नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई ग्राहकबाट जथाभावी शुल्क नलिन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा बोल्दै उनले भने “ग्राहकबाट घुमाईफिराइ विविध प्रकारका शुल्क लिने बाध्यात्मक अवस्था सृजना गर्नु न्यायोचित होइन ।”
संस्थाहरुलाई अल्पकालिन असाधारण नाफाभन्दा पनि दीर्घकालिन नाफामा ध्यान दिन उनको सुझाव थियो । गभर्नर अधिकारीले बैंकहरुले अल्पकालिन नाफा भन्दा पनि दीर्घकालिन रुपमा सबल हुन सिक्नु पर्ने धारणा राखेका हुन् ।
बैंकहरुले आफ्नो व्यवसाय बिस्तार गर्दा अर्थ प्रणालीमा ध्यान दिनुपर्ने उनले औंल्याए । आफ्नो स्रोत, निक्षेपको संरचनाको आधारमा कर्जा प्रवाह गर्न अरुले सम्झाउनु पर्ने अवस्था बन्नु नहुने उनको तर्क थियो । उनले भने “तरलतामा थोरै तलमाथि हुँदा उपलब्ध औजारमार्फत् व्यवस्थापन गर्नुभन्दा पनि अत्तालिने प्रवृत्ति देखियो । ” “यस्ता विषयमा बैंकको व्यवस्थापनलाई थाहा छैन भन्ने मलाई लाग्दैन,” उनले भने “जस्तोसुकै प्रतिकुल अवस्थामा पनि उत्तिकै वा अझ बढी अपेक्षा गर्नु पनि उचित हुँदैन ।”
बैंक तथा वित्तीय संस्थाहरुले नियामकिय निकायको नियममा छिद्र खोज्ने, नियमको अवज्ञा तथा नजरअन्दाज गर्ने भन्दा पनि समग्र वित्तीय प्रणालीको सुधारका लागि हामी लाग्नु पर्ने उनको धारणा थियो ।