आइतबार, आश्विन १८ गते २०८३

मधेश प्रदेशका सहकारी संस्थाको कुल पुँजीमा ह्रास,ऋण लगानीमा भने वृद्धि


कार्तिक २७, २०८२ बिहीबार
मधेश प्रदेशका सहकारी संस्थाको कुल पुँजीमा ह्रास,ऋण लगानीमा भने वृद्धि

मधेश प्रदेश रहेका सहकारी संस्थाहरु कुल पुँजीमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययनले सहकारी क्षेत्रको कुल पुँजीमा ह्रास आएको देखाएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा उक्त प्रदेशका सहकारीहरु मध्ये नमुना छनौटमा परेका १० वटा सहकारी संस्थाबाट प्राप्त विवरणको आधारमा सहकारीको अवस्था विश्लेषण  गरेको थियो ।  

२०८२ असार मसान्तसम्ममा छनौटमा परेका सहकारीहरुको कुल पुँजीमा २०.०२ प्रतिशतले कमी आई रु.२ अर्ब ६ करोड २० लाख कायम भएको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा  कुल पुँजीमा १.५४ प्रतिशतले कमी आएको थियो ।  २०८२ असार मसान्तसम्ममा छनौटमा परेका सहकारीहरुको कुल बचत रु.५ अर्ब ८८ करोड ४२ लाख पुगेको छ । त्यसैगरी गत असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाहरुबाट भएको ऋण प्रवाहमा ५.६० प्रतिशतले वृद्धि भई रु.३ अर्ब ६२ करोड ५ लाख रहेको छ ।

गत वर्षको सोही अवधिमा ऋण प्रवाहमा ३५.२१ प्रतिशतले कमी आएको थियो । गत असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाका कुल सदस्य संख्या १.३२ प्रतिशतले घट्न गई ५८ हजार ४ सय ५६ कायम भएकोछ ।  २०८२ असार मसान्तसम्ममा छनौटमा परेका सहकारी संस्थाका कर्मचारी संख्यामा २.४२ प्रतिशतले कमी आएको छ । गत वर्षको सोही वर्षमा कर्मचारी संख्यामा १२.०६ प्रतिशतले कमी आएको थियो ।