आइतबार, आश्विन १८ गते २०८३

आभाष सहकारीको १६ औं साधारण सभा, सदस्यको हित र बचतको सुरक्षा पहिलो प्राथमिकता


कार्तिक २५, २०८२ मंगलबार
आभाष सहकारीको १६ औं साधारण सभा, सदस्यको हित र बचतको सुरक्षा पहिलो प्राथमिकता

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सदस्यहरुको बिचमा मात्र सभा  सम्पन्न गरेको हो ।

संस्थाका प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष ग्रुवेन तौजलेले सदस्यहरुको सुख दुःखको सहयात्री भन्ने नाराका साथ सानो पुँजीबाट सुरु भएको सहकारीमा  हालसम्म ६ हजार भन्दा बढी शेयर सदस्य र बाल बचतकर्ता आवद्ध भएको बताए । संस्थाले नाफा कमाउने मात्र नभई समाजप्रतिको उत्तरदायित्व महसुस गरी विभिन्न सामाजिक क्रियाकलाप समेत गर्दै आएको उनको भनाई छ । वि.स. २०७४ सालबाट संस्थाले छोरी अभियान कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमलाई हालसम्म पनि निरन्तरता दिइएको उनले सभामा जानकारी दिए । दिगो  विकासको दुई लक्ष्य ‘ स्वास्थ्य र समुन्नत समाज’ र ‘लैंगिक समानता’ हासिल गर्नको लागि संस्थाले छोरी अभियान कार्यक्रम सञ्चालनमा ल्याएको र उक्त कार्यक्रम अन्तर्गत प्रत्येक नयाँ बर्ष र संस्थाको वार्षिकोत्सवको दिन शिर मेमोरियल अस्पतालमा जन्मने पहिलो छोरीलाई आर्थिक सहयोगका साथै स्वागत गर्दै आएको अध्यक्ष तौजलेले बताए । संस्थाले आभाष सदस्य सुरक्षा कार्यक्रम समेत सञ्चालनमा ल्याएको र गत आ.व. मा १४१ जना सदस्यलाई उक्त कार्यक्रम मार्फत् १२ लाख ६४ हजार विभिन्न रोगको उपचारको लागि आर्थिक सहयोग गरिएको उनको भनाई छ ।

त्यसैगरी संस्थाले आफ्नो कार्यक्षेत्र भित्र ४९ वटा महिला समुह गठन गरी उनीहरुलाई विभिन्न सीपमुलक तालिकका साथै स्वास्थ्य शिविर तथा सामाजिक क्रियाकलाप गर्दै आएको उनले बताए । संस्थाले. सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै वित्तीय पारदर्शितालाई कायम गर्दै अगाडि बढेकाले वित्तीय संकटका बिचमा पनि संस्थाले सदस्यहरुको विश्वास जित्न सकेको उनले बताए । संस्थाको पहिलो प्राथमिकता सदस्यको हित र सम्पत्तिको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दैे त्यसका लागि जगेडा कोष र जोखिम व्यवस्थापन कोषलाई बलियो बनाएर लैजाने नीति लिएको उनले सभालाई जानकारी दिए । प्रतिकुल अवस्थामा समेत सदस्यहरुको साथ, सहयोग र विश्वासका कारण कारोबारमा वद्धि भएको भए पनि बचत परिचालन नहुँदा आगामी दिनमा थप चुनौती थपिन सक्ने उनले बताए । सहकारी संस्थाहरुको नियमन गर्ने निकाय धेरै भएको र उनीहरुले आ आफ्नो तरिकाले संस्थाहरुको नियमन गर्ने भएकाले यसले पनि सहकारी क्षेत्रमा अन्यौलता थपिएको अध्यक्ष तौजलेले बताए । सभामा सचिव धर्मभक्त प्रधानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तु्त गर्दै संस्थाले सदस्यहरुको  आवश्यकता अनुसार १४ प्रकारको बचत र ११ प्रकारको ऋणको सेवा सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले सभामा आर्थिक प्रशासन व्यवस्थापन कार्यविधि २०६७,कर्मचारी व्यवस्थापन कार्यविधि,ऋण व्यवस्थापन कार्यविधि,नगद परिचालन कार्यविधि र एएमएल कार्यविधि २०७३ संशोधनको लागि सभामा प्रस्तुत गरेका थिए । सभाले उक्त कार्यविधिहरु सर्वसम्मत संशोधन गरेको छ । सभामा कोषाध्यक्ष सुर्यकुमार रंजितले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०८१÷८२ को असार समान्तसम्म ९३ करोड ९ लाख ४८ हजार  कुल सम्पत्ति पुगेको बताए । संस्थाको शेयर पुँजी ३ करोड ७६ लाख, बचत संकलन ८२ करोड ७६ लाख, ऋण लगानी ६६ करोड ५७ लाख गरी खुद नाफा ६७ लाख भएको उनले बताए । संस्थाको जगेडा  कोषमा २ करोड ९४ लाख र जोखि व्यहोर्ने कोषमा ३ करोड ५० लाख पुगेको छ । संस्थाले गत बर्ष ५८ लाख  ६० हजार आन्तरिक राजश्व कार्यालय र ८ लाख ४९ हजार नगरपालिकामा दाखिला गरिएको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा आर्थिक वर्ष २०८१ / २०८२ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, उत्कृष्ट ऋण कारोबार गर्ने स्नेहा रानामगर खड्कालाई सम्मान गरिएको  थियो । त्यसैगरी शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एसइई परिक्षामा ३ दशमलव ८५ जिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ जिपिए ल्याउने इशान मानन्धर सम्मानित भएका थिए भने प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल उत्कृष्ट कर्मचारी घोषित भए ।