शनिबार, कार्तिक ८ गते २०८३
कविता

देश र आमा

कार्तिक २१, २०८२ शुक्रबार
देश र आमा

 

मूलबाटो कुरी बसें 
तिमी गाउँ आउँदै छौ भन्ने सुनेर
हेर्दा हेर्दा आँखा थाकि सके
तिमी आएनौ 
तिमी आउने हल्ला 
भ्रम मात्रै हो कि ?
अविर बोकि आएको थिएँ
अबिर जात्रा गरौं भनेर ।

तीनबिस दश पुगेकी तिम्री आमा 
रोएर दिन रात कटाउँछिन्
सिकुवामा बसेर
खसम बितेको नमीठो पीडाले सताउँदा
तिमी आउँदैछौ कि भनि 
गोधूलि साँझमा 
आँगनको डिलबाट पर मूलबाटो हेर्छिन् 
तिमी नआए पछि 
निराश हुँदै फकिन्छिन
एक्लै गुन्गुनाउँछिन
धनसरीका बाउ 
आज पनि ठुले फर्किएन 
के गरी जुनि कटाउँ ?
भारो पर्म गर्न नसकेपछि
दुःख विमारले च्यापेका बेला
पानी दिने कोही हुँदैन 
म कसरी बाँचुँ ?

ठुले निष्ठुरी त थिएन 
किन फर्केन घर संझी
उ पनि त पीडामा होला 
आमालाई सम्झँदो हो घरिघरि 
साथी भाइको यादले सताउँदा
गाउँ घरलाई पनि त सम्झँदो हो घरिघरि 
रनवनमा गाएको गीत
कसरी भुल्ला र उसले ?
पिपिरीको  पात बजाउँदै 
पुरुनी भाँचेर खाएको 
सुन्तलीको हात समाएर 

 

सँगै बाँच्ने 
सँगै  मर्ने 
बाचाकसम खाएको ।

ठुले, तिमी आउ 
चौतारीमा पर्खि बसुँला 
अरुण तरेर 
देउराली डाँडाको नेटो काट्दै
नखुवा खोला तरी 
तिम्रै गाउँ बोया जाऔला 
आमाको आँसु पुछ्नु छ तिमीले 
लेक बेँसी 
उकाली ओराली गर्दै 
सिस्नो र खोले खाएर
बाँच्नु छ तिमीले ।

आमाको मायाले गाल्नु पर्ने तिमीलाई 
सुन्तलीको मायाँले पगाल्नु पर्ने तिमीलाई 
साथी भाइको मायाले सताउनु पर्ने तिमीलाई 
के गरी बस्छौ परदेशमा ? 
कति दुःख खेप्यौ होला ?
देशले तिमीलाई खोजी रहेछ 
देश पनि त आमा  समान नै हुन ।

आमाको दशधारा दूधको ऋण तिर्नु पर्दैन र ?
देश सुरक्षार्थ तिमी खटिनु पर्छ 
हराएका जंगे पिलरहरु तिमीले खोज्नु पर्छ 
तिमी आउँछौ भनेको सुन्दा
देश गर्वले छाती फुलाउँछ 
आमाको निन्याउरो अनुहारमा पनि 
कान्तिका धर्साहरु सल्बलाउन थाल्छ ।

आमा !
तिम्रो ठुले
तिम्रो दुःख पन्छाउन 
गाउँघरको मायाले तानी 
सुन्तली संग घरजम गर्न 
साथी भाइलाई साक्षी राखेर 
फर्कदै छ ऊ 
गाउँमा खुशी बाँड्ने गरी । 

 

सुन्दरहरैंचा –६, दुलारी, मोरङ