक समितिको बैठक बसेको र सहकारी अभियानसँग समेत सुझाव लिने काम भएको बताए । प्राविधिक समितिले पछिल्लो तथ्यांकका आधारमा छलफल गरि सहकारीको सन्दर्भ ब्याजदरको टुङ्गो लगाउने उनले जानकारी दिए । पौष १५ सम्ममा नयाँ सन्दर्भ व्याजदरको टुंगो लाग्ने र माघ १ गतेदेखि नयाँ व्याजदर लागु हुने उनको भनाई छ । प्राविधिक समितिको अध्ययनपश्चात् मात्र ब्याजदर कति हुन्छ भनेर स्पष्ट हुने उनले जनाए ।
सहकारी ऐन २०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी, सहकारी नियमावली २०७५ को परिच्छेद ५ मा सन्दर्भ ब्याजदर तोक्ने आधार र प्रक्रिया उल्लेख गरिएको छ । सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर,बैंक तथा वित्तीय संस्था सम्बन्धी काननु बमोजिम ‘क’ वर्गको इजाजतप्राप्त बैंकहरुको औसत ब्याजदर, ब्याजदर सम्बन्धमा सरकारका मन्त्रालय, निकाय, राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनहरु, राष्ट्रिय सहकारी महासंघ, विषयगत केन्द्रीय संघहरुबाट प्राप्त सुझाव र सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरुलाई लिन सकिने नियमावलीमा व्यवस्था रहेको छ ।
सहकारी क्षेत्रमा पहिलो पटक सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको थियो । वित्तीय बजारमा पर्याप्त तरलता रहेको समय सन्दर्भ ब्याजदर परिमार्जन भई १४.७५ प्रतिशत कायम गरिएको थियो र कोभिड १९ पछि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावसँगै ब्याजदर बढ्दै गएपछि अभियानको पहलमा सन्दर्भ ब्याजदर पुनः १६ प्रतिशत कायम गरिएको थियो ।
नेपालपत्र संवाददाता